प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार

फोटो: एपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्न सहयोग नगरे नेटोको भविष्य संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।
उनले खाडी क्षेत्रबाट आउने तेलमा युरोप र चीन धेरै निर्भर रहेको उल्लेख गर्दै, त्यसबाट लाभ उठाउने देशहरूले जलमार्ग खुलाउन सहयोग गर्नु “न्यायोचित” हुने बताएका छन्।
ट्रम्पले अमेरिका आफ्ना युरोपेली सहयोगीहरूप्रति “अत्यन्तै उदार” रहँदै आएको चर्चा गर्दै भने, “हामीले उनीहरूलाई युक्रेनको मामिलामा सहयोग गर्नैपर्छ भन्ने बाध्यता थिएन। युक्रेन हामीबाट हजारौँ माइल टाढा छ, तैपनि हामीले सहयोग गर्यौँ। अब उनीहरूले हामीलाई सहयोग गर्छन् कि गर्दैनन्, त्यो हेर्न बाँकी छ।”
उनले यसअघि पनि बारम्बार अमेरिका आफ्ना सहयोगीहरूका लागि सदैव तत्पर रहने तर सहयोगीहरू भने प्रतिबद्ध नदेखिएको आरोप लगाउँदै आएका छन्।
यसअघि ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई पनि स्ट्रेट अफ होर्मुज पुनः खोल्न “सामूहिक प्रयास” मा सहभागी हुन आह्वान गरेका थिए।
यो जलमार्ग विश्वकै सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक हो, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने गर्दछ। यस्तै, ट्रम्पले चीनको करिब ९० प्रतिशत तेल यही मार्ग हुँदै आउने भएकोले चीनले पनि यसलाई खुलाउन सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन्।
ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यसै महिनाको अन्त्यतिर बेइजिङमा भेटघाट हुने भए तापनि, चीनले त्यसअघि नै ठोस कदम चालोस् भन्ने आफ्नो चाहना रहेको बताए।
ट्रम्पले दुई हप्ता कुर्नु “लामो समय” हुने उल्लेख गर्दै, आवश्यक परे आफ्नो भ्रमण स्थगित हुन सक्नेसमेत संकेत दिएका छन्।