प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार

फोटो:एपी/रासस
अमेरिकाले आफ्ना नागरिकहरूलाई इराक छोड्न पुनः चेतावनी दिएको छ। शनिबार बग्दादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार भएपछि अमेरिकाले यो चेतावनी जारी गरेको हो।
दूतावासद्वारा जारी सूचनामा अमेरिकी नागरिकहरूलाई “तुरुन्तै इराक छोड्न” आग्रह गरिएको छ।
दूतावासले भनेको छ, “इरानसँग आवद्ध सशस्त्र समूहहरू (मिलिसिया) बाट ठूलो खतरा रहेकाले इराकमै बसिरहन चाहने अमेरिकी नागरिकहरूलाई आफ्नो निर्णयमा पुनः विचार गर्न कडा आग्रह गरिन्छ।”
यसैबीच, इरानले मध्यपूर्वभर रहेका अमेरिकी सैन्य अखडा तथा अन्य क्षेत्रमा आक्रमण सुरु गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई एक दर्जनभन्दा बढी देश छोड्न आग्रह गरिसकेको छ।
त्यसैगरी, अमेरिकाले शनिबार ओमानमा रहेका गैर-अत्यावश्यक सरकारी कर्मचारी तथा उनीहरूका परिवारलाई पनि देश छोड्न आदेश दिएको छ।
अमेरिका र इजरायलले मिलेर इरानमा सैन्य आक्रमण थालेपछि इरानले पनि जवाफी हमला गरिरहेको छ। इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य केन्द्र र दूतावासहरूलाई लक्षित गरिरहेको छ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानी सैन्य शक्ति नष्ट भइसकेको दाबी गर्दै आएका छन्। अमेरिकाले इरानका ६ हजारभन्दा बढी लक्ष्यहरूमा हमला गरेको बताएको छ।