प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार

“United Nations” by Ashitakka is licensed under CC BY-NC 2.0.
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले ‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि ग्लोबल कम्प्याक्ट’ सम्बन्धी आफ्नो पछिल्लो द्विवार्षिक प्रतिवेदन महासभामा प्रस्तुत गरेका छन। प्रतिवेदनले विश्वव्यापी आप्रवासनको वर्तमान अवस्था र यसका चुनौतीहरूलाई उजागर गरेको छ।
महासचिवद्वारा प्रस्तुत तथ्यांक अनुसार, सन् २०२४ मा विश्वभर करिब ३० करोड ४० लाख मानिसहरू आप्रवासीका रूपमा रहेका छन्, जुन विश्वको कुल जनसंख्याको ३.७ प्रतिशत हो। यसमध्ये बालबालिकाको संख्या मात्रै करिब ३ करोड ७० लाखदेखि ४ करोड २० लाख (कुल आप्रवासीको १२ देखि १४ प्रतिशत) रहेको छ।
महासचिव गुटेरेसले स्पष्ट शब्दमा भनेका छन की, “आप्रवासन आफैंमा संकट होइन। संकट त यसलाई मिलेर व्यवस्थापन गर्न नसक्नुमा छ । “ उनले कुनै पनि देशले एक्लै आप्रवासन व्यवस्थापन गर्न नसक्ने भन्दै जलवायु परिवर्तन, जनसांख्यिकीय परिवर्तन र आर्थिक रूपान्तरण जस्ता चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेकोमा जोड दिएका छन।
प्रतिवेदनमा आप्रवासनलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको र आप्रवासीहरूलाई अमानवीय व्यवहार गरिएको प्रति गहिरो चिन्ता व्यक्त गरिएको छ।
“महाद्वीपहरूभरि नै राजनीतिक अंक बटुल्नका लागि आप्रवासीहरूलाई हतियार बनाइँदैछ, जसको मानवीय परिणाम निकै भयानक छ। उनीहरूलाई सार्वजनिक बहसहरूमा अमानवीय दर्जा दिइँदैछ र उनीहरूको अधिकार र मर्यादा खोसिँदैछ।”
सुरक्षित र नियमित मार्गहरू (जस्तै श्रम योजना र पारिवारिक पुनर्मिलन) संकुचित हुँदै जाँदा मानिसहरू तस्करहरूको सहारा लिन र खतरनाक यात्रा गर्न बाध्य भएका छन्। ‘ग्लोबल कम्प्याक्ट’ अपनाए यता मात्रै ४८,००० भन्दा बढी आप्रवासीले बाटोमै ज्यान गुमाएका वा बेपत्ता भएका छन्। विशेष गरी भूमध्यसागर पार गर्ने मार्ग विश्वकै सबैभन्दा घातक सावित भएको छ।
महासचिवले आप्रवासीहरू अपराधी नभएर पीडित भएको स्पष्ट पारेका छन। उनीहरूलाई शोषण गर्ने र निराशाको फाइदा उठाउने मानव तस्करहरू चाहिँ वास्तविक अपराधी भएको र उनीहरूलाई कानुनी कठघरामा ल्याउनुपर्ने उनको भनाइ थियो।
प्रभावकारी आप्रवासन व्यवस्थापनका लागि महासचिवले दुईवटा मुख्य पक्षमा जोड दिएका छन १. नियमित आप्रवासनका स्पष्ट मार्गहरू विस्तार र सरल बनाउने। २. आप्रवासीहरूको उत्पत्ति हुने देशहरूमा शिक्षा, सीप र मर्यादित रोजगारीमा लगानी बढाउने।
उनले आगामी मे महिनामा हुने ‘अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मञ्च’ मार्फत देशहरूलाई ठोस र मापनयोग्य कदम चाल्न आग्रह गर्नुभयो।
आप्रवासन मानवता जत्तिकै पुरानो कथा हो: यो साहस, लचकता र आपसी लाभको कथा हो, महासचिवले भनेका छन, हाम्रो काम यो कथालाई कहिल्यै पनि मृत्यु र निराशाको कथा बन्न नदिनु हो।