प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार

अमेरिकाको एउटा विश्वविद्यालयमा भएको गोलीकाण्डमा एकजना सैन्य प्रशिक्षकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। ओल्ड डोमिनियन युनिभर्सिटी, भर्जिनियामा भएको उक्त घटनामा आक्रमणकारी पनि मारिएको छ।
घटनामा ब्रान्डन शाहको मृत्यु भएको हो। उनी विश्वविद्यालयको आर्मी रिजर्भ अफिसर्स ट्रेनिङ कोर (आरओटीसी) का सैन्य विज्ञान प्राध्यापक थिए। अमेरिकी अनुसन्धान संस्था एफबीआई ले यस घटनालाई आतंकवादी आक्रमणको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।
आक्रमणकारी ३६ वर्षीय मोहम्मद बेलर जालोह हुन्। उनी पहिले भर्जिनिया नेसनल गार्डका सदस्य थिए। सन् २०१६ मा इस्लामिक स्टेटलाई सहयोग गर्ने प्रयास गरेको आरोपमा उनले जेल सजाय भोगेका थिए। उनी सन् २०२४ डिसेम्बरमा मात्र जेलबाट रिहा भएका थिए।
प्रहरीका अनुसार जालोह विश्वविद्यालयको आरओटीसी कक्षामा प्रवेश गरी गोली चलाउन थालेका थिए। आक्रमण सुरु गर्नुअघि उनले “अल्लाहु अकबर” भन्दै नारा लगाएका थिए। कक्षामा रहेका विद्यार्थीहरूले तुरुन्तै प्रतिकार गर्दै आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए। झडपका क्रममा एक विद्यार्थीले उनलाई चक्कु प्रहार गरेको बताइएको छ। तर, आक्रमणकारीको मृत्युको वास्तविक कारणबारे अझै स्पष्ट जानकारी आएको छैन।
भर्जिनियाकी गभर्नर अबीगेल स्पानबर्जरले शाहलाई देशप्रति समर्पित सैनिक तथा शिक्षक भन्दै श्रद्धाञ्जली दिएकी छन्। शाह सन् २००३ मा अमेरिकी सेनामा प्रवेश गरेका थिए। उनले ‘अपरेसन एन्ड्युरिङ फ्रिडम’ तथा ‘अपरेसन इराकी फ्रिडम’ मा सेवा गरेका थिए। उनले ६०० घण्टाभन्दा बढी युद्ध उडान गरेका थिए भने सेवाका क्रममा दुईवटा ‘ब्रन्ज स्टार’ सहित धेरै पदक तथा सम्मान प्राप्त गरेका थिए।
गोलीकाण्डमा घाइते भएका दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ। विश्वविद्यालयका अध्यक्षले यो निरर्थक हिंसाले क्याम्पस र समुदायलाई गम्भीर रूपमा प्रभावित बनाएको बताएका छन्।
अमेरिकी न्याय मन्त्रालयका अनुसार जालोहले सन् २०१६ मा नै इस्लामिक स्टेटका नाममा आक्रमण गर्ने योजना बनाएका थिए। उनले संगठनलाई आर्थिक सहयोग गर्ने प्रयास समेत गरेका थिए। उनले रमजानको समयमा आक्रमण गर्नु उपयुक्त हुने विश्वास व्यक्त गरेको अनुसन्धानबाट खुलेको थियो।
अनुसन्धानकर्ताहरूका अनुसार उनी सन् २००९ मा ‘फोर्ट हुड’ मा भएको गोलीकाण्डबाट प्रेरित भएको हुनसक्ने आशंका गरिएको छ। करिब २४ हजार विद्यार्थी अध्ययन गर्ने यो सार्वजनिक विश्वविद्यालय नोरफक सहरमा अवस्थित छ।