प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार

अमेरिकी राष्ट्रपति डोेनाल्ड ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय यात्रुहरूको भन्सार तथा आप्रवासन जाँच प्रक्रिया छिटो बनाउने ग्लोबल इन्ट्री कार्यक्रम पुनः सञ्चालनमा ल्याएको घोषणा गरेको छ।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले बुधबार बिहानबाट उक्त कार्यक्रम पुनः सक्रिय गरिएको जनाएको हो। यस कार्यक्रमले पूर्व–स्वीकृत र कम जोखिम भएका यात्रुहरूलाई अमेरिकामा प्रवेश गर्दा छिटो प्रक्रिया पूरा गर्न सहयोग पुर्याउँछ।
यसअघि डिएचएसले फेब्रुअरी २२ मा आंशिक सरकारी बन्दका कारण सीमित बजेट र जनशक्ति जोगाउन भन्दै ग्लोबल इन्ट्री कार्यक्रम निलम्बन गरेको थियो। तर, ट्रान्सपोर्टेशन सेक्युरिटी एडमिनिस्ट्रेशन (टीएसए)को प्रि–चेक कार्यक्रम भने निलम्बन नगर्ने निर्णय गरिएको थियो।
सरकारले यात्रुहरूलाई परेको असुविधा कम गर्न कार्यक्रम पुनः सञ्चालन गरिएको बताए पनि शुल्कबाट सञ्चालन हुने यो कार्यक्रम किन रोकिएको थियो भन्ने स्पष्ट कारण भने दिएको छैन।
भर्जिनियाका डेमोक्रेट सिनेटर मार्क वार्नरका अनुसार सन् २०२५ मा मात्रै १ करोड ८० लाखभन्दा बढी यात्रुले ग्लोबल इन्ट्री प्रयोग गरेका थिए, जसले ७९ वटा प्रवेश नाकामा ३ लाख घण्टाभन्दा बढी कर्मचारी समय बचत गरेको थियो। उनले डिएचएसले राजनीतिक दबाब सिर्जना गर्न यात्रुहरूलाई दुःख दिएको आरोप लगाएका छन्।
ग्लोबल इन्ट्री कार्यक्रम निलम्बन भएपछि अमेरिकामा प्रवेश गर्ने यात्रुहरूले केही विमानस्थलहरूमा तीन घण्टासम्म लामो लाइन बस्नुपरेको थियो। साथै, टीएसएका करिब ५० हजार विमानस्थल सुरक्षा अधिकारीहरू अहिले तलब नपाई काम गरिरहेको पनि जनाइएको छ।