प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार

अमेरिका–इजरायलको सैन्य आक्रमणपछि इरानको तेहरानमा आकाशतर्फ उडिरहेको बाक्लो धुवाँको मुस्लो। तस्वीर : वाहिद सालेमी/एपी-रासस
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इरानमा तेल पूर्वाधारमा भएको आक्रमणपछि परेको “कालो वर्षा” ले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ। संगठनले यस्तो वर्षाले विशेषगरी श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्ने भन्दै मानिसहरूलाई घरभित्रै बस्न इरान सरकारले दिएको सल्लाहलाई उचित कदम बताएको छ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको स्वास्थ्य निकाय डब्ल्यूएचओको इरानमा कार्यालय रहेको छ । डब्ल्यूएचओले स्वास्थ्य आपतकालीन अवस्थाहरूमा स्थानीय अधिकारीहरूसँग सहकार्य गर्दै आएको छ। संगठनका अनुसार यस हप्ता इरानका विभिन्न स्थानमा तेल मिसिएको वर्षा परेको सम्बन्धी धेरै रिपोर्टहरू प्राप्त भएका छन्।
सोमबार तेहरानस्थित एक तेल रिफाइनरीमा आक्रमण भएपछि शहर कालो धुवाँले ढाकिएको थियो। यो घटना अमेरिका–इजरायल अभियानअन्तर्गत इरानको ऊर्जा आपूर्तिमा बढ्दो आक्रमणको क्रममा भएको बताइएको छ।
डब्ल्यूएचओका प्रवक्ता क्रिस्टियन लिण्डमाएरले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, “कालो वर्षा र त्यससँगै आउने अम्लीय वर्षा जनस्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ, विशेषगरी श्वासप्रश्वासका समस्या बढ्न सक्छन् ।”
उनका अनुसार तेल भण्डारण केन्द्र र रिफाइनरीहरूमा भएको आक्रमणपछि लागेको आगलागीका कारण हावाको गुणस्तर बिग्रिएको छ। यस्तो अवस्थामा मानिसहरू घरभित्रै बस्नु सुरक्षित हुने उनले बताएका छन्।