प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी पूर्व सेक्रेटरी क्रिस्टी नोएम
अमेरिकाको भर्जिनियाका डेमोक्र्याट सिनेटर टिम केनले गत वर्ष अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)को सेक्रेटरीका रूपमा क्रिस्टी नोएमलाई समर्थन गरेको निर्णयलाई ‘ठूलो गल्ती’ बताएका छन्। उनले आइतबार सीबीएस न्यूजको ‘फेस द नेशन विथ मार्गरेट ब्रेनन’मा कार्यक्रममा बोल्दै उक्त टिप्पणी गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला विवादका कारण नोएमले पद छोड्ने घोषणा गरेका थिए। साथै, उनले ओक्लाहोमाका रिपब्लिकन सिनेटर मार्कवेन मुलिनलाई डिएचएस सेक्रेटरीको नयाँ उम्मेदवारका रूपमा चयन गरेका छन्।
गत वर्ष नोएमको नियुक्ति पुष्टि गर्दा समर्थन गर्ने सात डेमोक्र्याटमध्ये केन पनि एक थिए। उनले नोएमले दक्षिण डकोटाको गभर्नरको रूपमा काम गरेको अनुभवका आधारमा समर्थन गरेको बताएका छन्। तर, पछि निर्णय प्रक्रियामा नोएमभन्दा पनि ट्रम्पका प्रमुख सहयोगी स्टीफन मिलरको प्रभाव बढी रहेको आफूहरूले बुझेको केनले बताए।
यसैबीच, नर्थ क्यारोलिनाका रिपब्लिकन सिनेटर थोम टिलिसले पनि मिलरको अत्यधिक प्रभावबारे चिन्ता व्यक्त गरेका छन्। उनले सीएनएनसँग कुरा गर्दै मिलरलाई पनि पदबाट हटाउनुपर्ने धारणा राखेका थिए।
नोएमपछि डिएचएसको नेतृत्व सम्हाल्न लागेका मुलिनले पनि सिनेटबाट पुष्टि प्रक्रिया पार गर्नुपर्नेछ। उनलाई पेनसिल्भेनियाका डेमोक्र्याट सिनेटर जोन फेटरम्यानसहित केही डेमोक्र्याटले समर्थन गरिसकेका छन्।
हाल अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)को बजेटसम्बन्धी विवादका कारण विभाग आंशिक रूपमा बन्द अवस्थामा छ। डेमोक्र्याटहरूले आप्रवासन कार्यान्वयन निकायहरूमा सुधार नभएसम्म बजेट स्वीकृत नगर्ने अडान लिएका छन्। डिएचएसअन्तर्गत अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) र अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्शन (सीबीपी) लगायतका निकाय पर्छन्।
सिनेटर केनले भने डिएचएसअन्तर्गतका अन्य निकायलाई बजेट दिन डेमोक्र्याट तयार रहेको तर आप्रवासन कार्यान्वयनसम्बन्धी सुधारबारे छलफल जारी रहने बताएका छन्।