प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार

नेपाली कांग्रेसका सभापति गगन थापा पराजित भएका छन्। सर्लाही क्षेत्र नम्बर ४ बाट थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश कुमार सिंहसँग पराजित भएका हुन्।
सिंहले ३५,६८८ मत प्राप्त गर्दा थापाले २२,८३१ मत मात्र ल्याए। सिंहको यो जितमा ‘ह्याट्रिक’ हो भने थापाको यो पहिलो हार हो। यसअघि काठमाडौँ क्षेत्र नम्बर ४ बाट लगातार तीन पटक थापाले जित हासिल गरेका थिए। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापा काठमाडौँ ४ छोडेर सर्लाही ४ मा चुनाव लड्न गएका थिए।
अघिल्लो चुनावमा नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका सिंह यसपटक भने मनोनयनको सम्मुखमा रास्वपा प्रवेश गरेर चुनाव लडेका थिए।
सभापति थापाले नेतृत्व गरेको नेपाली कांग्रेस दोस्रो स्थानका लागि एमालेसँग प्रतिस्पर्धा गरिरहेको छ। सिंह आबद्ध पार्टी रास्वपा भने प्रतिनिधिसभामा दुई–तिहाइतर्फ अग्रसर छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा (प्रत्यक्ष तर्फ १६५ र समानुपातिक तर्फ ११०) रास्वपाले प्रत्यक्षतर्फ १०० सिट जितिसकेको छ भने समानुपातिकतर्फ पनि अन्य दलभन्दा निकै अगाडि रहेको छ। अहिले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मतगणना चलिरहेको छ।