प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार

फोटो : एपी/रासस
अमेरिकाले इरानविरुद्ध थप सशक्त आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले ‘यूएस सेन्ट्रल कमाण्ड’ द्वारा आयोजित पत्रकार सम्मेलनमा अमेरिका र इरानबीचको द्वन्द्व अझ तीव्र हुने संकेत दिएका हुन्।
उनले हालसम्म देखिएका सैन्य कारबाहीहरू सुरुआती चरणमै रहेको उल्लेख गर्दै आगामी दिनमा अझ ठूलो स्तरका आक्रमणहरू हुन सक्ने बताएका छन्। हेगसेथले इरानविरुद्ध प्रयोग गर्न सकिने सैन्य क्षमता अझै ठूलो मात्रामा भित्रिरहेको र इजरायली रक्षा बल सँगको समन्वयमा प्रयोग हुने शक्ति हालको तुलनामा कैयौँ गुणा बढी हुने दाबी गरे।
द्वन्द्व बढ्नुअघि अमेरिकी सैन्य अधिकारीहरूले लामो समयसम्म चल्ने युद्धले अमेरिकी हतियार भण्डारमा असर पार्न सक्ने चेतावनी दिएका थिए। विशेष गरी इजरायल र युक्रेनलाई सहयोग गर्दा प्रयोग हुने ‘लामो दूरीका सटिक निशाना लगाउने मिसाइलहरू’ को मौज्दातमा दबाब पर्न सक्ने जानकारी दिइएको थियो।
तर, रक्षा मन्त्री हेगसेथले भने अमेरिकासँग पर्याप्त हतियार भण्डार रहेको भन्दै आश्वस्त पारेका छन्। उनले स्पष्ट पार्दै भने, “हाम्रा रक्षात्मक र आक्रामक दुवै प्रकारका हतियार भण्डारले यो अभियानलाई आवश्यकता परेको खण्डमा लामो समयसम्म निरन्तरता दिने क्षमता राख्छन्। हामीले त निर्णायक लडाइँ सुरु मात्र गरेका छौँ।”
हेगसेथको यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि “ठूलो स्तरको आक्रमणको लहर” अझै आउन बाँकी रहेको संकेत दिएलगत्तै सार्वजनिक भएको हो।