नेपालमा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान सुरु, ६,५०० उम्मेदवार प्रतिस्पर्धामा



प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार

नेपालमा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान सुरु, ६,५०० उम्मेदवार प्रतिस्पर्धामा

फोटो : रासस

नेपालमा प्रतिनिधिसभा सदस्य चयनका लागि देशभर मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ। ५ बजेसम्म मतदानस्थलमा पुगिसकेका मतदाताहरूले ५ बजेपछि पनि मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभाको प्रत्यक्ष प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० सदस्य चयन गर्न मतदान सुरु भएको हो। देशभर कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन्। प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० म्यादी प्रहरी खटिएका छन्। निर्वाचन सम्पन्न गराउन कुल २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको छ।

मतदाताले मतदानका लागि मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को सक्कल प्रति देखाएर मतदान गर्न सक्नेछन्। तर, मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै मतदातालाई चुनावमा सहभागी हुन आह्वान गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग क्रियाशील रहेको बताएका छन।

विगतका निर्वाचनको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कनका आधारमा ३,६८० मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ। त्यस्तै, ४,४४२ मतदानस्थललाई ‘संवेदनशील’ र २,८४५ मतदानस्थललाई ‘सामान्य’ श्रेणीमा वर्गीकरण गरिएको छ।

यस निर्वाचनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह लगायतका नेताहरूको राजनीतिक भविष्य निर्धारण गर्नेछ।

एमाले अध्यक्ष ओली र रास्वपाका नेता शाह झापा-५ बाट, कांग्रेस सभापति थापा सर्लाही-४ बाट, रास्वपा सभापति लामिछाने चितवन-२ र नेकपा संयोजक प्रचण्ड रुकुम पूर्वबाट चुनावी मैदानमा रहेका छन।

भदौ २३ र २४ गते भएको युवा आन्दोलनका कारण संसद् विघटन भएपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले यो प्रतिनिधिसभा निर्वाचन गराउन लागेको हो।





Source link

Leave a Comment