प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार

इरानी ड्रोन आक्रमणमा ज्यान गुमाउने ६ मध्ये ४ अमेरिकी सैनिकको पहिचान सार्वजनिक भएको छ।
अमेरिकी रक्षा मन्त्रालयले आइतबार भएको इरानी ड्रोन आक्रमणमा ज्यान गुमाएका ६ मध्ये चार सैनिकको पहिचान सार्वजनिक गरेको हो। पहिचान गरिएका सैनिकहरूमा क्याप्टेन कोडी खोरक (३५), सर्जेन्ट फर्स्ट क्लास नोआ टिट्जेन्स (४२), सर्जेन्ट फर्स्ट क्लास निकोल अमोर (३९) र सर्जेन्ट डेक्लान कोडी (२०) रहेका छन्।
उनीहरू सबै आयोवास्थित १०३औँ सस्टेनमेन्ट कमाण्ड, आर्मी रिजर्भको एक एकाइमा कार्यरत थिए। अन्य दुई सैनिकको नाम भने अझै सार्वजनिक गरिएको छैन।
अमेरिकी आर्मी रिजर्भद्वारा जारी वक्तव्यमा पहिलो थिएटर सस्टेनमेन्ट कमाण्डका उपकमाण्डिङ जनरल ब्रिगेडियर जनरल क्लिन्ट ए. बार्न्सले “देशका लागि सर्वोच्च बलिदान दिने सैनिकहरूलाई गहिरो दुःखका साथ सम्झिएको” बताएका छन्।
आइतबार कुवेतको शुआइबा बन्दरगाहस्थित अस्थायी ट्याक्टिकल अपरेसन केन्द्रमा ड्रोन प्रहार भएको थियो। उक्त केन्द्र तीनवटा ट्रेलर जोडेर बनाइएको कार्यालय संरचना थियो, जसलाई बाहिरबाट कङ्क्रिटले घेरिएको थियो। तर, माथिबाट हुने ड्रोन वा मिसाइल आक्रमणबाट जोगिने कुनै सुरक्षा संरचना त्यहाँ थिएन।
घटनाअघि कुनै साइरन वा चेतावनी नदिइएको स्रोतले जनाएको छ। जसका कारण सैनिकहरूले बङ्करमा शरण लिन समेत समय नपाएको देखिएको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार इरानसँगको द्वन्द्वमा हालसम्म १८ जना सैनिक गम्भीर घाइते भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षामन्त्री पेट हेगसेथले थप क्षति हुन सक्ने सङ्केत दिएका छन्। यसैबीच, ट्रम्पले इरानमा गरिएको अमेरिकी सैन्य कारबाहीको प्रशंसा गर्दै इरानका “झन्डै सबै सैन्य संरचनाहरू ध्वस्त पारिएको” दाबी गरेका छन्।
उनले भनेका छन्, “उनीहरूसँग वायुसेना छैन, त्यो पनि नष्ट भइसकेको छ। उनीहरूको हवाई निगरानी प्रणाली समाप्त भएको छ, रडार प्रणाली ध्वस्त पारिएको छ र झन्डै सबै कुरा समाप्त पारिएको छ।”
ट्रम्पले थपे, “हामी निकै राम्रो गरिरहेका छौँ। हाम्रो सेना उत्कृष्ट छ र उनीहरूले शानदार काम गरिरहेका छन्।” गत शनिबार अमेरिका र इजरायलको संयुक्त सैन्य हमलामा इरानी सर्वोच्च नेता खामेनीसहित ४० भन्दा बढी उच्चपदस्थ अधिकारीहरूको ज्यान गएपछि इरानले प्रत्याक्रमण गरिरहेको छ। इरानले हाल मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूमाथि लगातार हमला गरिरहेको छ।