प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार

फोटो : एपी/रासस
साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ। उक्त आक्रमण इरानले गरेको दाबी गरिएको छ।
साउदी अरेबियाको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोन प्रहार भएको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार उक्त आक्रमणबाट दूतावासको भवनमा आगलागी भएको र केही भौतिक क्षति पुगेको छ।
बिहान सबेरै ठूलो विस्फोटको आवाज सुनिएको थियो र दूतावासको भवनबाट आगोको ज्वाला निस्किएको देखिएको थियो। रियादको कूटनीतिक क्षेत्र जहाँ विभिन्न विदेशी नियोगहरू रहेका छन्, त्यहाँबाट आकाशतर्फ कालो धुवाँ उडिरहेको देखिएको थियो। घटना बिहानको समयमा भएको र दूतावास भवन खाली रहेकाले कुनै मानवीय क्षति भने नभएको जनाइएको छ।
घटनाको थप विवरण आउन बाँकी छ भने सुरक्षा अधिकारीहरूले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाएका छन्। शनिबार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी केन्द्रहरूमा निरन्तर आक्रमण गरिरहेको छ।
हालसम्मको झडपमा ६ जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने इरानी सर्वोच्च नेता खामेनीसहित ४० जना उच्च अधिकारीहरू मारिएको उल्लेख गरिएको छ।