अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त सैन्य हमला सुरु



प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार

अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त सैन्य हमला सुरु

अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि सैन्य आक्रमण सुरु गरेका छन्। उनीहरूले इरानका विभिन्न सहरहरूमा सैन्य हमला गरेका हुन्।

राजधानी तेहरानसहित देशका विभिन्न भागमा शक्तिशाली विष्फोट भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो सन्देशमार्फत अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य अभियान सुरु गरेको पुष्टि गरेका छन्।

ट्रम्पले आफ्नो सन्देशमा भनेका छन्, “हाम्रो उद्देश्य अमेरिकी जनताको सुरक्षा गर्नु र इरानी शासनबाट आउन सक्ने आसन्न खतरा समाप्त गर्नु हो।” उनले इरानले वर्षौंदेखि अमेरिकी हित र सहयोगी राष्ट्रहरूलाई खतरा पुर्‍याउँदै आएको आरोप समेत लगाए।

इरानी राज्य सञ्चारमाध्यमहरूका अनुसार तेहरान, इस्फहान, कुम, लोरिस्तान, करज, केरमानशाह र तब्रिज सहरमा आक्रमण भएको छ। इजरायलले सम्भावित प्रतिशोधको तयारीस्वरूप देशभर आपतकालीन अवस्था घोषणा गरेको छ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको कार्यालय र निवास रहेको तेहरानको पास्चर क्षेत्रमा समेत मिसाइल प्रहार भएको बताइएको छ। सो क्षेत्रमा कम्तीमा ७ वटा मिसाइल खसेका छन्।

इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले इरान “कडा प्रतिशोधको तयारीमा” रहेको जनाएको छ। इस्लामिक रिभोल्युशनरी गार्ड कोर सम्बद्ध स्रोतहरूले इजरायलमाथि “ध्वंसात्मक जवाफ” दिने चेतावनी दिएका छन्।

अमेरिका र इरानबीच परमाणु कार्यक्रमबारे अप्रत्यक्ष वार्ता चलिरहेकै समयमा यो हमला भएको हो। इरानमा सरकारविरुद्ध भएको आन्दोलनमा हजारौँ प्रदर्शनकारी मारिएको रिपोर्ट सार्वजनिक भएपछि यी देशहरूबीचको तनाव थप चर्किएको थियो।

हाल मध्यपूर्वको अवस्था अत्यन्त तनावपूर्ण रहेको छ। इरानले कडा जवाफ दिने संकेत गरेकाले यस क्षेत्रमा व्यापक द्वन्द्वको जोखिम बढेको विश्लेषण गरिएको छ।





Source link

Leave a Comment