प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार

मृत्यु भएकी ८ वर्षीया बालिका मेलिका “मोली” बून । तस्वीर स्रोत : एफबीआई
अमेरिकाको नाभाजो नेशन क्षेत्रमा गत महिना रहस्यमय रूपमा मृत्यु भएकी ८ वर्षीया बालिका मेलिका “मोली” बून सवारी साधनको ठक्करबाट ज्यान गएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ।
संघीय अनुसन्धान ब्यूरो (एफबीआई)को फिनिक्स कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मोलीलाई गुडिरहेको सवारी साधनले ठक्कर दिएको हुन सक्ने आशंका गरिएको हो । चालकले ठक्कर दिएको थाहा नपाएको सम्भावना पनि औंल्याइएको छ।
गत जनवरी १५ मा एरिजोनास्थित आफ्नै छिमेकबाट हराएकी मोली सोही दिन दिउँसो खेल्दै घर फर्कने क्रममा दुर्घटनामा परेकी हुन सक्ने विश्वास गरिएको छ। उनको शव भोलिपल्ट बिहान फेला परेको थियो।
एफबीआईले जनवरी १५ को साँझ ५ः५० देखि ६:२० बजेसम्म कोलमाइन नाभाजो हाउजिङ अथोरिटी क्षेत्रको सिडर लुप रोड हुँदै गुडेका सवारी साधनबारे जानकारी संकलन गरिरहेको जनाएको छ। विशेषगरी ठूलो आकारको गाडी, सम्भवतः पिकअप ट्रकमा सवार चालकको खोजी भइरहेको छ।