अमेरिकामा हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द



प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार

अमेरिकामा हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द

अमेरिकामा आएको भीषण हिमआँधीका कारण ५ हजारभन्दा बढी उडानहरू रद्द भएका छन्। फ्लाइटअवेयर का अनुसार देशभित्र तथा बाहिर आउने-जाने गरी ५ हजार ६ सय ७५ भन्दा बढी हवाई उडान रद्द भएका हुन्।

लागार्डिया विमानस्थल, जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, लोगन अन्तर्राष्ट्रिय विमानस्थल, न्युवर्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थल र फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अधिकांश उडान रद्द गरिएका छन्। यस प्राकृतिक विपत्तिले लाखौँ नागरिकको दैनिकी प्रभावित बनाएको छ। अधिकारीहरूले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा सुरक्षाका उपायहरू कडाइका साथ अपनाउन आग्रह गरेका छन्।

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको भीषण हिमआँधीका कारण कीर्तिमानी हिमपात भएको हो। रोड आइल्यान्ड र म्यासाचुसेट्सका विभिन्न स्थानमा करिब ३३ इन्च (८३ सेन्टिमिटर) सम्म हिमपात भएको जनाइएको छ। त्यस्तै, न्युयोर्क सिटीस्थित सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिउँ परेको राष्ट्रिय मौसम सेवाले जनाएको छ।

न्युयोर्क राज्यका अधिकारीहरूले यात्राका लागि अवस्था अत्यन्त जोखिमपूर्ण बनेको चेतावनी दिएका छन्। पूर्वी तटीय क्षेत्रमा ६ लाखभन्दा बढी घर तथा व्यापारिक संस्थाहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ। विशेषगरी न्यु जर्सी र म्यासाचुसेट्स बढी प्रभावित भएका छन्।

हिमआँधीसम्बन्धी चेतावनी नर्थ क्यारोलिनादेखि मैनसम्म जारी गरिएको छ। साथै पूर्वी क्यानडाका केही भागमा पनि सतर्कता अपनाइएको छ। मौसमविद्हरूका अनुसार सोमबार दिनभर हिमपात जारी रहनेछ। केही उत्तरपूर्वी तटीय क्षेत्रमा मंगलबार बिहानसम्म १ देखि २ फिट (करिब ६१ सेन्टिमिटर) सम्म हिउँ जम्न सक्ने अनुमान गरिएको छ।

अमेरिकाको सबैभन्दा सानो राज्य रोड आइल्यान्डमा यसपटकको हिमपात इतिहासकै सबैभन्दा ठूलो मानिएको छ। राजधानी प्रोभिडेन्समा ३३ इन्च हिउँ परेको छ, जसले सन् १९७८ को फेब्रुअरीमा कायम भएको २८.६ इन्चको पुरानो कीर्तिमान तोडेको छ। म्यासाचुसेट्समा करिब ३ लाख नागरिक विद्युत् सेवाबाट वञ्चित भएका छन्। ब्रान्सटेवल काउन्टीअन्तर्गत पर्ने क्याप कोड क्षेत्रका अधिकांश घरधुरी प्रभावित भएका छन्।

न्युयोर्क शहरमा गैर-अत्यावश्यक सवारी आवागमनमा रोक लगाएपछि जनजीवन लगभग ठप्प बनेको थियो; यद्यपि दिउँसो भने प्रतिबन्ध हटाइएको थियो।





Source link

Leave a Comment