प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार

एल मेन्चोको मृत्युपछि ग्वाडालाहारास्थित सुपरमार्केट अगाडि जलेको सवारी। तस्वीर : अलेजान्ड्रा लेभा/एपी-रासस
मेक्सिकोका सुरक्षा मन्त्री ओमार गार्सिया हारफुचले आइतबार कुख्यात कार्टेल प्रमुख नेमेसियो ओसेगुएरा उर्फ ‘एल मेन्चो’ को पक्राउ र मृत्युपछि देशका विभिन्न क्षेत्रमा हिंसात्मक आक्रमण बढेको बताएका छन्। उनका अनुसार कार्टेलद्वारा गरिएका आक्रमणमा नेशनल गार्डका २५ जना सदस्य र एक सुरक्षा गार्ड गरी २६ जनाको ज्यान गएको छ।
ओसेगुएरा शक्तिशाली जालिस्को न्यु जेनेरेसन कार्टेल (सीजेएनजी)का प्रमुख थिए । उनी मेक्सिकोका सबैभन्दा खोजिएका अपराधीमध्ये एक मानिन्थे। मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार जालिस्को राज्यको टापाल्पा सहरमा विशेष सैनिक कारबाहीका क्रममा घाइते भएपछि उनको हिरासतमा मृत्यु भएको हो।
रक्षा मन्त्री रिकार्डो ट्रेविल्लाले ओसेगुएराको पक्राउ र मृत्यु सम्बन्धी सूचना उनको नजिकको एक प्रेमिकाबाट प्राप्त भएको जानकारी दिएका छन्। उनलाई पक्राउ गर्न सहयोग पुर्याउने सूचनाका लागि अमेरिकाले १५ मिलियन डलर पुरस्कार घोषणा गरेको थियो।
एल मेन्चोको मृत्युपछि जालिस्कोसहित देशका विभिन्न भागमा हिंसाका घटना बढेका छन्। कार्टेल सदस्यहरूले सडक अवरुद्ध गर्ने, सवारीसाधन जलाउने तथा सुरक्षाकर्मीमाथि आक्रमण गर्ने जस्ता गतिविधि गरेका छन्। हारफुचका अनुसार जालिस्कोमा मात्र प्राधिकरणविरुद्ध २७ वटा आक्रमण भएका छन्। यी घटनामा ३० जना कार्टेल सदस्य र एक सर्वसाधारणको मृत्यु भएको छ भने सात राज्यबाट कम्तीमा ७० जना पक्राउ परेका छन्।
सरकारले कार्टेलभित्र सम्भावित पुनर्संरचना वा प्रतिशोधात्मक गतिविधिबारे नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई लागूऔषध कार्टेलविरुद्धको अभियान अझ सशक्त बनाउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘मेक्सिकोले कार्टेल र लागूपदार्थविरुद्ध आफ्नो प्रयास बढाउनुपर्छ’ भन्ने सन्देश दिएका छन्।