प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार

गभर्नर क्याथी होकुल न्यूयोर्कवासीहरूलाई हिउँदे आँधीको तयारीबारे जानकारी दिँदै। (माइक ग्रोल/गभर्नर क्याथी होचुलको कार्यालय)
न्युयोर्कमा अत्यधिक चिसो र शक्तिशाली हिमआँधी नोरइस्ट आउने प्रक्षेपण गरिएपछि गभर्नर क्याथी होकुलले शनिबार राज्यभर आपतकालीन अवस्था घोषणा गरेकी छिन् । विशेषगरी न्युयोर्क सहर, लङ आइल्याण्ड र लोअर हडसन भ्याली यस आँधीको उच्च जोखिममा रहेका छन्।
गभर्नर होकुलले यो हिउँदे आँधी निकै तीव्र र ज्यान लिनेसम्मको घातक हुन सक्ने भन्दै सर्वसाधारणलाई घरबाहिर ननिस्कन र यात्रा नगर्न आग्रह गरेकी छिन् । आइतबार बिहानदेखि सोमबार दिउँसोसम्ममा न्युयोर्कका केही स्थानमा १८ देखि २४ इन्च (२ फिट) सम्म हिउँ जम्मा हुने अनुमान गरिएको छ।
हिउँसँगै प्रति घण्टा ६० माइलको वेगमा हावा चल्ने हुनाले हिमआँधीको स्थिति सिर्जना भई यात्रा अत्यन्तै खतरनाक हुन सक्ने चेतावनी दिइएको छ। प्रशासनले न्युयोर्क सहर, लङ आइल्याण्ड र दक्षिणी वेस्टचेस्टर काउन्टीमा चेतावनी जारी गरेको छ भने हडसन भ्यालीका बाँकी क्षेत्रहरूमा हिउँदे आँधीको सतर्कता अपनाउन भनिएको छ।
अल्बानी, ब्रोन्क्स, कोलम्बिया, किंग्स, नासाउ, क्विन्स, रिचमण्ड र वेस्टचेस्टर लगायतका दर्जनौं काउन्टीहरूमा आपतकाल लागु गरिएको छ। नासा काउन्टीका कार्यकारी ब्रुस ब्लेकम्यानले यसलाई ठूलो र खतरनाक आँधीको संज्ञा दिँदै आइतबार राति ९ बजेदेखि सोमबार बिहान ९ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधनलाई सडकमा गुड्न प्रतिबन्ध लगाइएको जानकारी दिए ।
राहत र उद्धार कार्यका लागि गभर्नरले १०० जना नेशनल गार्ड परिचालन गरिसकेकी छिन् । साथै, भारी ओसिलो हिउँ र तीव्र हावाका कारण विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै राज्यभर ५,६०० भन्दा बढी युटिलिटी कर्मचारीहरूलाई तयारी अवस्थामा राखिएको छ।
राज्यका विभिन्न निकायहरूले हजारौँ हिउँ पन्छाउने मेसिन, ठूला ट्रक र नुन छर्कने मेसिनहरू तयारी अवस्थामा राखेका छन्। गभर्नर होकुलले नागरिकको सुरक्षा आफूहरुको प्रथम दायित्व भएको बताउँदै सुरक्षित रहन आग्रह गरेकी छिन् ।
अधिकारीहरूले लङ आइल्याण्ड, न्युयोर्क सहर र हडसन भ्यालीका बासिन्दाहरूलाई आइतबार र सोमबार घरमै बस्न र सम्भव भएसम्म रोजगारदाताहरूलाई आफ्ना कर्मचारीहरूलाई घरबाटै कामको अनुमति दिन प्रोत्साहन गरेका छन्। न्युयोर्कवासीहरूलाई मौसम सम्बन्धी पछिल्लो जानकारी र आपतकालीन सूचनाहरू प्राप्त गर्न ३३३१११ मा टेक्स्ट मेसेज गरेर दर्ता गर्न समेत आग्रह गरिएको छ। सडकहरू निकै चिप्लो हुने र विद्युत् जाने खतरा रहेकाले सबैलाई आवश्यक पूर्वतयारी गर्न सूचित समेत गरिएको छ।