टेक्सासमा ‘आइस’ को गोली लागेर अमेरिकी नागरिकको मृत्यु : घटना एक वर्षपछि कसरी सार्वजनिक भयो ?



प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार

टेक्सासमा ‘आइस’ को गोली लागेर अमेरिकी नागरिकको मृत्यु : घटना एक वर्षपछि कसरी सार्वजनिक भयो ?

अमेरिकाको टेक्सासमा संघीय आप्रवासन अधिकारीको गोली लागेर एकजना अमेरिकी नागरिकको ज्यान गएको घटना सार्वजनिक भएको छ। २३ वर्षीय अमेरिकी नागरिक रुबेन रे मार्टिनेजको गत वर्ष गोली लागेर मृत्यु भएको थियो।

उक्त घटना डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले सार्वजनिक रूपमा खुलासा नगरेको पाइएको छ। गत वर्ष मार्च १५ मा साउथ पाद्रे आइल्यान्डमा यो घटना भएको अहिले सार्वजनिक गरिएको अभिलेखमा उल्लेख गरिएको छ।

यो घटनालाई राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा सुरु गरिएको कडा आप्रवासन अभियानको सुरुवाती चरणमा भएको मानिएको छ। त्यति बेला भएका ६ वटा गोलीकाण्डमध्ये यो घटना सबैभन्दा प्रारम्भिक मानिन्छ।

डीएचएसले दिएको वक्तव्यमा चालकले जानाजानी संघीय अनुसन्धान एजेन्टमाथि गाडी चढाउन खोजेकाले आत्मरक्षाका लागि गोली चलाइएको दाबी गरिएको छ।

वासिङ्टनस्थित गैरनाफामूलक निगरानी संस्था ‘अमेरिकन ओभरसाइट’ ले सूचनाको हक (सूचना स्वतन्त्रता ऐन) अन्तर्गत मुद्दा दायर गरेर आप्रवासन तथा भन्सार प्रवर्तन निकायका आन्तरिक कागजात प्राप्त गरेको थियो।

ती कागजातहरू अत्यधिक सम्पादन गरिएका भए पनि घटनामा ‘होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन’ टोली संलग्न रहेको खुलासा भएको छ।

स्थानीय सञ्चारमाध्यमले मार्टिनेजको मृत्युबारे त्यतिबेलै समाचार प्रकाशित गरे पनि घटनामा संघीय टोली संलग्न रहेको विषय राज्य वा संघीय निकायले सार्वजनिक गरेका थिएनन्।

डीएचएसका अनुसार अर्को एजेन्टलाई जोगाउन र सर्वसाधारणको सुरक्षाका लागि गोली चलाइएको हो। तर ११ महिनासम्म किन औपचारिक सूचना जारी गरिएन भन्ने प्रश्नमा डीएचएसले कुनै प्रतिक्रिया दिएको छैन।

मार्टिनेजकी आमा राचेल रेयेसका अनुसार उनका छोरा जन्मदिन मनाउन सान एन्टोनियोबाट साथीहरूसँग समुद्री किनार घुम्न गएका थिए। साउथ पाद्रे आइल्यान्ड वसन्तकालीन बिदाका बेला हजारौँ युवायुवती पुग्ने लोकप्रिय गन्तव्य हो।

मार्टिनेज अमेजनको गोदाममा काम गर्थे र सामान्य जीवन बिताउँथे। उनको यसअघि कानुन कार्यान्वयन निकायसँग कुनै विवाद नरहेको उनकी आमाले बताएकी छन्।





Source link

Leave a Comment