प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार

अमेरिकाको रोड आइल्यान्ड राज्यमा भएको एक गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। बरफ मैदान (Ice Rink) मा हक्की खेल भइरहेका बेला अचानक गोली चलेको हो।
प्रारम्भिक अनुसन्धानअनुसार बन्दुकधारीले आफ्नै परिवारका सदस्यहरूलाई लक्षित गरेर गोली चलाएको हुन सक्ने आशङ्का गरिएको छ। प्रत्यक्ष प्रसारण भएका दृश्यहरूमा खेल चलिरहेकै बेला बेन्चको पछाडिबाट गोली चलाइएको देखिन्छ। गोली चल्न थालेपछि खेलाडी र प्रशिक्षकहरू ज्यान जोगाउन भागाभाग गरेका थिए। घटनाका क्रममा कम्तीमा एक दर्जन गोली प्रहार भएको बताइएको छ।
गोली चल्नासाथ केही किशोर खेलाडीहरू बरफ मैदानमा हाम फाल्दै विपरीत दिशामा रहेको ढोकाबाट लकर कक्षतर्फ दौडिएका थिए। सोही क्रममा दर्शकदीर्घामा रहेका एक व्यक्तिले बन्दुकधारीलाई नियन्त्रणमा लिने (निःशस्त्र पार्ने) प्रयास गरेको जानकारी पनि सार्वजनिक भएको छ।
स्थानीय प्रहरी प्रमुखका अनुसार बन्दुकधारीले गोली चलाएपछि आफैँलाई गोली प्रहार गरी आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ। यो घटना पारिवारिक विवादसँग सम्बन्धित हुन सक्ने सम्भावनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
घाइते तीन जनाको राज्यस्थित मुख्य अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ। यो घटना दुई महिनाअघि सोही राज्यको एक विश्वविद्यालयमा भएको गोलीकाण्डपछिको अर्को ठूलो हिंसात्मक घटना हो, जसले स्थानीय समुदायमा असुरक्षाको भावना बढाएको छ।
यस वर्षको पहिलो ५७ दिनभित्रै अमेरिकाभर भएको यो ४१ औँ सामूहिक गोलीकाण्ड हो। रङ्गशालामा विभिन्न विद्यालयका विद्यार्थीहरू सम्मिलित दुई टोलीबीच खेल भइरहेको थियो। विद्यालय प्रशासनका अनुसार गोलीकाण्ड दर्शकदीर्घामा बसेकाहरूबीच भएको हो। खेलको पहिलो चरण सुरु हुँदै गर्दा यो अप्रिय घटना घटेको थियो।
खेलमा सहभागी सबै विद्यार्थीहरू सुरक्षित रहेको र घटनामा केही अभिभावकहरू संलग्न हुन सक्ने सङ्केत गरिएको छ। सम्बन्धित अन्य विद्यालयहरूले पनि आफ्ना विद्यार्थीहरू सुरक्षित रहेको पुष्टि गरेका छन्।