अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई “लाज” र “शिष्टता” हराएको व्यक्तिको संज्ञा दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेको जातिवादी भिडियोबारे अप्रत्यक्ष रूपमा टिप्पणी गर्दै ओबामाले ट्रम्पको नाम नलिई यस्तो बताएका हुन्।
ओबामाले उदारवादी पोडकास्टर ब्रेन टायलर कोहेनसँगको अन्तर्वार्तामा बोल्दै सार्वजनिक पदाधिकारीहरूमा “लाज” र “शिष्टता” हराउँदै गएको बताए। नेतृत्वमा यस्ता गुणहरू हराउँदै गए पनि देशका विभिन्न स्थानमा भ्रमण गर्दा आफूले अझै पनि शिष्टता, सदाचार र दयामा विश्वास गर्ने मानिसहरू भेटेको उनले सुनाए।
उक्त भिडियोमा ओबामा र उनकी पत्नी मिचेललाई बाँदरका रूपमा देखाइएको क्लिप समावेश थियो। यो भिडियोको डेमोक्र्याट र रिपब्लिकन दुवै पक्षबाट व्यापक आलोचना गरिएको थियो। ह्वाइट हाउसले सुरुमा यसलाई “नक्कली आक्रोश” भन्दै बचाउ गरे पनि पछि उक्त पोस्ट एक कर्मचारीको गल्तीका कारण भएको भन्दै हटाइएको जानकारी दिएको छ।
कोहेनले सन् २०२० को निर्वाचनमा मतदाता धाँधलीबारे आधारहीन दाबी समेटिएको ट्रम्पको भिडियोको अन्त्यमा राखिएको उक्त क्लिपलाई उल्लेख गरेका थिए। उक्त क्लिप “द लायन स्लीप्स टुनाइट” गीतमा आधारित थियो।
उक्त पोस्टले ट्रम्पको आफ्नै रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरूबाट समेत आक्रोशको सामना गर्नु परेको थियो। रिपब्लिकन पार्टीका एक मात्र अश्वेत सिनेटर टिम स्कटले यसलाई “ह्वाइट हाउसबाट देखिएको सबैभन्दा जातिवादी कुरा” भन्दै टिप्पणी गरेका थिए। उक्त क्लिप अश्वेत व्यक्तिहरूलाई बाँदरको रूपमा चित्रण गर्ने पुराना जातिवादी कार्टुनहरूको सम्झना गराउने खालको थियो।
ट्रम्पले भने उक्त भिडियोमा ओबामालाई बाँदरको रूपमा देखाइएको भाग आफूले नदेखेको दाबी गर्दै माफी नमाग्ने बताएका थिए। ओबामाले अमेरिकी राजनीति अहिले क्रूरताको स्तरमा झरेको र यस्तो अवस्था पहिले कहिल्यै नआएको उल्लेख गरे।
उनले थपे, “अमेरिकी जनताको बहुमतले यस्तो व्यवहारलाई चिन्ताजनक ठान्छन्। यो सत्य हो कि यसले ध्यान तान्छ, तर यो ध्यान भंग गर्ने कुरा पनि हो।” ओबामाले आफ्नो प्रतिक्रियामा ट्रम्पको नाम भने कतै उल्लेख गरेनन्। साथै, उनले आप्रवासन कारबाहीविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्नेहरूको प्रशंसा समेत गरेका छन्।
