न्यूयोर्क बफेलो गोलीकाण्ड प्रकरण: बन्दुक बनाउने कम्पनीले झन्डै १८ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने



प्रकाशित मिति : माघ २८, २०८२ बुधबार

न्यूयोर्क बफेलो गोलीकाण्ड प्रकरण: बन्दुक बनाउने कम्पनीले झन्डै १८ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

अमेरिकाको न्यूयोर्कस्थित बफेलो गोलीकाण्डमा प्रयोग गरिएको बन्दुकको सहायक उपकरण बनाउने कम्पनीले १७.५ लाख डलर क्षतिपूर्ति तिर्न सहमति जनाएको छ।

सन् २०२२ मा बफेलोस्थित ‘टप्स फ्रेन्डली मार्केट’मा भएको जातीय घृणाबाट प्रेरित गोलीकाण्डमा प्रयोग गरिएको बन्दुकको सहायक उपकरण उत्पादन गर्ने कम्पनीले १७ लाख ५० हजार अमेरिकी डलर क्षतिपूर्ति तिर्न सहमति जनाएको हो। कम्पनीले न्यूयोर्क राज्यमा उक्त उपकरण आइन्दा बिक्री गर्न नपाउने राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सले जानकारी दिएकी छिन्।

जर्जियामा रहेको ‘मीन आर्म्स’ कम्पनीसँग भएको यो सहमतिसँगै महान्यायाधिवक्ता जेम्सले दायर गरेको मुद्दा अब टुङ्गिएको छ। उक्त सहमति आक्रमणमा ज्यान गुमाएका व्यक्तिका परिवार र जीवित बचेका पीडितहरूको दाबीसम्बन्धी मुद्दासँग सम्बन्धित रहेको जनाइएको छ।

पीडित पक्षका वकिलहरूका अनुसार बन्दुकधारी पेटन गेन्ड्रोनका अभिभावक र बन्दुक विक्रेता ‘भिन्टेज फायरआर्म्स एलएलसी’ विरुद्ध दायर गरिएका छुट्टाछुट्टै मुद्दाहरू पनि आपसी सहमतिमा समाधान भएका छन्।

‘मीन आर्म्स’ विरुद्धको मुद्दा राइफलमा म्यागजिन लक गर्ने उपकरणसँग सम्बन्धित थियो। उक्त लक न्यूयोर्कमा अवैध मानिने उच्च क्षमताका म्यागजिन परिवर्तन गर्न नदिने उद्देश्यले बनाइएको थियो।

तर, महान्यायाधिवक्ता जेम्सका अनुसार गेन्ड्रोनले एआर–१५ शैलीको राइफलबाट उक्त लक सजिलै हटाएर उच्च क्षमताका म्यागजिन प्रयोग गर्न सफल भएका थिए। कम्पनीले आफ्नो उत्पादनको प्याकेजिङमा लक हटाउने तरिका चरणबद्ध रूपमा उल्लेख गरेको आरोप पनि लगाइएको छ।

पीडित परिवारका केही सदस्यहरूले यो सहमतिलाई सकारात्मक कदम भनेका छन्। आफ्नी ७७ वर्षीया आमा पर्ल यङलाई गुमाएकी पामेला प्रिचेटले भनिन्, “कुनै पनि व्यक्ति पसलमा पसेर दुई मिनेटमै समुदाय र परिवारमा यति ठूलो क्षति पुर्‍याउन सक्ने हुनु हुँदैन।”

पर्ल यङ कक्षा सञ्चालन गर्ने शिक्षिका तथा खाद्य बैंक चलाउने सामाजिक कार्यकर्ता थिइन्।

‘एभरीटाउन ल’ नामक संस्थाले जारी गरेको वक्तव्यअनुसार भिन्टेज फायरआर्म्स स्थायी रूपमा बन्द भएको छ। यसको मालिकले भविष्यमा संघीय बन्दुक लाइसेन्स नलिने सहमति गरेका छन्। गेन्ड्रोनका अभिभावकसँग भएको क्षतिपूर्ति सम्झौताको विवरण भने गोप्य राखिएको जनाइएको छ।

अधिकारीहरूका अनुसार श्वेत जातिका गेन्ड्रोनले अश्वेत बहुल क्षेत्रमा रहेको सुपरमार्केटलाई लक्षित गरी आक्रमण गरेका थिए। आक्रमणमा ३२ देखि ८६ वर्ष उमेर समूहका १० जनाको ज्यान गएको थियो।

गेन्ड्रोनले सन् २०२२ नोभेम्बरमा हत्या लगायतका राज्यस्तरीय अभियोगमा दोष स्वीकार गरेका थिए। अमेरिकी न्याय मन्त्रालयले उनीविरुद्ध मृत्युदण्डको माग गर्ने जनाएको छ।





Source link

Leave a Comment