नर्वेको राजसंस्था विवादमा: राजकुमारी एप्स्टिन प्रकरणमा जोडिइन्, छोरा पक्राउ



प्रकाशित मिति : माघ १९, २०८२ सोमबार

नर्वेको राजसंस्था विवादमा: राजकुमारी एप्स्टिन प्रकरणमा जोडिइन्, छोरा पक्राउ

नर्वेकी क्राउन प्रिन्सेस अर्थात् राजकुमारी मेटे–मारिटका छोरा म्यारियस बोर्ग होइबी पक्राउ परेका छन्। म्यारियस बोर्ग होइबीलाई आक्रमणको आशंकामा प्रहरीले पक्राउ गरेको हो।

ओस्लोमा मंगलबार सुरु हुन लागेको मुद्दाअघि उनलाई चार हप्ताका लागि प्रहरी हिरासतमा राखिएको हो। उनीविरुद्ध चार महिलामाथि बलात्कार गरेको आरोपसहित कुल ३८ वटा अभियोग लगाइएको छ।

२७ वर्षीय होइबीमाथि पछिल्लो आरोपमा चक्कु प्रयोग गरेको, निषेधाज्ञा उल्लङ्घन गरेको तथा पुनः अपराध दोहोरिने जोखिम रहेको भन्दै प्रहरीले हिरासतको माग गरेको थियो।

पछिल्ला १८ महिनामा उनी चौथो पटक प्रहरी नियन्त्रणमा परेका हुन्। सन् २०२४ को अगस्टमा उनले सम्बन्धमा रहेकी एक महिलामाथि आक्रमण गरेको आरोप लागेपछि पहिलो पटक पक्राउ परेका थिए।

होइबीले सबैभन्दा गम्भीर आरोप अस्वीकार गरेका छन् भने केही साना आरोपहरू स्वीकार गरेका छन्। यो घटना नर्वेको राजपरिवारमाथि थप विवादको रूपमा देखिएको छ।

यसैबीचमा क्राउन प्रिन्सेस मेटे–मारिटले सन् २०११ देखि २०१४ सम्म मृत यौन अपराधी जेफ्री एप्स्टिनसँग तीन वर्षसम्म पत्राचार गरेको तथ्य सार्वजनिक भएको छ।

उनले यसलाई “गलत निर्णय” भनेकी छन् र एप्स्टिनका पीडितहरूप्रति “गहिरो सहानुभूति” व्यक्त गरेकी छन्। उनले एप्स्टिनसँगको सम्पर्क “लाजमर्दो” भएको स्वीकार गरेकी छन्। उनी एप्स्टिन उपस्थित नभएको बेला फ्लोरिडास्थित उनको घरमा चार रात बसेको बताइएको छ।

नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेले पनि क्राउन प्रिन्सेसले “गलत निर्णय” गरेको कुरामा सहमति जनाएका छन्। प्रधानमन्त्रीको यस्तो अप्रत्यक्ष आलोचना नर्वेमा असामान्य मानिन्छ।

विश्लेषकहरूका अनुसार, म्यारियस बोर्ग होइबी कानुनी रूपमा राजपरिवारका सदस्य नभए पनि उनी क्राउन प्रिन्स हाकोनका सौतेनी छोरा भएकाले यो मुद्दाले राजसंस्थालाई प्रत्यक्ष असर पारेको छ।

मेटे–मारिट नर्वेकी भावी रानी हुन् र रेड क्रससहित विभिन्न संस्थाको संरक्षकको भूमिका निर्वाह गर्दै आएकी छन्। उनी हाल पल्मोनरी फाइब्रोसिस नामक गम्भीर फोक्सोको रोगबाट पीडित छिन् र चिकित्सकहरूले उनलाई फोक्सो प्रत्यारोपणको सूचीमा राख्ने तयारी गरिरहेका छन्।





Source link

Leave a Comment