विवादास्पद यौन प्रकरण: पूर्व राष्ट्रपति क्लिन्टन दम्पती संसदीय छानबिन समितिलाई बयान दिन तयार



प्रकाशित मिति : माघ १९, २०८२ सोमबार

विवादास्पद यौन प्रकरण: पूर्व राष्ट्रपति क्लिन्टन दम्पती संसदीय छानबिन समितिलाई बयान दिन तयार

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले जेफ्री एप्स्टिनसम्बन्धी कंग्रेसको छानबिन समितिमा बयान दिन सहमति जनाएका छन्।

बिल क्लिन्टनका पूर्व उप–प्रमुख सचिवले सामाजिक सञ्जालमा “पूर्व राष्ट्रपति र पूर्व विदेशमन्त्री समितिमा उपस्थित हुनुहुनेछ” भनी लेखेका छन्।

रिपब्लिकनको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिसभाले दुवै क्लिन्टनलाई कानुनी समनको अवहेलना गरेको आरोपमा ‘आपराधिक अवहेलना’ को कारबाही चलाउने विषयमा मतदानको तयारी गरिरहेका बेला यो सहमति जुटेको हो।

अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेका एप्स्टिनसम्बन्धी फाइलहरूमा बिल क्लिन्टनका तस्बिरहरू समावेश छन्। यद्यपि, डेमोक्र्याटिक पार्टीका पूर्व राष्ट्रपति क्लिन्टनले आफू कुनै पनि गलत कार्यमा संलग्न नभएको दाबी गर्दै आएका छन्।

संसदीय छानबिन समितिले बयान कहिले लिने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। तर, सन् १९८३ मा जेराल्ड फोर्डपछि कुनै पनि अमेरिकी पूर्व राष्ट्रपतिले संसदीय समितिमा बयान दिन लागेको यो पहिलो पटक हुनेछ।

रिपब्लिकनहरूको नेतृत्वमा रहेको प्रतिनिधिसभाको ओभरसाइट समितिले गत महिना क्लिन्टन दम्पतीलाई अवहेलना अभियोग लगाउने प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्तावलाई केही डेमोक्र्याट सांसदहरूले पनि समर्थन जनाएका थिए। समितिका अध्यक्ष जेम्स कोमरले त्यतिबेला “कानुनभन्दा माथि कोही पनि हुँदैन” भनेका थिए।

यसअघि क्लिन्टन दम्पतीका वकिलहरूले समनलाई “कार्यान्वयन गर्न नसकिने” बताएका थिए। एप्स्टिनसम्बन्धी आफूहरूसँग भएको “सीमित जानकारी” पहिले नै उपलब्ध गराइसकेको दाबी उनीहरूले गरेका थिए।

क्लिन्टन दम्पतीले यी कानुनी समनहरूलाई “राजनीतिक प्रतिस्पर्धीलाई लज्जित पार्ने प्रयास मात्र” भन्दै अस्वीकार गर्दै आएका थिए। उनीहरूका अनुसार डोनाल्ड ट्रम्पको निर्देशनमा आफूहरूलाई बयानका लागि बोलाइएको हो।

यद्यपि, एप्स्टिनका पीडितहरूले बिल क्लिन्टनमाथि हालसम्म कुनै पनि गलत कार्यको आरोप लगाएका छैनन्। क्लिन्टनले पनि एप्स्टिनका यौन अपराधबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन्।

न्याय मन्त्रालयले सार्वजनिक गरेका तस्बिरहरूमा बिल क्लिन्टन एप्स्टिनसँग र उनको निजी सम्पत्ति (घर) मा देखिएका छन्। ती तस्बिरहरू कंग्रेसले एप्स्टिनसम्बन्धी अनुसन्धान सामग्री सार्वजनिक गर्न कानुन पारित गरेपछि बाहिर आएका हुन्।

सार्वजनिक भएको एक तस्बिरमा क्लिन्टन पौडी पोखरीमा देखिएका छन् भने अर्को तस्बिरमा उनी ‘हट टब’ मा आराम गरिरहेको अवस्थामा देखिन्छन्।





Source link

Leave a Comment