अमेरिका र भारतबीच व्यापार सम्झौता: भारतले अमेरिकाको तेल किन्ने, आयात कर अब १८ प्रतिशत मात्रै



प्रकाशित मिति : माघ १९, २०८२ सोमबार

अमेरिका र भारतबीच व्यापार सम्झौता: भारतले अमेरिकाको तेल किन्ने, आयात कर अब १८ प्रतिशत मात्रै

अमेरिका र भारतबीच नयाँ व्यापार सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तामा यस सम्झौताको घोषणा गरिएको हो।

यस सम्झौताअनुसार, अमेरिकाले भारतबाट आयात हुने वस्तुहरूमा लाग्ने ट्यारिफ (भन्सार शुल्क) २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा सीमित गर्ने निर्णय गरेको छ।

राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै भारतले व्यापारिक अवरोधहरू (ट्यारिफ र गैर-ट्यारिफ बाधाहरू) हटाएर शून्यमा लैजाने तयारी गरेको उल्लेख गरेका छन्। उनले भारतले अबदेखि रुसबाट तेल खरिद नगर्ने प्रतिबद्धता जनाएको दाबी समेत गरेका छन्।

ट्रम्पका अनुसार उनीहरूबीचको टेलिफोन संवादमा व्यापारका साथै रुस-युक्रेन युद्ध र ऊर्जासम्बन्धी विषयमा पनि छलफल भएको थियो। उनले लेखेका छन्, “मोदीजी रुसबाट तेल किन्न छोड्न र अमेरिकाबाट धेरै तेल खरिद गर्न सहमत हुनुभएको छ।”

यसअघि अमेरिकाले भारतबाट आयात हुने वस्तुमा ५० प्रतिशतसम्म ट्यारिफ लगाएको थियो। जसमा २५ प्रतिशत सामान्य र बाँकी २५ प्रतिशत भारतले रुसबाट तेल किनेको भन्दै ‘अतिरिक्त शुल्क’ का रूपमा थपिएको थियो। नयाँ सम्झौतासँगै यी अतिरिक्त शुल्कहरू हटाइनेछन् र करको दरलाई १८ प्रतिशतमा झारिनेछ।

भारतीय प्रधानमन्त्री मोदीले यस सम्झौताप्रति खुसी व्यक्त गरेका छन्। उनले ट्रम्पलाई यो “सुन्दर घोषणा” का लागि धन्यवाद दिँदै ट्वीट गरेका छन्, “दुई ठूला लोकतान्त्रिक देशबीचको यो सहकार्यले जनतालाई फाइदा पुऱ्याउनेछ।”

यस सम्झौतामा भारतले अमेरिकाबाट ऊर्जा, प्रविधि, कृषि र कोइलाजन्य उत्पादनहरू खरिद गर्न ५०० अर्ब अमेरिकी डलरभन्दा बढीको प्रतिबद्धता जनाएको दाबी गरिएको छ।

यो घोषणा भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता भएको एक हप्ताभित्रै आएको हो। यसले अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धमा नयाँ ऊर्जा र रणनीतिक सहकार्य थपेको देखिन्छ।





Source link

Leave a Comment