प्रकाशित मिति : माघ १५, २०८२ बिहीबार

चिसो हावा, हिमपात र प्रतिकूल मौसमका बाबजुद पनि न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ को तेस्रो हप्ता श्रद्धा, समर्पण, समावेशिता र सामूहिक उत्तरदायित्वको ऐतिहासिक उदाहरणका रूपमा सम्पन्न भएको छ। रिजउड नेपाली समाजद्वारा नेपाली–अमेरिकन संघसंस्था, धार्मिक समूह, सामुदायिक अगुवा तथा विभिन्न मिडिया पार्टनरहरूको संयुक्त सहकार्यमा सञ्चालन भइरहेको महोत्सव फेब्रुअरी १, २०२६ सम्म चल्नेछ।

तेस्रो हप्ताको समापनसम्म रिजउडस्थित नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्र र दुर्गा मन्दिरको दीगो सञ्चालनका लागि २ लाख ७५ हजार डलरभन्दा बढी रकम पूर्णतः स्वेच्छिक सहयोगमार्फत संकलन भएको आयोजक समितिले जनाएको छ। दान कुनै प्रकारको दबाब वा आग्रहबिना श्रद्धा र आस्थाका आधारमा प्राप्त गरिएको स्पष्ट गरिएको छ।

तेस्रो हप्तासँगै तीन नयाँ समूह र परिवारहरू संस्थापक सिल्भर ट्रस्टीको रूपमा औपचारिक रुपमा जोडिएका छन् — धादिङ नेपाली समाज अमेरिका, नवराज के.सी./रमिला के.सी. परिवार, र बेन् श्रेष्ठ/श्रीजना श्रेष्ठ परिवार। यस्तै, निरन्तर योगदानका आधारमा अमर अधिकारी/बिनिता पाण्डे अधिकारी परिवारलाई संस्थापक गोल्डेन ट्रस्टीमा उन्नति दिइएको छ।

रिजउड नेपाली समाजले यी सबै योगदानकर्ताहरूलाई आभार व्यक्त गर्दै समावेशी, एकीकृत र सशक्त नेपाली डायस्पोरा निर्माणमा उनीहरूकाे भूमिकालाई सराहना गरेको छ। फेब्रुअरी १ सम्म इच्छुक नेपालीहरूलाई संस्थापक ट्रस्टीका रूपमा सहभागी हुन अनुरोध गरिएको छ।

वसन्त पञ्चमीको अवसरमा बाल कलाकारहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रममा मौलिकता, आत्मविश्वास र सिर्जनात्मकताको उत्कृष्ट झल्को देखिए। प्रस्तुति दिने बाल कलाकारहरूमा आरभी अधिकारी, आर्ग्य अधिकारी, अग्रता तिमिल्सिना, एन्जेला साह, इशानी ढकाल, इभा श्री पुडासैनी, इभाना घिमिरे, रश्मी गिरी, रिदिना पौडेल, रोआनिका बरतौला, सुबिना सापकोटा र सिम्रन अधिकारी थिए।
यस कार्यक्रमले सरस्वती पूजाको आध्यात्मिक महत्त्वलाई जीवन्त बनाउँदै धेरै अभिभावक र श्रद्धालुहरूलाई भावविभोर बनाएको थियो।

जनवरी २३ मा सम्पन्न कार्यक्रममा मधेशी एसोसिएसन इन अमेरिका का अध्यक्ष मनोज कुमार सिंह प्रमुख अतिथि रहँदा, संस्थाको स्थापना दिवस र १०औँ वार्षिकोत्सव पनि मनाइयो। यस अवसरमा मधेशी एसोसिएसन इन अमेरिका ले राम–सीता मूर्ति स्थापनाका लागि ६ हजार डलर सहायता प्रदान गरेको छ। अध्यक्ष सिंहले भने, “यो सहकार्य सिर्फ मधेशी समुदायको पहिचान होइन, सबै नेपाली समुदायबीच दीर्घकालीन विश्वास र एकताको प्रतीक हो।”

शनिबार, जनवरी २४ मा युवा कलाकार एन्जेला साहले भगवान शिव र देवी सतीको प्रेमकथा तथा बिछोडमा आधारित सांगीतिक–कथात्मक प्रस्तुति दिएकी थिइन्। उक्त प्रस्तुति अत्यन्त भावनात्मक र प्रभावशाली रहँदै उपस्थित भक्तजनहरूलाई गहिरो आध्यात्मिक अनुभवमा डुबाएको थियो।

कर्ता व्यवस्थापन संयोजक सुनिता भण्डारीका अनुसार तेस्रो हप्तासम्म ३०० भन्दा बढी भक्तजन वा परिवारहरूले यजमान बसेर प्रसाद र सेवा व्यवस्था गरेका थिए। उनीहरूको योगदानले नेपाली समुदायको सेवा–भाव र एकताको मौलिक उदाहरण प्रस्तुत गरेको आयोजक समितिको भनाइ छ।

मुख्य पुजारी तथा धार्मिक समन्वयकर्ता आचार्य दीपक खरेलले फेब्रुअरी १ (आइतबार) को दिन दुर्गा मन्दिरमा हुने पूर्णाहूति (हवन कर्म) मा सहभागी हुन आह्वान गर्दै भने, “व्रतको पूर्णाहूति नै आध्यात्मिक समर्पण र पाप नाशको प्रतीक हो। स्वस्थानी माताको प्रसाद प्राप्त गर्न यो कर्म अनिवार्य मानिन्छ।”

महोत्सव संयोजक अमित प्रताप शाहले कार्यक्रमको सफलतालाई नेपाली डायस्पोराको सामूहिक प्रयासको उपलब्धि भन्दै भने, “न्यूयोर्क स्वस्थानी महोत्सव केवल धार्मिक अनुष्ठान होइन — यो समुदाय निर्माण र संस्कृतिको दीर्घकालीन यात्राको सुरुवात हो।” उनका अनुसार फेब्रुअरी १ सम्म निरन्तर सञ्चालन हुने महोत्सवमा सबैलाई सक्रिय सहभागिता र सहयोगका लागि अनुरोध गरिएको छ।

यस वर्षको न्यूयोर्क स्वस्थानी महोत्सवले धर्म, संस्कृति, समावेशिता, एकता र सामुदायिक उत्तरदायित्वलाई एउटै साझा उद्देश्यका रूपमा जोड्दै नेपाली डायस्पोराको पहिचानलाई थप सुदृढ बनाएको छ। आयोजक समितिले सबै श्रेणीका सहभागी, दातादाता, ट्रस्टी, गुरुजन, स्वयंसेवक र संस्थाहरूलाई हार्दिक कृतज्ञता व्यक्त गरेको छ।