अमेरिका: मिनियापोलिस गोलीकाण्डका मृतकको पहिचान खुल्यो, सुरक्षा व्यवस्था कडा



प्रकाशित मिति : माघ १०, २०८२ शनिबार

अमेरिका: मिनियापोलिस गोलीकाण्डका मृतकको पहिचान खुल्यो, सुरक्षा व्यवस्था कडा

फोटो: एपी/रासस

अमेरिकाको मिनियापोलिसमा आप्रवासन अधिकारीको गोली लागेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ। परिवारका सदस्यहरूका अनुसार मृतक ३७ वर्षीय एलेक्स प्रेट्टी हुन्। उनी प्रेट्टी ‘भेटेरन्स एडमिनिस्ट्रेशन’मा सघन उपचार कक्ष (आईसीयू) नर्सका रूपमा कार्यरत थिए।

यसै महिनाको सुरुमा मिनियापोलिसमा संघीय आप्रवासन एजेन्टद्वारा रेनी गुडको हत्या भएपछि भएका विरोध प्रदर्शनहरूमा उनी सहभागी हुँदै आएका थिए। प्रहरीका अनुसार उनीसँग कानुनी रूपमा खरिद गरिएको बन्दुक थियो।

यद्यपि, घटनाको समयमा उनले उक्त बन्दुक बोकेका थिए वा थिएनन् भन्ने कुरा अझै यकिन हुन सकेको छैन। उनी मिनियापोलिस र समग्र अमेरिकामा ‘आइस’ (इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट) ले गरिरहेका गतिविधिहरूप्रति निकै आक्रोशित थिए।

परिवार र अधिकारीहरूको भनाइ एलेक्स प्रेट्टीका पिताका अनुसार करिब दुई हप्ताअघि छोरासँग कुराकानी भएको थियो। त्यस क्रममा छोराले प्रदर्शनका क्रममा आफूले “कुनै मूर्खतापूर्ण काम नगर्ने” बताएका थिए। अमेरिकी सीमा सुरक्षा (बोर्डर पेट्रोल) अधिकारीहरूले प्रेट्टीले बन्दुक देखाएको वा प्रयोग गर्न खोजेको बारे अहिलेसम्म केही स्पष्ट पारेका छैनन्।

यसैविच अमेरिकी महान्यायाधिवक्ता (यूएस अटर्नी जनरल) पाम बोन्डीले मिनेसोटामा “संघीय कानून कार्यान्वयनको सम्पूर्ण शक्ति परिचालित गरिएको” बताएकी छन्। उनले आफ्नो नेतृत्वमा रहेको न्याय मन्त्रालय (डिपार्टमेन्ट अफ जस्टिस) ले “सबै मोर्चामा कारबाही अघि बढाइरहेको” उल्लेख गरेकी हुन्।

बोन्डीका अनुसार यसै हप्ता मिनेसोटाका गभर्नर टिम वाल्ज, मिनेसोटाका महान्यायाधिवक्ता किथ एलिसन र मिनियापोलिसका मेयर जेकब फ्रेलाई संघीय ‘ग्रान्ड जुरी’मा हाजिर हुन आदेश पठाइएको छ।

यसअघि सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै महान्यायाधिवक्ता बोन्डीले मिनेसोटामा संघीय कानून कार्यान्वयन अधिकारीहरूले “सबैभन्दा खतरनाक अपराधीहरू” हटाउन वीरतापूर्वक काम गरिरहेको दाबी गरेकी थिइन्। उनले मिनेसोटाका नेताहरूले लागू गरेका “खतरनाक ‘स्याङ्क्चुअरी’ नीतिहरू” का कारण संघीय एजेन्टहरू त्यहाँ पुग्नुपर्ने अवस्था सिर्जना भएको आरोप समेत लगाएकी छन्।





Source link

Leave a Comment