न्युयोर्कसहित ५ राज्यलाई दिइने १० बिलियन डलरको बाल तथा परिवार सहायता रोक्का



प्रकाशित मिति : पुस २२, २०८२ बुधबार

न्युयोर्कसहित ५ राज्यलाई दिइने १० बिलियन डलरको बाल तथा परिवार सहायता रोक्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले न्युयोर्कसहित ५ राज्यमा बाल हेरचाह तथा पारिवारिक सहायता कार्यक्रमका लागि दिइँदै आएको १० बिलियन अमेरिकी डलर बराबरको संघीय अनुदान फ्रिज गर्ने बताएको छ। संघीय अनुदान फ्रिज गरिने राज्यहरुमा न्युयोर्कसहित क्यालिफोर्निया, कोलोराडो, इलिनोइस र मिनेसोटा रहेका छन् ।

अमेरिकी डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसका अनुसार राज्यद्वारा सञ्चालित केही कार्यक्रमहरूमा “व्यापक ठगी र दुरुपयोगको गम्भीर आशङ्का” देखिएकाले अनुदान अस्थायी रूपमा रोक्का गरिएको हो। यो निर्णयले चाइल्ड केयर एन्ड डेभलपमेन्ट फन्ड, अस्थायी रूपमा आवश्यकतामा परेका परिवारका लागि सहायता तथा सोसल सर्भिसेस ब्लक ग्रान्ट कार्यक्रम प्रभावित हुनेछन् ।

न्युयोर्ककी गभर्नर क्याथी होचुलले यस निर्णयको कडा आलोचना गर्दै यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएकी छन्। सामाजिक सञ्जाल एक्स एक्समा प्रतिक्रिया दिँदै उनले भनिन्, “ट्रम्पले ब्लू राज्यहरूमा बाल हेरचाहका लागि दिइने १० अर्ब डलरको अनुदान रोक्ने धम्की दिएर बालबालिका र परिवारहरूको जीवन झन् कठिन र महँगो बनाउने प्रयास गरिरहेका छन्। यो प्रतिशोधपूर्ण र क्रूर कदम हो । हामी यसविरुद्ध सम्पूर्ण शक्तिका साथ लड्नेछौँ।”

राज्य अधिकारीहरूका अनुसार संघीय अनुदान रोक्का भएमा न्युयोर्कका हजारौँ न्यून आय भएका परिवारहरू प्रत्यक्ष प्रभावित हुनेछन्। बाल हेरचाह सेवा, रोजगारीमा जाने आमाबाबुका लागि सहयोग तथा सामाजिक सुरक्षा कार्यक्रमहरूमा कटौती हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसले भने संघीय नियमको कडाइ र कार्यक्रमको पारदर्शिता कायम गर्न यो कदम चालिएको दाबी गरेको छ। डिपार्टमेन्टका डेपुटी सेक्रेटरी जिम ओ’निलका अनुसार संघीय स्रोतहरू कानुनी रूपमा र उद्देश्यअनुसार प्रयोग भइरहेको सुनिश्चित गर्नु सरकारको प्राथमिकता हो।

यसैबीच, न्युयोर्क राज्य सरकारले संघीय निर्णयविरुद्ध कानुनी र राजनीतिक दुवै तहमा लडाइँ लड्ने संकेत दिएको छ। गभर्नर होचुलले बालबालिका र कामकाजी परिवारहरूको हितमा संघीय अनुदान पुनःस्थापना गराउन सबै सम्भव कदम चालिने स्पष्ट पारेकी छन्।





Source link

Leave a Comment