ट्रम्पले ‘हामीलाई ग्रिनल्याण्ड चाहिन्छ’ भनेपछि प्रधानमन्त्री निल्सेनको चेतावनी – अब धेरै भयो



प्रकाशित मिति : पुस २०, २०८२ सोमबार

ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक निल्सेन । तस्वीर स्रोत : विकिपिडिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई आफ्नो नियन्त्रणमा लिन चाहेको दोहोर्‍याउँदै आएपछि ग्रिनल्याण्डका प्रधानमन्त्रीले “अब धेरै भयो” भन्दै स्पष्ट चेतावनी दिएका छन् । डेनमार्कको स्वायत्त क्षेत्र रहेको ग्रिनल्याण्डको विषयमा ट्रम्पले रक्षा आवश्यकताको नाममा अमेरिका लागि टापु आवश्यक रहेको बताएका थिए। आइतबार एक अन्तर्वार्तामा ट्रम्पले पुनः “हामीलाई ग्रिनल्याण्ड चाहिन्छ” भनेपछि विवाद चर्किएको हो।

डेनमार्कसहित युरोपेली मुलुकहरूले ग्रिनल्याण्डको भविष्य त्यहाँका जनताले नै निर्धारण गर्ने बताएका छन्। ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै धम्की, दबाब र विलयको भाषा मित्र राष्ट्रहरूबीच अस्वीकार्य भएको बताए। उनले विलयका कल्पनाहरू तुरुन्तै अन्त्य हुनुपर्ने स्पष्ट पारे।

बेलायती प्रधानमन्त्री कीयर स्टार्मरले पनि ग्रिनल्याण्ड र डेनमार्कले मात्र ग्रिनल्याण्डको भविष्य तय गर्ने अधिकार राख्ने बताएका छन्। जर्मनी, फ्रान्स तथा युरोपेली संघका अधिकारीहरूले समेत ग्रिनल्याण्डको सार्वभौमिकता र जनताको अधिकारको समर्थन जनाएका छन्।

डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले अमेरिकाको टिप्पणीको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएकी छन्। नर्डिक र बाल्टिक क्षेत्रका नेताहरूले डेनमार्क र ग्रिनल्याण्डको पक्षमा ऐक्यबद्धता व्यक्त गरेका छन्।

रणनीतिक रूपमा महत्वपूर्ण मानिने ग्रिनल्याण्ड अमेरिका–युरोप सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र भए पनि युरोपेली नेताहरूले बाह्य दबाबबिना त्यहाँका जनताले नै आफ्नो भविष्य निर्धारण गर्नुपर्नेमा जोड दिएका छन्।





Source link

Leave a Comment

Translate »