तिहार विशेष : घरमै बनाउन सकिन्छ, यस्ता मिष्ठान्न परिकार


News Summary

Generated by OK AI. Editorially reviewed.

  • तिहार, विवाह र छठजस्ता अवसरमा सेलरोटी, अनरसा, लखमरी, फिनी, खुर्मा र खजुरीजस्ता परम्परागत मिठाई बनाइने चलन छ।
  • सेलरोटी चामलको पिठो, घ्यू, चिनी र पानीको घोलबाट तातो तेल वा घ्यूमा गोलाकार पकाइन्छ।
  • लखमरी नेवार समुदायको विवाहमा सगुनका रूपमा दुलाहाको परिवारले दुलहीको परिवारलाई दिने परम्परागत मिठाई हो।

नेपाली चाडपर्व र मिठाईको सम्बन्ध निकै पुरानो छ । कुनै चाडपर्व विशेषमा बनाइने परिकारले त्यसको सांस्कृतिक र पारिवारिक महत्त्व पनि बोकेको हुन्छ ।

तिहारमा सेलरोटी र अनरसा, विवाहमा लखमरी त परम्परागत रूपमा विभिन्न अवसरमा बनाइने फिनी, खुर्मा र खजुरीजस्ता मिठाई नेपाली खानपानका अभिन्न हिस्सा हुन् ।

पछिल्लो समय बजारमा विभिन्न स्वाद र प्रकारका मिठाई उपलब्ध भए पनि परम्परागत मिठाईको आफ्नै स्वाद र विशेषता छ ।

यीमध्ये धेरै मिठाई घरमै पनि बनाउन सकिन्छन् । चामलको पिठो, घ्यू, चिनी, मैदा र विभिन्न मसलाको प्रयोगबाट तयार हुने यस्ता मिठाई बनाउन धेरै जटिल प्रक्रिया पनि अपनाउनुपर्दैन ।

जस्तो कि,

सेलरोटी

सेलरोटी नेपालीको लोकप्रिय परिकार हो । विशेषगरी तिहारमा यसको महत्त्व अझ बढी हुन्छ । अरु बेलामा नपाके पनि अधिकांशको घरमा यो बेलामा सेलरोटी पकाउने र आफन्त तथा छिमेकीलाई बाँड्ने चलन छ ।

चामलको पिठोमा घ्यू, चिनी र आवश्यकताअनुसार पानी मिसाएर लेसिलो घोल तयार पारिन्छ । त्यसपछि तातो तेल वा घ्यूमा गोलाकार आकारमा घोल खन्याएर पकाइन्छ । बाहिरबाट हल्का खैरो र भित्रबाट नरम हुने सेलरोटी घरमै सजिलै बनाउन सकिन्छ ।

अनरसा

अनरसा पनि तिहारमा बनाइने परम्परागत मिठाईमध्ये एक हो । सेलरोटीसँगै बनाइने यो परिकार चामलको पिठो र चिनीको प्रयोगबाट तयार गरिन्छ । तिहारमा मात्र नभई अन्य समयमा पनि अनरसा बनाएर खान सकिन्छ ।

यसका लागि चामलको पिठोमा चिनी मिसाएर नरम हुने गरी मुछिन्छ । त्यसपछि साना गोला बनाई हातले रोटीको आकार दिइन्छ । माथिबाट तिल लगाएर तातो घ्यू वा तेलमा खैरो रङ नआउन्जेल पकाइन्छ ।।

फिनी

फिनी मैदाको पिठो र घ्यूको प्रयोगबाट बनाइने परम्परागत रोटी हो । यसको पत्रैपत्र परेको बनावट र घ्यूको स्वाद विशेष हुन्छ । तिहार तथा अन्य चाडपर्वमा फिनी बनाएर खाने चलन छ ।

मैदाको पिठो मुछेर त्यसमा घ्यूको मिश्रण प्रयोग गरी विभिन्न तह बनाइन्छ । त्यसपछि आवश्यक आकारमा तयार पारेर पकाइन्छ । घ्यूको स्वाद मन पराउनेहरूका लागि फिनी मिठाई र रोटी दुवैको स्वाद दिने परिकार हो ।

खुर्मा रोटी

खुर्मा रोटी पनि तिहारमा बनाइने परम्परागत परिकार हो । चामलको पिठो, मैदा र घ्यूको प्रयोगबाट तयार पारिने यो मिठाई स्वादमा कुरकुरे हुन्छ ।

चामललाई मसिनो पिठो बनाएर त्यसमा मैदाको पिठो र आवश्यक सामग्री मिसाई मुछिन्छ । त्यसपछि सानो आकारमा काटेर वा विभिन्न बुट्टा दिएर तेलमा पकाइन्छ । चोखो परिकारका रूपमा पनि प्रयोग गरिने खुर्मा चाडपर्वमा विशेष रूपमा बनाइन्छ ।

खजुरी (ठेकुवा)

खजुरी, जसलाई ठेकुवा पनि भनिन्छ, घ्यू, चिनी र पिठो मुछेर बनाइने परम्परागत मिठाई हो । विशेषगरी तिहार र छठ पर्वमा यो मिठाई बनाउने चलन छ ।

यसका लागि पिठोमा घ्यू र चिनी मिसाएर मुछिन्छ । त्यसपछि सानो आकारमा बनाई हातले वा विशेष साँचोको सहायताले बुट्टा भरिन्छ । तातो तेलमा पकाएपछि खजुरी तयार हुन्छ । बजारमा यसको बुट्टा बनाउन प्रयोग हुने साँचो पनि सजिलै पाइन्छ ।

 





Source link

Translate »