News Summary
Generated by OK AI. Editorially reviewed.
- डा. बाबुराम भट्टराईले गोरखाको बूढीगण्डकी बाढीलाई भोटेकोशी र त्रिशूली महाविपत्तिको मिनि संस्करणजस्तो देखिएको बताए।
- आइतबार आरुघाट बजार, शान्तिबजारलगायत क्षेत्रमा पुगेर उनले पीडितको तत्काल व्यवस्थापन र दीर्घकालीन पुनर्स्थापनाका लागि पहल गर्न आग्रह गरे।
- उनले सामाजिक सञ्जालमार्फत तत्काल उद्धार, राहत, पुनर्स्थापना र बूढीगण्डकी करिडोरको एकीकृत विकासमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।
२५ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो देखिएको बताएका छन्। आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितहरूसँगको संवादपछि उनले यस्तो बताएका हुन्।
आइतबार डा. भट्टराईले बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायतका क्षेत्रको पुगेर स्थलगत अध्ययन गरेका थिए। सो क्रममा उनले गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा, प्रमुख जिल्ला अधिकारी, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, सडक विभागका महानिर्देशकलगायतका जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग छलफल गरेका थिए।
छलफलका क्रममा उनले पीडितहरूको तत्काल व्यवस्थापन र दीर्घकालीन पुनर्स्थापनाका लागि आवश्यक पहल गर्न आग्रह गरे।
आफ्नो अवलोकनको निष्कर्ष सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै डा. भट्टराईले विपद्को भयावह अवस्था चित्रण गरेका छन्। उनले लेखेका छन्, ‘शृंगी हिमाली चट्टानी पहिरोले बूढीगण्डकीको सहायक नदीको प्रवाह अवरुद्ध गरेर विस्फोटनपश्चात् तीव्र गतिमा चट्टान र लेदोसहित प्रवाहित हुँदा किनाराका पूरै बस्ती, पक्की पुल, झोलुङ्गे पुल, जलविद्युत् निर्माण संरचना आदि ठूलो मात्रामा बगाएको र पुरेको देखियो।’
उनले यस विपत्तिलाई गम्भीरतापूर्वक लिएर तत्काल उद्धार, राहत र पुनर्स्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बगाएका पक्की पुलहरूको पुनर्निर्माणसहित बूढीगण्डकी करिडोरको एकीकृत विकास र हिमाली क्षेत्रको वातावरणीय संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
विपद्पछिको पुनर्निर्माणलाई दीर्घकालीन आयोजनाहरूसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै डा. भट्टराईले भनेका छन्, ‘राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना र सामरिक महत्त्वको बेनीघाट–आरूघाट–रुइला भञ्ज्याङ सडक निर्माणसँग पनि यसलाई तालमेल मिलाएर अघि बढाइयोस्।’