प्रतीक्षित फिल्म ‘१२ गाउँ–२’को प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिम प्रचारप्रसारमा जोडतोडले जुटेको छ । त्यसो त यसको एक्सनप्रधान टिजरले धेरैको ध्यान खिचेको छ । त्यसमाथि समीर भट्ट भएपछि अरू के चाहियो ?
भनिहालौँ, यो फिल्म निर्माण र निर्देशन दुवै बिराज भट्टले गरेका हुन् । उनी स्वयं चल्तापुर्जा अभिनेता हुन् ।
केही समयअघि मात्र यसको पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको थियो । सुगम पोखरेलको स्वर रहेको गीतमा समीर भट्ट र कृशु शाहीलाई प्रेमिल भावमा प्रस्तुत गरिएको थियो । गीतमा समीरको ब्रेकडान्सले पनि चर्चा पाएको थियो ।
त्यसपछि सार्वजनिक ‘लालीगुराँस’ले ‘१२ गाउँ २’को प्रेमकथालाई अझ नजिकबाट देखायो । एक्सनले भरिएको टिजर हेरेपछि चलचित्रमा केवल द्वन्द्व र बदलाको कथा मात्रै होला कि भन्ने अनुमान भइरहेका बेला ‘लालीगुराँस’ले समीर र कृशुको प्रेमिल जोडीलाई केन्द्रमा राख्दै चलचित्रभित्रको रोमान्टिक पाटो पनि बलियो रहेको संकेत दियो ।
यही क्रमलाई अगाडि बढाउँदै बुधबार ‘रेशमी रुमाल’ सार्वजनिक भएको छ । गीतको भिडियोमा बिराज भट्ट र वर्षा इटानीको जोडीलाई केन्द्रमा राखिएको छ । ‘१२ गाउँ २’का अघिल्ला सामग्रीभन्दा फरक अनुभूति दिने प्रयास गीतमा देखिन्छ । चलचित्रलाई एक्सनको आवरणमा प्रस्तुत गरिए पनि यसको कथामा प्रेम र सम्बन्धको पाटो पनि महत्वपूर्ण रहेको संकेत गीतहरूले दिइरहेका छन् ।
विशेषगरी ‘रेशमी रुमाल’को प्रस्तुति हेर्दा निर्माण पक्षले चलचित्रका गीतलाई केवल प्रचार सामग्रीका रूपमा नभई कथाको भावनात्मक पक्षसँग जोड्ने प्रयास गरेको देखिन्छ ।
चलचित्रमा बिराज, समीर, कृशु र वर्षाका अलावा अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय छ । यही चलचित्रबाट कृशु शाही (काफिया) र वर्षा इटानीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।
दशैंको अवसरमा असोज ३० गते प्रदर्शनमा आउन लागेको ‘१२ गाउँ २’ले नेपाली फिल्मको ठूलो चाड मानिने दशैंमा दर्शक तान्न यही मिश्रणलाई आफ्नो प्रमुख हतियार बनाउने देखिन्छ ।
सिनेमामा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।