डा. सिंहले लिइन् बाढीमा बुबा र क्यान्सरले आमा गुमाएका दाजु–बहिनीको जिम्मा


९ असोज, जनकपुरधाम । रसुवाको बाढीमा बुबा र एक वर्षअघि क्यान्सरले आमा गुमाएका सप्तरीको राजविराज नगरपालिका–१६ का १५ वर्षीय सुभाष सदा र उनकी ८ वर्षीया बहिनी निभा सदाको लालनपालन तथा शिक्षाको जिम्मेवारी समाजसेवी डा. बबी सिंहले लिएकी छन् ।

सदा दाजु–बहिनीका बुबा बेचन सदा भदौ १० गते  रसुवाको बाढीमा बेपत्ता छन् । उनी त्यहाँ मजदुरी गर्न गएका थिए । यसअघि गत वर्ष कात्तिकमा आमा फुलिया देवीको क्यान्सरका कारण मृत्यु भएको थियो ।

१५ वर्षीय सुभाषले नै आफ्नो र बहिनीको हेरचाह गर्दै आएका छन् ।

विपन्न परिवारका उनीहरूलाई हेर्ने र पढाउने कोही नभएपछि डा. सिंहले दाजु–बहिनीको जिम्मेवारी लिने घोषणा गरेकी हुन् ।

शुक्रबार सुभाष र निभाको घर पुगेकी डा. सिंहले उनीहरूलाई आफूसँगै राखेर अध्ययन गराउने बताइन् ।

उनीहरू आफैंले आफ्नो निर्णय लिनसक्ने उमेरमा नपुगेसम्म लालनपालन, शिक्षादीक्षा तथा आवश्यक हेरचाहको जिम्मेवारी लिने उनले बताएकी छन् ।

आफन्त तथा अन्य व्यक्तिले दिएको सहयोगबाट दैनिक जीवनयापन गर्दै आएका दाजु–बहिनीले अब पढाइ र लालनपालनको जिम्मेवारीसमेत सुनिश्चित हुने भएपछि खुसी व्यक्त गरेका छन् ।





Source link

Translate »