गुटेरेसद्वारा एआई नियन्त्रणको आह्वानको स्वागत


६ असोज, न्युयोर्क (रासस/एएनआई) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीव्र गतिमा विकसित भइरहेको ‘फ्रन्टियर एआई’ मोडेललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानीअन्तर्गत राख्न फिनल्यान्ड र नर्वेले अघि सारेको पहलको स्वागत गर्नुभएको छ । उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेको नेतृत्वमा सुरु गरिएको पहलले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रलाई विद्यमान अन्तर्राष्ट्रिय संयन्त्रलाई सुदृढ गर्दै एआईका लागि मापदण्ड निर्धारण, प्रमाणीकरण तथा क्षमताको सीमा नाघेमा राष्ट्रहरूलाई एकै ठाउँमा ल्याउन सक्ने अन्तर्राष्ट्रिय संस्था निर्माणको सम्भावना खोज्न आग्रह गरेको छ ।

महासचिव गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत पहलको स्वागत गर्दै एआईसम्बन्धी संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले पहिलो विषयगत प्रतिवेदन सार्वजनिक गरेकोमा पनि स्वागत गरेका छन्। उनले फ्रन्टियर एआई प्रयोगशाला र सुरक्षा संस्थानलगायत बाह्य विशेषज्ञलाई प्यानलसँग सहकार्य गर्न आग्रह गरेका छन्।

पहलले एआई मानव निर्देशन, निगरानी र नियन्त्रणमा रहनुपर्ने तथा यसको विकास र प्रयोग अन्तर्राष्ट्रिय कानूनअनुसार हुनुपर्नेमा जोड दिएको छ । एआईले मानव जीवन सुधार, विज्ञानको विकास र अर्थतन्त्र सुदृढ गर्न योगदान पु-याउन सक्ने भए पनि यसको तीव्र विकासले उचित व्यवस्थापन हुन नसके सुरक्षा र संरक्षणमा गम्भीर जोखिम निम्त्याउन सक्ने उल्लेख गरेको छ ।

यसले एआई विकास गर्ने कम्पनीलाई अनिवार्य पूर्वप्रयोग परीक्षण र स्वतन्त्र मूल्याङ्कनसहित पारदर्शी सुरक्षा प्रणाली विकास गर्न तथा योग्य मूल्याङ्कनकर्तालाई जोखिम परीक्षणका लागि आवश्यक पहुँच दिन आग्रह गरेको छ । सरकार र क्षेत्रीय संस्थालाई साझा मापदण्ड विकास, गम्भीर सुरक्षा घटनाको प्रतिवेदन तथा वैज्ञानिक क्षमता र विश्वसनीय मूल्याङ्कनमा सबै मुलुकको पहुँच सुनिश्चित गर्न पनि आह्वान गरिएको छ ।

यस पहललाई अस्ट्रेलिया, क्यानाडा, जर्मनी, आयरल्यान्ड, नेदरल्यान्ड्स, सिङ्गापुर, स्पेन, दक्षिण अफ्रिका, टर्कीलगायत देशका नेतासहित युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले समर्थन जनाएका छन्।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा एआई प्रमुख छलफलको विषय बनेको छ । सेप्टेम्बर १६ मा महासचिव गुटेरेसले एआई, जलवायु सङ्कट र गहिरिँदो असमानतालाई मानवतासामु रहेका तीन अस्तित्वगत खतराका रूपमा उल्लेख गरेका थिए।  उनले स्वास्थ्य, शिक्षा र जलवायुसहितका क्षेत्रमा एआईको ठूलो सम्भावना रहे पनि यसको विकास मानवको जोखिमसम्बन्धी बुझाइभन्दा तीव्र भइरहेको बताएका थिए।

सरकारले आफ्ना नागरिकलाई एआईको जोखिमबाट जोगाउनुपर्ने उल्लेख गर्दै उनले विश्वव्यापी सहकार्य अपरिहार्य रहेको बताएका छन्। उनले एआईलाई सुरक्षित, पारदर्शी र जवाफदेही बनाउन मानवीय मर्यादालाई केन्द्रमा राख्ने सुरक्षा व्यवस्था आवश्यक रहेकोमा जोड दिएका छन्।

संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले सेप्टेम्बर २१ मा एआई एजेन्ट, असङ्गति र मानवीय नियन्त्रण गुम्ने जोखिमसम्बन्धी पहिलो विषयगत प्रतिवेदन सार्वजनिक गरेको हो ।

महासचिव गुटेरेसले मङ्गलबार महासभामा आफ्नो अन्तिम सम्बोधन गर्ने कार्यक्रम छ । उनको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदैछ । ८१औँ महासभाको मूल विषय ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसङ्घ’ रहेको छ ।





Source link

Translate »