News Summary
Generated by OK AI. Editorially reviewed.
- १४औँ दक्षिण एसियाली खेलकुद २०२७ को तयारीसम्बन्धी बैठकमा सहभागी हुन एनओसी र राखेपको प्रतिनिधिमण्डल शुक्रबार पाकिस्तान प्रस्थान गरेको छ।
- अगस्ट २३ र २४ गते इस्लामाबादमा हुने बैठकमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य र राखेप सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी हुनेछन्।
- बैठकमा पाकिस्तानले आयोजना गर्ने १४औँ सागको तयारी, प्रतियोगिता सञ्चालन र अन्य महत्वपूर्ण एजेन्डामा छलफल हुने एनओसीले जनाएको छ।
५ भदौ, काठमाडौं । १४औँ दक्षिण एसियाली खेलकुद (साग) २०२७ को तयारीसम्बन्धी दक्षिण एसिया ओलम्पिक काउन्सिलको केन्द्रीय समिति बैठकमा सहभागी हुन नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रतिनिधिमण्डल शुक्रबार पाकिस्तान प्रस्थान गरेको छ ।
पाकिस्तानको इस्लामाबादमा अगस्ट २३ र २४ गते हुने बैठकमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य तथा राखेप सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी हुनेछन् । अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष राजवैद्यले नेपाल ओलम्पिक कमिटी तथा सिक्का सुवाल श्रेष्ठले नेपाल सरकारको प्रतिनिधित्व गर्नेछन् ।
बैठकमा पाकिस्तानले आयोजना गर्ने १४औं सागको तयारी, प्रतियोगिता सञ्चालन तथा अन्य महत्वपूर्ण एजेन्डामाथि छलफल हुने एनओसीले जनाएको छ ।
सन् २०१९ मा काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न १३औं सागपछि दक्षिण एसियाको सबैभन्दा ठूलो बहुराष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको छैन । दक्षिण एसियाली खेलकुदको पहिलो संस्करण भने सन् १९८४ मा नेपालमै आयोजना गरिएको थियो ।
पाकिस्तान प्रस्थान गरेको नेपाली प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनओसीका कार्यवाहक अध्यक्ष अशोकरत्न बज्राचार्य र महासचिव राजीव श्रेष्ठले बिदाइ गरेका थिए ।