News Summary
Generated by OK AI. Editorially reviewed.
- सांसद रेनुका काउचाले छनोट भएको नेपाली पब्जी टोलीलाई तत्काल एसियाडमा सहभागी गराउने वातावरण मिलाउन प्रतिनिधिसभामा माग गरिन् ।
- उनले राखेपको एसियाड सूचीबाट पब्जी टोली हटाउने निर्णयले स्तब्ध बनाएको भन्दै प्रशासनिक खिचातानी र ईस्पोट्स संघ विवादको आलोचना गरिन् ।
- काउचाले खेलाडीहरू अदालतको ढोका ढकढक्याउन बाध्य भएको भन्दै खेलकुद मन्त्रालय र राखेपको ध्यानाकर्षण गराइन् ।
२ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्य रेनुका काउचाले छनोट भएको पब्जी टोलीलाई तत्काल एसियाडमा सहभागी गराउने वातावरण मिलाउन माग गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद काउचाले देशको सम्मानमाथि खेलवाड गर्न नपाइने बताएकी हुन् ।
‘युवाहरुको मिहिनेत, पसिना र देशको सम्मानमाथि यसरी खेलवाड गर्न पाइँदैन । छनोट भएको पब्जी टोलीलाई तत्काल एसियाडमा सहभागी गराउने वातावरण मिलाइयोस्’ उनले भनिन् ।
पब्जीलाई एसियाडबाट हटाउने गरी राखेपले गरेको निर्णयले स्तब्ध बनाएको सांसद काउचाले सुनाइन् । उनले भनिन्, ‘मुलुकमा युवा प्रधानमन्त्री हुनुहुन्छ । युवा शिक्षामन्त्री हुनुहुन्छ । तर विडम्बना युवा खेलाडीहरु प्रशासनिक झमेलामा छन् । नेपाली पब्जी टोलीले भियतनाममा भएको छनोट प्रतियोगिता सफलतापूर्वक पार गरेर २०औं एसियाडमा आफ्नो स्थान सुरक्षित गरिसकेको अवस्थामा एसियाडको सूचीबाट हटाउने राखेपको पछिल्लो निर्णयले स्तब्ध बनाएको छ ।’
प्रशासनिक खिचातानी, दुईवटा ईस्पोट्स संघको विवाद र खेलकुद निकायहरुको गैरजिम्मेवार नीतिका कारण अदालतको ढोका ढकढक्याउनु अत्यन्त दुखद सांसद काउचको भनाइ छ ।
‘अघिल्लो संस्करणमा पदक नजिक पुगेर इतिहास रचेका र यसपटक देशका लागि पदक जित्ने दृढ संकल्पका साथ दिनरात अभ्यासमा जुटेका हाम्रा होनहार युवा खेलाडीहरु आज प्रशासनिक खिचातानी, दुईवटा ईस्पोट्स संघको विवाद र खेलकुद निकायहरुको गैह्रजिम्मेवार नीतिका कारण अदालतको ढोका ढकढक्याउनु अत्यन्त दुखपूर्ण छ,’ उनले भनिन्, ‘यस संसदमार्फत खेलकुद मन्त्रालय र राखेपको ध्यानाकर्षण गराउन चाहन्छु ।’