बीपी, गणेशमानहरूलाई कसैको घरभित्र कैद गर्न दिनुहुँदैन : गगन थापा


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै निश्चित परिवार वा सीमित समूहभित्र मात्र कैद गर्न नहुने बताए।
  • थापाले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने र विचारको अपव्याख्या गर्ने प्रवृत्तिको कडा आलोचना गरे।
  • बीपीका अनुयायीले उनको विचारको सही व्याख्या गर्दै नयाँ पुस्तालाई यथार्थ जानकारी गराउनुपर्नेमा थापाले जोड दिए।

३१ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला, गणेशमान सिंह जस्ता नेताहरूलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र कैद गर्न नहुने बताएका छन्।

पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने र आफ्नो राजनीतिक आवश्यकता पर्दा मात्रै उनको नाम प्रयोग गर्ने प्रवृत्ति कांग्रेसभित्रै बढेको भन्दै थापाले असन्तुष्टि व्यक्त गरेका हुन्।

आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले नेताहरूले आफ्ना राजनीतिक निर्णय आफैँ गर्न नसकेर बीपीको नामको सहारा खोज्ने गरेको आरोप लगाए।

आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसंग जोडेर बीपीलाई ढाल बनाउने प्रवृत्तिले बीपीको वास्तविक विचारलाई कमजोर बनाउने उनको भनाइ थियो।

‘पछिल्लो समयको हाम्रो परम्परा आफूलाई जहाँनिर चाहिन्छ, बीपी कोइरालालाई त्यहाँनिर प्रयोग गर्ने। म अहिले पनि हेरिरहेको छु, सुनिरहेको छु, ठाउँ–ठाउँमा भएका छलफलहरूमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले एकदम व्यापक आइरहेको छ,’ आफ्नै पार्टीका नेताहरूप्रति लक्षित गर्दै थापाले भने ।

थापाले थपे, ‘नेताहरूले फेरि रातारात बीपीलाई सम्झनुभएको छ। रातारात बीपीलाई सम्झिँदा यस्तो ट्रान्ज्याक्सन यहाँभित्रको अहिले के गर्नु परेको छ, कोसँग मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु परेको छ, आफैँ आएर भन्ने हिम्मत छैन। त्यो हिम्मत नभएपछि कसलाई सम्झने भन्दा बीपीलाई सम्झने।’

थापाले बीपी र गणेशमानलाई निजीकरण गर्न नहुनेमा जोड दिए। ‘धेरै प्राइभेटाइज गर्न दिनुहुन्न, बीपी कोइराला वा गणेशमानलाई कसैले यो घरभित्र कैद गर्न दिनुहुन्न,’ थापाले भने।

आज बीपीको अपव्याख्या भइरहेको भन्दै थापाले बीपीको आह्वानमा आन्दोलनमा होमिएका धर्म गौतमजस्ता पुराना पुस्ताका अभियन्ताहरूले वास्तविकता बुझाउनुपर्ने बताए। नयाँ पुस्तासँग बीपीसँगको प्रत्यक्ष अनुभव नभएकाले कहिलेकाहीँ कसैले गलत कुरालाई पनि ‘बीपीले यसो भन्नुभएको थियो’ भन्दा पत्याउनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे।

‘हामीसँग त्यो आधिकारिकता हुँदैन, कहिलेकाहीँ कुराकानी गर्न ३ जना बस्यो भने बीपीले यसो भन्नुभएको थियो भन्नुहुन्छ, अब कहीँ पढेको पनि छैन, सुनेको पनि छैन, भन्नुभएको छ भनेपछि ‘हो कि’ भन्नुपर्‍यो। त्यसैले साँच्चिकै त्यो बेलामा जो अभियन्ताहरू थिए, उहाँहरूले बीपीको बारेमा भनिदिनुपर्छ,’ उनले भने।

बीपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको चर्चा गर्दै थापाले लोकतन्त्र र सामाजिक न्यायप्रतिको उनको मूल प्रतिबद्धता कहिल्यै परिवर्तन नभएको बताए। बीपीका आर्थिक विकास, उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगसम्बन्धी धारणालाई अहिलेको विकास बहस र कृत्रिम बुद्धिमत्ताको सन्दर्भसँग समेत जोडेर अध्ययन गर्न सकिने उनले स्पष्ट पारे।





Source link

Translate »