सङ्खुवासभामा ग्याँस लिन नागरिकता वा परिचयपत्र अनिवार्य


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सङ्खुवासभा प्रशासनले खाना पकाउने एलपी ग्याँस अधिकृत बिक्रेतामार्फत मात्रै बिक्री वितरण गर्नुपर्ने निर्णय गरेको छ ।
  • ग्याँस बिक्रेताले तोकिएको मूल्यभन्दा बढी नहुने गरी बिक्री गर्नुपर्ने र ग्राहकको परिचय खुल्ने कागजातसहित अद्यावधिक अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।
  • खाँदबारीमा ग्याँसको कृत्रिम अभाव र कालोबजारी बढेपछि प्रशासनले नियमन कडा पार्दै प्रहरीले एक व्यापारीविरुद्ध कालोबजारीसम्बन्धी मुद्दा चलाएको छ ।

२८ साउन, सङ्खुवासभा । सङ्खुवासभामा खाना पकाउने एलपी ग्याँस अधिकृत बिक्रेतामार्फत मात्रै बिक्री गर्नुपर्ने निर्णय गरिएको छ । आपूर्ति तथा बिक्री वितरणलाई सहज र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा उद्योग वाणिज्य संघ,ग्याँस बिक्रेतासँग बसेको बैठकले जिल्लामा एलपी ग्याँसको आपूर्ति तथा बिक्री वितरणलाई व्यवस्थित गर्ने उद्देश्यले विभिन्न निर्णय गरेको हो ।

बैठकले ग्याँस बिक्री गर्न आधिकारिक अनुमति पत्र प्राप्त गरेका अधिकृत बिक्रेताले मात्र खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्नुपर्ने निर्णय गरेको छ । यसबाट अनधिकृत रूपमा ग्याँस बिक्री गर्ने तथा आपूर्ति प्रणालीमा देखिन सक्ने समस्या नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ग्याँस बिक्रेताले ग्राहकलाई तोकिएको मूल्यभन्दा बढी नहुने गरी ग्याँस बिक्री गर्ने र ग्याँस बिक्री गर्दा ग्राहकको नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने कागजातको प्रतिलिपिसहित कसलाई, कति ग्याँस बिक्री गरिएको हो भन्ने विवरण खुल्ने गरी अद्यावधिक अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

बैठकले एलपी ग्याँसको बिक्री वितरणमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना हुन नदिनसमेत बिक्रेतालाई निर्देशन दिएको छ । बिक्री वितरण गर्दा सर्वसाधारण उपभोक्तालाई प्राथमिकता दिने व्यवस्था मिलाउनुपर्ने निर्णय पनि गरिएको छ ।

ग्याँसको आपूर्ति र बिक्री वितरणमा देखिन सक्ने अनियमितता नियन्त्रण गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले बैठकबाट यी निर्णय गरिएको जनाइएको छ ।

सदरमुकाम खाँदबारीमा केही दिनयता खाना पकाउने एलपी ग्याँसको अभाव देखिएको छ । सहज रूपमा ग्यास उपलब्ध हुन नसक्दा उपभोक्ताले घण्टौं लाइन बस्नुपर्ने, महँगो मूल्य तिर्नुपर्ने र रित्तो सिलिण्डर बोकेर घर फर्किनुपर्ने अवस्था सिर्जना भएको छ ।

खाँदबारी बजारमा एलपी ग्याँसका सातवटा डिलर रहेका छन् । तर, पछिल्लो समय ती डिलरमा ग्याँस लिन पुग्ने अधिकांश उपभोक्ताले सहज रूपमा ग्याँस पाउन सकेका छैनन् ।

सरकारले बजारमा ग्यासको आपूर्ति सहज रहेको दाबी गरे पनि खाँदबारीका उपभोक्ताले भने त्यसको ठीक विपरीत समस्या भोगिरहेका छन् । सरकारले निर्धारण गरेको मूल्यअनुसार एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य २ हजार १५० रुपैयाँ रहेको छ । तर, खाँदबारीका उपभोक्ताले भने ग्याँस पाउनकै लागि प्रतिसिलिण्डर २ हजार ३ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन् ।

ग्याँस अभावका कारण दैनिक खाना पकाउनेदेखि होटल तथा चिया पसल सञ्चालनसम्म प्रभावित हुन थालेको स्थानीय व्यवसायीहरू बताउँछन् । नियमित रूपमा ग्याँस प्रयोग गर्ने परिवार तथा व्यवसायीहरूलाई सबैभन्दा बढी समस्या परेको छ ।

अभावकै बीच ग्याँसको मूल्यमा मनपरी भएको गुनासोसमेत बढेको छ । उपभोक्ताबाट लगातार गुनासो आउन थालेपछि प्रहरीले एक व्यापारीविरुद्ध महँगो मूल्यमा ग्याँस बिक्री गरेको आरोपमा कालोबजारीसम्बन्धी मुद्दा चलाएको जनाएको छ ।





Source link

Translate »