‘युवाको प्रभावशाली उपस्थितिलाई विचार र कार्यशैलीको नवीकरणका रूपमा विकास गर्नुपर्छ’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अनलाइनखबरद्वारा आयोजित ‘४० मुनिका ४०’ कार्यक्रममा युवाहरूलाई सम्मान गर्नुभएको छ ।
  • राष्ट्रपति पौडेलले युवाहरूलाई प्रविधिको प्रयोगमा विवेक पुर्‍याउन र राष्ट्र निर्माणको बृहत् सपनालाई आत्मसाथ गर्दै अघि बढ्न विशेष आग्रह गर्नुभएको छ ।
  • कार्यक्रममा पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र पत्रकारिता र तथ्यमा आधारित बहसको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभएको छ ।

अनलाइनखबरका अध्यक्षज्यू,

यहाँ उपस्थित विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरू,

‘४० मुनिका ४०’ मा छनोट हुनुभएका प्रिय युवा तथा

उपस्थित सम्पूर्ण महानुभावहरू

सबैभन्दा पहिले, अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपालभित्र र संसारभर रहेका सम्पूर्ण नेपाली युवालाई हार्दिक शुभकामना व्यक्त गर्दछु । आज म यहाँ ४० जना युवालाई सम्मान गर्न मात्र उपस्थित भएको छैन । नेपालको भविष्य कस्तो हुन सक्छ भन्ने ४० वटा सम्भावनालाई नजिकबाट हेर्न र सुन्न आएको छु ।

अनलाइनखबरले निरन्तर रूपमा ‘४० मुनिका ४०’ मार्फत विभिन्न भूगोल, समुदाय र क्षेत्रमा काम गरिरहेका युवाको खोजी, अभिलेखीकरण र सम्मान गर्दै आएको छ । यस प्रयासका लागि म अनलाइनखबर परिवारलाई धन्यवाद दिन चाहन्छु । म स्वयं पनि अनलाइनखबरको पाठक हुँ । समाचार, विचार र अन्तर्वार्ता प्रस्तुत गर्ने नियमित पत्रकारितासँगै समाजभित्र चुपचाप भइरहेका सकारात्मक प्रयत्नलाई खोजेर सार्वजनिक बहसमा ल्याउनु पनि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हो । आज यहाँ सम्मानित युवाहरूका कथा पढ्दा एउटा कुरा स्पष्ट देखिन्छ– परिवर्तनका लागि सधैं ठूलो पद, ठूलो शक्ति वा ठूलो पूँजी चाहिँदैन । ठूलो सोच, स्पष्ट उद्देश्य र निरन्तर कर्म पनि पर्याप्त हुन सक्छ ।

प्रिय युवाहरू !

तपाईंहरू भोलिको मात्र होइन आजकै साझेदार, सर्जक र परिवर्तनकर्ता हुनुहुन्छ । हामीले युवालाई ‘देशको भविष्य’ भनेर मात्रै पुग्दैन । आजको अर्थतन्त्र, राजनीति, प्रविधि, संस्कृति, अनुसन्धान र सार्वजनिक बहसमा युवाको उपस्थिति अहिले नै आवश्यक छ भन्ने म ठान्दछु ।  नयाँ पुस्तासँग ऊर्जा छ, प्रविधि छ, संसारसँग प्रत्यक्ष सम्पर्क छ । तर त्योभन्दा महत्वपूर्ण कुरा—प्रश्न गर्ने साहस छ । लोकतन्त्रलाई प्राण दिने भनेकै शासनसँंग प्रश्न गर्ने नागरिकको सामर्थ्यले हो । त्यो प्रश्न विवेकसम्मत चाँही हुनैपर्दछ ।

अर्थतन्त्रलाई नयाँ विचार दिने युवा चाहिन्छ । विज्ञानलाई जिज्ञासु युवा चाहिन्छ । समाजलाई विभेद स्वीकार नगर्ने युवा चाहिन्छ । र, राष्ट्र निर्माणको लागि पुर्खाको गौरवपूर्ण इतिहासको सम्मान गर्दै अनुभवहरूबाट सिकेर अघि बढ्ने युवा चाहिन्छ ।

म आज यहाँ उपस्थित युवालाई एउटा आग्रह गर्न चाहन्छु प्रविधि प्रयोग गर्नुहोस्, तर विवेकलाई प्रविधिको जिम्मा नछोड्नुुहोस् । विश्वसँग प्रतिस्पर्धा गर्नुहोस्, तर आफ्नो समाजसँगको सम्बन्ध कहिल्यै नतोड्नुहोस् । देशलाई तपाईंहरूको प्रतिभा मात्र होइन, तपाईंहरूको इमान्दारी पनि चाहिएको छ । आजको सूचीमा ४० जना हुनुहुन्छ । तर नेपालको सम्भावना ४० नाममा सीमित छैन । देशका गाउँ, शहर, विश्वविद्यालय, प्रयोगशाला, स्टार्टअप, खेत, अस्पताल, खेलमैदान, स्टुडियो र विदेशका विभिन्न कुनामा हजारौं नेपाली युवा चुपचाप काम गरिरहेका छन् ।  आज यहाँ नाम नआएका ती सम्पूर्ण युवाको योगदान पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले यस्ता पारदर्शी, समावेशी र विविधताको मर्म अनुरूपका छनोट विधिले अवसर नपाएका, मूलप्रवाहको नजर नपुगेका र सीमित स्रोतबीच उल्लेखनीय काम गरिरहेका युवासम्म दृष्टि पुर्‍याउनेछ नै । यस प्रक्रियामा सहभागी निर्णायक मण्डल तथा सम्पूर्ण टोलीलाई पनि धन्यवाद दिन चाहन्छु ।

प्रिय युवाहरू, पछिल्ला वर्षहरूमा नेपालको सामाजिक र राजनीतिक बहसमा युवा पुस्ताको आवाज अझ स्पष्ट र प्रभावशाली रूपमा सुनिन थालेको छ । यो उपस्थितिलाई पुस्तान्तरणका रुपममा मात्रै होइन विचार र कार्यशैलीको नवीकरणका रूपमा पनि विकास गर्न सक्नुपर्दछ ।

नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर हो । यहाँ फरक मतहरू स्वतन्त्र रूपमा फुल्न पाउनुपर्छ । असहमति लोकतन्त्रको कमजोरी होइन; जिम्मेवार असहमति लोकतन्त्रको शक्ति हो । यहि शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो लक्ष्यमा पुर्‍याउँंछ भन्ने मेरो बुझाई छ ।

हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको छ । स्वतन्त्र, निष्पक्ष र सत्यमा आधारित पत्रकारिता, तथ्यमा आधारित बहस र प्रश्न गर्न सक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त राख्छ । र, लोकतन्त्रबिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव छैन भन्ने पनि हामीले बिर्सन हुन्न । राज्यका सबै अंगले यसको मर्मलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ भन्ने म ठान्दछु । यही दर्शनका लागि संघर्ष गर्दागर्दै मैले आफ्नो जीवनको महत्वपूर्ण समय बिताएको म स्मरण गर्न चाहन्छु ।

त्यस्तै, प्रविधिको विकाससँंगै सूचना प्रवाहको प्रतिस्पर्धा गर्ने तिब्र होडबाजीले जनतालाई मिथ्या सूचना संप्रेषण गरेर दिग्भ्रमित पार्ने चुनौति देखिएको छ । अनलाइनखबरजस्ता जिम्मेवार सञ्चारमाध्यमहरूलाई यस्तो चुनौतिको सामना गरेर जनतासम्म सही सूचना पुर्‍याउने सफलता प्राप्त होस् भन्ने पनि यो अवसरमा म शुभकामना दिन चाहन्छु ।

अन्त्यमा, आज सम्मानित सबै युवालाई हार्दिक बधाई दिन चाहन्छु । तर म तपाईंहरूलाई एउटा पुरस्कार लिएर घर फर्किने व्यक्तिका रूपमा मात्र हेर्न चाहन्नँ । आजको सम्मानलाई अर्को जिम्मेवारीको सुरुवात बनाउनुहोस् । आफू सफल हुनुहोस् । अरूलाई पनि अघि बढ्ने बाटो बनाइदिनुहोस ्। आफ्नो सपना पूरा गर्नुहोस् । तर देशले देख्नुपर्ने ठूलो सपना पनि नबिर्सनुहोस ्। किनकि राष्ट्रको भविष्य कुनै एउटा भाषण, एउटा योजना वा एउटा पुस्ताले मात्र बनाउँदैन । हरेक पुस्ताले आफ्नो हिस्साको भविष्य निर्माण गर्छ । अब तपाईंहरूको पालो छ । एउटै आग्रह – आवेगको धनी हुनुहुन्छ, यसमा विवेक थप्न अझ मेहनत गरौं ।

पुन: अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गर्दछु। ‘४० मुनिका ४०’ अभियानलाई निरन्तरता दिएकोमा अनलाइनखबरलाई धन्यवाद दिंदै आज सम्मानित सबै युवाको आगामी यात्राको सफलताको कामना गर्दछु ।

जय नेपाल !

मिति: २०८३ साल साउन २७ गते ।

(अनलाइनखबरको ४० वर्ष मुनिका ४० युवाहरूको सूची सार्वजनिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सम्बोधनको अंश)





Source link

Translate »