२३ अर्ब लागतको तमोर-मेवा जलविद्युत् आयोजनामा सुरुङ खन्न थालियो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम औपचारिक रूपमा शुरू भएको छ।
  • कम्पनीका अध्यक्ष सुदीप कुमार चौधरीले यो कार्य नेपालको ऊर्जा सुरक्षा र समृद्धिको बलियो आधार निर्माण गर्ने महत्त्वपूर्ण कदम भएको बताउनुभयो।
  • अनुमानित २३ अर्ब ४ करोड रुपैयाँ लागतको यस आयोजनाबाट वार्षिक करिब ७११ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

२१ साउन, काठमाडौं । तमोर–मेवा जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम (टनेल ब्लास्टिङ) को औपचारिक सुरुवात भएको छ ।

ताप्लेजुङको फुङलिङमा आयोजित विशेष समारोहका बीच बुधबार विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्न थालेसँगै आयोजनाको भूमिगत निर्माण कार्यले तीव्रता पाएको हो । १२८ मेगावाट क्षमताको आयोजना स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले निर्माण गर्दै छ ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीप कुमार चौधरीले यो कार्य केवल ढुंगा फुटाउन मात्र नभई नेपालको ऊर्जा सुरक्षा र समृद्धिको बलियो आधार निर्माण गर्ने कदम भएको बताए । तोकिएको समयमै र उच्च गुणस्तरका साथ आयोजना सम्पन्न गरी स्थानीय समुदाय तथा राष्ट्रको दीर्घकालीन आर्थिक विकासमा योगदान पुऱ्याउने प्रतिबद्धता उनले व्यक्त गरे।

यस ब्लास्टिङ कार्यक्रमअघि कम्पनीले अध्यक्ष चौधरीकै अध्यक्षतामा २६ औं वार्षिक साधारण सभा सम्पन्न गरी आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सेयरधनीहरूलाई आयोजनाको वित्तीय र भौतिक प्रगतिबारे जानकारी गराएको थियो ।

अनुमानित कुल लागत २३ अर्ब ४ करोड रुपैयाँ रहेको यस आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भइसकेको छ, जसमा सिद्धार्थ बैंकको अगुवाइ र माछापुच्छ्रे बैंकको सह–अगुवाइमा १७ अर्ब २८ करोड ऋण लगानी तथा ५ अर्ब ७६ करोड सेयर पूँजी रहनेछ ।

ताप्लेजुङका फुङलिङ नगरपालिका, मिक्वाखोला, मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकामा फैलिएको यस आयोजनाबाट वार्षिक करिब ७११ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग २०८० असोज २४ गते नै विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेकाले २०८५ असोज २५ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने तालिका छ ।

हालसम्म मुख्य पहुँच मार्ग, बाँधस्थल, सुरुङ प्रवेशद्वार र पावरहाउससम्म सडक सञ्जाल तयार भइसकेको छ भने विस्फोटक पदार्थ भण्डारणका लागि सेनाको आवास र बङ्कर निर्माण अन्तिम चरणमा छ ।





Source link

Translate »