प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार
अमेरिकामा आएको आँधीका कारण २ जनाको मृत्यु भएको छ ।
दक्षिणी अमेरिकी क्षेत्रमा सप्ताहन्तभरि आएको भीषण आँधीका कारण दुई जनाको मृत्यु भएको हो । हजारौं मानिसहरू विद्युत् आपूर्ति बन्द हुँदा प्रभावित भएका छन्।
आँधीबेहरीले रूख र बिजुलीका पोलहरू ढालेको छ । भारी वर्षा, असिना र तीव्र हावा आएका कारण प्रभावित हुनु परेको हो ।
टेक्सासदेखि साउथ क्यारोलिना सम्मको क्षेत्रमा करिब १ लाख ५०हजार मानिसहरू विद्युत् सेवा बिना बस्नुपरेको छ ।
मिसिसिपी राज्यका गभर्नर टेट रीभ्सका अनुसार लाफायेट काउन्टीमा एक जनाको मृत्यु भएको हो । रूख गाडीमाथि खसेका कारण उनको ज्यान गएको बताइएको छ ।
जर्जियाका गभर्नर ब्रायन केम्पले बैंक्स काउन्टीमा गाडीमाथि रूख खस्दा एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आँधीका कारण ज्यान गुमाएका जर्जियाली परिवारप्रति केम्पले समवेदना प्रकट गरेका छन ।
अर्कान्सासको पश्चिमी सहर भ्यान बुरेनमा टर्नाडोले धेरै घरहरूमा क्षति पुर्याएको छ । त्यहाँ एक जना घाइते भएको राष्ट्रिय मौसम सेवाले जनाएको छ।
राष्ट्रिय मौसम सेवा अनुसार विशेषगरी दक्षिण पश्चिम ओक्लाहोमा र उत्तर टेक्सासमा १०० माइल प्रतिघण्टासम्मको विनाशकारी हावा, पाँच इन्चसम्मको ठूलो असिना र केही टर्नाडो आउन सक्ने सम्भावना छ ।
प्रभावित क्षेत्रहरूमा सतर्कता अपनाउन तथा आवश्यक सावधानी अपनाउन स्थानीय अधिकारीहरूले आग्रह गरेका छन्।



