यो लेख मार्फत मेरा केही भोगाइ, बुझाइ, अनुभूति र दृष्टिकोण पक्कै आउलान् तर सुरुवात विभिन्न मार्गको प्रतिपादन गरेर जीवन मृत्युको चक्रलाई छेदन गरी अलौकिक संसारमा पुगिसक्नुभएका पाँच जना बुद्ध पुरुषहरूले ध्यानको विषयमा दिनुभएका उद्गारहरूबाट गर्न चाहन्छु ।
गौतम बुद्ध भन्नुहुन्थ्यो– मनलाई अनुशासनबद्ध गर्न ध्यान गर्नुहोस्, मनलाई अनुशासनबद्ध गरेपछि सारा संसारलाई अनुशासनबद्ध गर्न सकिन्छ ।
परमहंस योगानन्द भन्नुहुन्छ– ध्यान भनेको आत्मा र ब्रह्माण्डबीचको मौन संवाद हो ।
स्वामी विवेकानन्दको भनाइ छ– ध्यान गर्नु भनेको मनलाई सबै दिशाबाट हटाएर केवल एक बिन्दुमा केन्द्रित गर्नु हो । जब तपाईं यो गर्न सक्षम हुनुहुन्छ, कुनै पनि कुरा असम्भव छैन ।
रमण महर्षिले भन्नुभएको छ– ध्यान गर्नु भनेको आफ्नो ध्यानलाई बाहिरी कुराबाट भित्री आत्मामा मोड्नु हो । आत्मानुभूति नै ध्यानको अन्तिम लक्ष्य हो ।
ओशोले भन्नुभएको छ– ध्यान भनेको तपाईंलाई आफैंतिर फर्काउने कला हो । तपाईंको सम्पूर्ण जीवन बाहिर केन्द्रित छ । ध्यानले तपाईंलाई भित्रको दुनियाँमा प्रवेश गराउँछ, जहाँ वास्तविक आनन्द र मुक्ति छ ।
अब विषयमा प्रवेश गरौं । यो लेख विश्व ध्यान दिवसको विषयमा केन्द्रित छ । पूरा संसारले अबदेखि २१ डिसेम्बरको दिनलाई विश्व ध्यान दिवसको रूपमा मनाउने छ । यसै हप्ता संयुक्त राष्ट्रसंघको महासभाले सर्वसम्मतिले २१ डिसेम्बरको दिनलाई विश्व ध्यान दिवसको रूपमा पारित गरेको छ । यो ऐतिहासिक सफलता भारतको पहल र नेपाल, लिकटेन्स्टाइन, मेक्सिको, अन्डोरा लगायत केही देशहरूको प्रयासले सम्भव भएको हो ।
ओशोका शिष्यहरू यो घोषणाले शायद अरूभन्दा धेरै खुशी छन्, म पनि ओशोकै एक शिष्य हुँ र ओशोको ध्यानको नियमित प्रयोग र प्रचारमा लागेकी छु । विश्व ध्यान दिवसको घोषणाले ममा दुई अर्थमा विशेष खुशी ल्याएको छ । पहिलो– अहिलेको चरम भौतिकवादी समाजमा ध्यानलाई सरल रूपमा घर–घरमा पुर्याउनका लागि क्रान्तिकारी आध्यात्मिक चिन्तन जुन रूपमा ओशोले दिनुभयो र ध्यानको नयाँ परिभाषा स्थापित गर्नुभयो त्यस्ता गुरुको मार्गलाई आज संयुक्त राष्ट्रसंघले मान्यता दिएको छ । ओशोले ध्यानलाई हाम्रो युगको अत्यन्त आवश्यक साधन बनाइदिनुभयो, जसले हरेक व्यक्तिलाई आफ्नो अस्तित्वको गहिराइ र अर्थसँग जोडिन मद्दत पुर्याउँछ ।
दोस्रो– विश्वभर ध्यानको जागरण बढिरहेको र ध्यान अब स्वस्थ समाजको लागि नभई नहुने कुरा भएको प्रमाणित भइसकेको समयमा विश्व ध्यान दिवसको घोषणा हुनुपर्दछ भनेर यस विषयमा अन्तर्राष्ट्रिय लविङ गर्ने प्रमुख व्यक्ति बोधिसत्व स्वामी आनन्द अरुणलाई यो कदमको लागि सधैं होस्टेमा हैंसे गर्ने एक अभियन्ता म स्वयं पनि हुँ । स्वामीजी, तपोवन र उहाँका साथमा हिंड्ने म जस्ता कैयौं व्यक्तिको एउटा विश्व कल्याणको सोचले सार्थकता पाएको छ । यसर्थ पनि म अझ धेरै खुशी र त्यति मात्र होइन, उत्साहित पनि छु ।
डिसेम्बर २१ उत्तरी गोलाद्र्धको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हो । यो समयलाई स्थिरता, नवीकरण र आत्मचिन्तनको प्रतीक मानिन्छ । जाडो हुने यो समयले प्रकृतिको स्थिरतालाई प्रतिनिधित्व गर्छ, जुन ध्यानको मर्मसँग मेल खान्छ । भित्री शान्ति र सन्तुलन यो समयमा पैदा हुन सक्छ । यो दिन प्रकृतिको ऊर्जा सबैभन्दा गहिरो र स्थिर अवस्थामा हुने विश्वास गरिन्छ । यसैले यो समय आत्मनिरीक्षण, आत्मशुद्धि र आन्तरिक रूपान्तरणका लागि उपयुक्त मानिन्छ ।
विश्व ध्यान दिवस घोषणा भएको भोलिपल्ट अपराह्न म इभिनिङ वाक्मा थिएँ । फोनको घण्टी बज्यो । हेरें, बोधिसत्व स्वामी आनन्द अरुणको थियो । स्वामीजी त्यो समय बुद्धको जन्मभूमि लुम्बिनीमा रहेको ‘ओशो जेतवन’ आश्रममा ध्यान शिविर सञ्चालन गरिरहनुभएको थियो ।
लुम्बिनीबाट स्वामीजीको फोन आउँदा दंग पर्दै मैले फोन उठाएँ । सामान्य औपचारिकता पछि स्वामीजीले भन्नुभयो– ल हामी सबैलाई बधाई छ, हामीले १० वर्षदेखि उठाइरहेको एजेन्डा आज पूरा भएको छ । ध्यान मार्गमा रहेका हाम्रो लागि यो ठूलो खुशीको खबर हो । डिसेम्बर २१ विश्व ध्यान दिवस भयो ।
स्वामीजीको खुशीमा मैले पनि खुशी थप्ने प्रयास गरें । लामो कुराकानी भयो । अत्यमा स्वामीजीले भन्नुभयो– ल अब २१ डिसेम्बरको दिन तपोवनमा विश्व ध्यान दिवसको बृहत् कार्यक्रम गर्नुपर्छ तयारी सुरु गर । मैले हवस् भनें । स्वामीजीसँगको संवादले ममा थप ऊर्जा अनुभूत भयो ।
विश्व ध्यान दिवसको घोषणाले ध्यान अब सर्वमान्य भएको कुरामा दुईमत नहोला । संयुक्त राष्ट्रसंघसँग आवद्ध सबै देशहरू जो जुनसुकै धर्म, भूगोल वा जातको होस् उसले ध्यानलाई स्वीकार र अंगीकार गर्नै पर्दछ । ध्यानलाई हिन्दु धर्मसँग जोडेर यस विषयमा नाक खुम्च्याउने, अरू धर्म वा विचार मान्नेहरूले पनि अब ध्यानलाई हेर्ने र बुझ्ने दृष्टिकोण परिवर्तन गर्ने र ध्यानको प्रयोग सुरु गर्नेछन् । नेपाल जस्तो तपोभूमिको लागि त ध्यान दिवसको घोषणाले कालान्तरमा धेरै फाइदा पुर्याउँदछ ।
नेपाल, हिमालको काखमा स्थित ध्यान, योग र साधनाको प्रमुख केन्द्र हो । भगवान् शिवले यहीं ध्यान र साधना गर्नुभएको थियो, उहाँका शिष्य सप्तऋषिहरूले यसलाई फैलाएका थिए । नेपालले जैविक विविधता र धार्मिक सम्पदामा समृद्धि प्राप्त गर्दै विश्वभर शान्ति, भाइचारा र उपनिषद् दर्शनको प्रसार गरेको छ । २५६३ वर्षअघि सिद्धार्थ गौतम बुद्धको जन्म भएको नेपाललाई ध्यान र योगको वैश्विक केन्द्र बनाउन सकिन्छ । ध्यानको लागि नेपालको भूमि कति पवित्र छ भनेर आज नचिने पनि समय आएपछि यसको प्रचार विश्वभर हुनेछ र ध्यान गर्न नेपाल जानै पर्दछ भन्ने मान्यता नै स्थापित हुन सक्छ ।
विश्व ध्यान दिवसको घोषणाले उत्साह त ल्याएको छ नै तर यो घोषणासँगै हामी अर्थात् नेपाल फेरि एकपटक चुकेको छ । यो दिवसको प्रस्तावक राष्ट्रसंघमा नेपाल हुन सक्थ्यो तर हाम्रो देशमा यो कुरालाई कहिल्यै प्राथमिकतामै राखिएन । दीर्घकालमा यसको प्रभावको घनत्व कतिसम्म हुन सक्छ बुझ्नुपर्नेले बुझ्नै चाहेनन् । हामी यो प्रस्तावको सहयोगी मात्र बन्न पायौं । यदि हाम्रा विगतदेखिका प्रधानमन्त्री, परराष्ट्र मन्त्रीहरू र ब्यूरोक्रेसीले थोरै मात्र पनि पहल गरेको भए नेपाल प्रस्तावक र भारत लगायत देशहरू सहयोगीमा रहन्थे, जसको प्रभाव इतिहासमा बेग्लै अक्षरले लेखिन्थ्यो ।
बोधिसत्व स्वामी आनन्द अरुणले एउटा सर्वमान्य मिति हेरेर विश्व ध्यान दिवस घोषणा गर्नुपर्दछ भनेर संयुक्त राष्ट्रसंघसम्म पहल र प्रस्ताव गरौं भनेर काम नै सुरु गर्नुभएको १० वर्षभन्दा बढी भइसक्यो । म त्यसको साक्षी र सहयोद्धा हँु । निरन्तर १० वर्षदेखि नेपाल सरकारलाई उहाँले झकझक्याइ रहनुभयो । नेपाल ध्यान दिवसको विषयमा सबैभन्दा माथि उभियोस् र यसको नेतृत्व गरोस् भन्ने स्वामीजीको धारणा थियो । राष्ट्रसंघमा प्रस्ताव लैजानको लागि यो बीचमा बनेका सबै सरकारका प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिव, राजनीतिक दलका नेताहरूदेखि विभिन्न अभियन्ताहरूसम्मलाई स्वामीजीले धेरै पटक भेटेर यो मौका नचुकाउन भन्नुभएको थियो ।
विगत १० वर्षदेखि स्वामीजीले अन्तर्राष्ट्रिय ध्यान दिवसको प्रस्ताव गर्न समय लाग्ने भए पहिला राष्ट्रिय ध्यान दिवसको घोषणा गरौं, त्यसपछि संयुक्त राष्ट्रसंघमा सरकारले प्रस्ताव राखोस् भन्ने सुझाव सबै सरकार प्रमुखहरूलाई दिंदै आउनुभएको थियो । ध्यान दिवस किन आवश्यक छ ? यसले के फाइदा हुन्छ ? आदि समेटिएको एउटा पुस्तिका नै स्वामीजीले तयार पार्नुभएको थियो । काम गर्न सजिलो होस् भनेर उहाँले त्यो पुस्तिका सबै नेताहरूलाई दिनुभएको थियो ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यान दिवस किन जरूरी छ भन्ने पत्र पनि दिएको हो । पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा यो बारेमा धेरै कुरा भए । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हँुदा विश्व ध्यान दिवसको विषयमा संयुक्त राष्ट्रसंघसम्म कुरा पनि पुगेकै हो । उहाँ गृहमन्त्री हुँदा ध्यानको विषयमा गर्नुभएको निर्णय साँच्चै ध्यानको क्रान्ति नै थियो ।
स्वामीजीको प्रेरणाले म आफू स्वयंले पनि धेरै दौडधुप गरेकी छु । प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, मुख्यसचिवदेखि यसका सरोकारवालाहरूसँग भेटेर यसलाई अघि बढाउने बाटो खोजिनै रहें ।
एउटा प्रसंग याद आयो– ध्यान दिवसकै विषयमा एक योग अभियन्तासँग मेरो प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवकै अगाडि वादविवाद परेको थियो । उहाँको तर्क थियो, किन छुट्टै ध्यान दिवस मनाउन पर्यो; ध्यान अष्टाङ्ग योगमध्येको एक अङ्ग त हो यसको जरूरी छैन ! यस्तो तर्क गर्ने पनि धेरै हुनुहुन्छ, हामी ध्यानलाई मान्छेमा बुझाउन त्यत्तिले पुग्दैन भन्दै लागिपर्यौं । योग शरीर र मनको एकता र सन्तुलनमा केन्द्रित छ, जबकि ध्यान मानसिक शान्ति र एकाग्रता प्राप्त गर्नमा केन्द्रित छ । हामी यही भनिरह्यौं ।
विश्व ध्यान दिवसको घोषणासँगै एउटा संयोग २१ तारिखको दिन परेको छ । किनकि जून २१, विश्व योग दिवस हो । जो उत्तरी गोलाद्र्धमा सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रातको दिन हो, सूर्यको उदय र अस्तको समयको कारण दिनको समय सबैभन्दा लामो हुन्छ । यसको ठीक ६ महिनापछि, डिसेम्बर २१ विश्व ध्यान दिवस । जुन दिन उत्तरी गोलाद्र्धमा सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुन्छ । यो दिन सूर्य कम उचाइमा हुन्छ र रातको समय धेरै लम्बिन्छ ।
विश्व ध्यान दिवसको घोषणापछि मलाई योगगुरु डा. हरिप्रसाद पोखरेलको फेरि एकपटक याद आयो । उहाँले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्रसंघमा राख्न धेरै पहिलेदेखि पहल गर्नुभएको थियो तर अहिले ध्यान दिवसमा जस्तै नेपालभन्दा अगाडि भारतले प्रस्ताव गर्यो र पास पनि भयो । नेपालले नजरअन्दाज गर्दा, भारत सरकारले विश्व योग दिवस र विश्व ध्यान दिवस दुवैमा आफ्नो नाम लेखायो, नेपाल योगमा पनि हेरेको हेर्यै भयो अनि ध्यानमा पनि ।
तर यदि हामीले हाम्रो भूगोलबाट मात्र नहेरी समग्र पृथ्वी र अस्तित्वको आँखाबाट हेर्ने हो भने हामीले चिन्ता लिनुपर्ने कुरै छैन । जब ध्यानको कुरा आउँछ र यसको प्रयोग गरिन्छ त्यसपछि यो धर्म, भूगोल, जात, सम्प्रदाय सबै मिथ्या लाग्छ । ध्यानले समग्र मनुष्यलाई देख्दछ । त्यसैले यो समय ध्यान गर्नेहरूको लागि सबैभन्दा ठूलो चाड हो, उत्सवको समय हो । यो दिनले हामीलाई आन्तरिक शान्ति, समर्पण र आत्मसमाधानको मार्गमा अघि बढ्न प्रेरित गर्छ ।
ध्यान दैनिकीमा समावेश गरेर मात्र मानिसले यसको वास्तविक फाइदा अनुभव गर्न सक्छ । शरीरलाई स्वस्थ राख्न दैनिक व्यायाम जस्तै, मनलाई स्वस्थ र स्थिर राख्न दैनिक ध्यान आवश्यक छ । एक दिन ध्यान दिवस मनाउँदा प्रेरणा मिल्छ, तर सच्चा परिवर्तन नियमित अभ्यासबाट मात्र सम्भव छ, वास्तविक यात्रा पनि त्यसपछि मात्र सुरु हुन्छ ।
अन्त्यमा बधाई दिन चाहन्छु स्वामीजीलाई । ध्यान दिवसको कुरा हँुदा सधैं नै हजुरले भन्नुहुन्थ्यो । कहिले ? को मार्फत ? कसरी ? यो कुरा त मलाई थाहा छैन तर एक दिन ध्यान दिवसको घोषणा हुनेछ । मैले विश्वका दर्जनौं देशमा पुगेर त्यहाँका सिनेटरहरूसँग यो कुरा राखेकी छु । कतिले त ध्यान दिवस मनाउन सुरु पनि गरिसके, अस्तित्वले आफ्नो काम सुरु गरिसकेको छ, म पनि अस्तित्वकै निर्देशनमा यो काम गर्दैछु, अस्तित्वमा रेकर्ड भएको कुरा कसैले टार्न र मेटाउन सक्दैन, एक दिन यसले स्वर्णिम रूप दिनेछ ।
साँच्चै हो स्वामीजी आज हजुरको एक सोच पूरा भएको छ, हामीले विश्व ध्यान दिवस पाएका छौं ।
स्वामीजीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम तथा मिडियामा ध्यान दिवसको कुरा गर्न थाल्नुभएपछि ध्यानको मार्गमा काम गर्ने धेरै संस्था तथा आध्यात्मिक गुरुहरूले स्वामीको कुरामा समर्थन जनाउँदै यो अभियानमा साथ दिइरहनुभएको थियो । यो काम हामी सबैको हो भनेर गुरुहरूले स्वामीजीलाई भन्दै आइरहनुभएको थियो ।
यो प्रसंगमा म जीवन विज्ञानका संस्थापक दुई गुरुहरूलाई पनि सम्झिरहेकी छु । ध्यान दिवस घोषणाको लागि उहाँहरूले खेल्नुभएको भूमिका सधैं स्वामीजीको लागि सहयोगी थियो । यो विषयमा उहाँहरूको दौडधुप मैले प्रत्यक्ष देखेकी छु ।
विश्व ध्यान दिवस घोषणा भएको भोलिपल्ट बिहानै आएको फोनले नै मैले यो समाचार थाहा पाएकी थिएँ, पहिलो पटक यो समाचार सुनाएर बधाई दिने व्यक्ति अरू कोही नभएर जीवन विज्ञानका गुरु एलपी शर्मा भानु हुनुहुन्थ्यो ।
विश्रामपूर्व, सरोकारवाला सबैमा आग्रह छ– डिसेम्बर २१ नजिक आइसक्यो, अब पहिलो विश्व ध्यान दिवसको तयारीमा जुटौं । सरकारलाई अनुरोध गर्दछु– पहिलो ध्यान दिवस भव्य बनोस् र नेपालभर ध्यानको नयाँ लहर सुरु होस् !