नेपालीहरूकाे महान् पर्व हाे दशैंतिहार। यतिबेला धेरै घरमा तिहारकाे राैनक छाएकाे छ। बत्तीकाे झिलीमिली र ढकमक्क फुलेकाे फूलले गाउँघर रमाइलाे बनेकाे छ। तर, यहीबेला कति मन सम्हालिन नसकेने गरी दुखेकाे छ। कति दाजुभाइ तथा दिदीबहिनी सम्झनामा देश बाेकेर परदेशमा बसेका छन्।असह्य पीडा बाेकेर घरदेशमै सादा जीवन बाँच्ने नेपालीहरू उत्तिकै छन्। जसलाइ जे परे पनि सहनुकाे कुनै विकल्प छैन। जे भए पनि चाडपर्वले जिन्दगीमा मीठाे सन्देश बाेकेर आएकाे हुन्छ।
राजनीतिक अस्थिरता, गरीबी, दैवी विपत्ति, बेराेजगारी आदि हामी नेपालीका लागि दुखकाे कारण बनेकाे छ। यही कारण विदेशिनु नेपालीकाे बाध्यता बनेकाे छ। यतिबेला कति चेलीबेटीले घरदेशबाट परदेशी बाउमाइती सम्झिरहेका छन् भने कति बाउमाइतीले परदेशी चेलीबेटी सम्झिरहेका छन्। त्यस्तै परदेशीहरूले घरदेश सम्झिरहेका छन्।
विश्वका विभिन्न ठाउँमा पसीनासित खुसी साटिरहेका नेपालीहरूले तिहारकाे उपलक्ष्यमा विभिन्न माध्यमबाट शुभकामना बाँडिरहेका छन्। नेपाल सम्झिरहेका छन्। यहाँ ती सम्झिनेमध्ये केही परदेशका सम्झनाहरू शब्द चित्रमा प्रस्तुत गर्ने काेसिस गरिएकाे छ।
###
सात समुद्रपारि क्यानडामा तन भए पनि मन मातृभूमि नेपालमै छ। जति टाढा भयो उति घरदेशको सम्झना गाढा हुँदो रहेछ। तन परदेशमा भए पनि मन सधैं घरदेशकै गाउँपाखा दौड्ने रहेछ। लिङ्गेपिङमै मच्चिने रहेछ। साथीभाइसँग जीउ सिरिङङ हुने गरी पिङमा मच्चिएको झझल्कोले सताइरहने रहेछ। हो, हामी यहाँ लिङ्गेपिङ हालेर खेल्न सक्दैनौ तर सम्झनाको तिर्सना मेटाउने कोसिस गर्छौ।
काममा व्यस्त हुँदा हुँदै पनि समय निकाल्छौ।वर्षभरिमा दस दिन र क्रिसमसमा समेत एकदिन सरकारी बिदा पाइने देशमा संसारभरिबाट आएका मान्छेका चाडैपिच्छे सार्वजनिक बिदा हुने कुरै भएन। त्यसैले दसैंतिहार मनाउन छुट्टी वा कामको सेडुयल मिलाउनुपर्छ।
हिजो लक्ष्मी पूजाका लागि मेरी सखीले बिदा लिइन्। ‘दियो बाली साँझको, फूल चढाई पुजाको, माता लक्ष्मी बसिदेऊ आज, घर संसार सानो’ गीत सुन्दै हामीले घर अगाडि सेतो रातो पिठोको रंगोली बनाएर घरभित्र र बाहिर दियो बालेयाैं।
सुगम पोखरेलले गाएको दसैंतिहारको गीतले प्रवासमा रहेका नेपालीको मुटु बिझाउँछ। ‘यसपालिको तिहारमा पक्कै आउँछु म बहिनी’ भनेर खाएको कसम विगतका वर्षहरूमा भए पूरा हुने थिए होलान्।
आफ्नो गाउँघरमा मनाएको तिहारको तिर्सना मेटाउन क्यानडाका विभिन्न शहरमा भएका कल्चरल सोसाइटीहरूले देउसीभैलो कार्यक्रम गर्छन्। विदेशमा औंलामा गन्न सक्ने भाग्यमानीको बाहेक अरू कसैका आफ्ना दिदीबहिनी र दाजुभाइ हुँदैनन्। तर कतिले नाता बनाएर भए पनि भाइटिका लगाउँछन्। जन्मले नभए पनि भावना र कर्मले दाजुबहिनी भएर रमाउँछन्। आखिर भावनाको नाता रगतको नाता भन्दा के कम!
###
एउटा मेलमिलाप, सकारात्मक ऊर्जा र वर्षभरिको नैराश्य हटाउन नै हामीमाझ चाडपर्व आउँछन्। त्यही चाडपर्वमा हामी घरपरिवारसँग रमाइलो गर्दै आफूलाई अझै तरङ्गित बनाउने गर्छौ। यी नै चाडपर्व परम्परागत रूपमा मानिदै आएकाले हाम्रो संस्कृति बन्न पुगेको पनि हो।

दुःखसुख जस्तो हुँदा पनि परिवारसँग बसेर दुई गाँस खानुको आनन्द र महत्त्व परदेशमा बस्नेहरूलाई अझै बढी थाहा हुने रहेछ। दशैंतिहारको रमझम विदेशमा बस्नेहरूका लागि एउटा मिठो सम्झना मात्रै हुने रहेछ।
सम्झनामा यतिबेला बारीका कान्लामा ढकमक्क फुलेका गोदावरी, सयपत्री र मखमलीको सुन्दरता झल्किरहेको छ। फूलको सुगन्ध यहाँसम्म आइपुगेको परिकल्पना गर्न सक्छु। ‘हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको…!’
गीत दिमागमा घन्किरहेको छ। पिढीका डिलहरू र झ्यालढोकामा बालिएका बत्तीको रौनकले अनुहारमा एक विशेष ताजगी दिएको झंै लागिरहेछ। चुलामा पाक्दै गरेको सेल,पुरी र अनर्सा र विभिन्न मिठाई यतिबेला सम्झनामा छ। देउसीभैलो र भाइटीका धेरै कुरा एकपछि अर्को गर्दै क्रमशः आँखा अगाडि नाचिरहेका छन्। झसङ्ग त त्यतिबेला हुने रहेछ जब वास्तविकताको धरातलमा टेकिन्छ।
हरेक सेकेन्ड, मिनेट र घन्टालाई पैसामा रूपान्तरण गर्ने ठाउँ हो परदेश। यतिबेला म इजरायलको बेनी ब्राकमा छु। हाम्रो र यहाँको चाडपर्वमा केही मिल्दैन। त्यसैले छुट्टी हुने कुरै भएन। चौधपन्ध्र घण्टाको ड्युटी सकेर फर्किंदा तन र मन दुवै थाकेका हुन्छन्। यस्तो अवस्थामा पनि घरदेश सम्झेर साथीहरूसँग परदेशमा तिहारको रमाइलो गर्ने गर्नुपर्छ।शरीर ‘तन’ यहाँ हुँदा पनि मनले स्वदेश भ्रमण गर्दो रहेछ।
जो जहाँ र जस्तो अवस्थामा रहे पनि हरेक कुरा सहज रूपमा लिएरखुशी हुन सिक्नुपर्ने रहेछ। चाडपर्व सकारात्मक ऊर्जा दिनका लागि आउने हो। हामीले आफ्नो संस्कृति जोगाउनुपर्छ। यही हाम्रो कर्तव्य हो।
###
आमावास्य ‘औंसी’को रातमा टिलपिल ताराहरूको वरियात लिएर तिहार आइपुगेको छ। ढकमक्क फुलेका सयपत्री र मखमलीको सुगन्धमा हराउँदै आइपुगेको तिहारको शोभा बढाउन साक्षात् लक्ष्मी आउनुभएको छ।

हरियो गोवरले लिपेको आँगन रङ्गले सिँगारिएको घर, खेतबाट धानको सुवास बोकेर आउने चिसो मीठो हावा, आँगनमा नाचिरहेका भैलेनी, दैलो र कौसीमा बलिरहेको दियो र रङ्गीन बत्तीहरू! भित्र अँगेनामा पाकेका सेल अनि काँचो मेवाको अचार! सम्झिदा पनि आफ्नो देश सम्झेर मन भक्कानिएर आँउछ।
आहा, साँच्चिकै कति रमाइलो हुन्छ तिहार! तिहारले सबैलाई फूलैफूलको हार, जयमाला पहिराओस्, ‘हार’कसैको नहोस् हजुरहरू सम्पूर्णमा तिहारको कोटीकोटी शुभकामना!
###
रोजगारीको सिलसिलामा हामी नेपाली विश्वका विभिन्न भागमा छरिएका छौं। म दक्षिण कोरिया आएको ८ वर्ष भयो। यो अवधिमा मेरा थुप्रै दशैंतिहार, होली, संक्रान्ति तथा उँधौलीउँभौलीहरू छुटे।

देशले परदेश उडायो। कोही पढ्न र केही सिक्न उडे। कोही रोजगारीका लागि उडे त कोही केही बन्न उडे। जो जेका लागि उडे पनि देशमा त्यो चिजको अभाव भएकैले उडे। यहाँ कोरियनहरूलाई न काम गर्न कुनै देश जानुपर्ने आवश्यक छ न कुनै विशेषसीप, तालिम या दक्षता हासिल गर्न कतै जानुपर्ने बाध्यता छ। जो जान्छन् त्यो तिनको आफ्नो छनौट हो। हाम्रो देशमा हामीसँग कतिका छनौटहरू उपलब्ध छन् ? एकदमै थोरै। त्यसैले देशले परदेश उडायो भनेको हुँ।
मैले मानेको अन्तिम तिहार सन् २०१९ को तिहार थियो।जुन मैले काठमाडौंमा मनाएँ।परदेश हुँदा पलपल घरदेशको याद आइरहेकै हुन्छ। तर चाडवाडमा त्यो अझै सम्झना प्रगाढ भएर आउँछ । तर के गर्नु मेरो एउटा टुक्रे कविताले भनेजस्तै
‘यता हामीले परदेशमा
यी प्यालेटहरूमा
हरेक दिन पसिना भरेर
¥यापिङ गरी पठाएपछि
उता देशमा
प्लेटहरू भरिन्छन्
घरघरमा!’
हामी बाध्य हुने रहेछौं। हामीले घरघरमा प्लेटहरू भर्नुछ। त्यसैले यस्ता चाडपर्व विशेषहरूमा हामी छुट्छौं। कम्पनी व्यस्त हुँदा मेशिनको झकझक आवाजसँगै चलचित्र रिल जस्तै घरदेशको याद घुमिरहेकै हुन्छ। उता हुँदा हामी आफ्नो मर्जीको मालिक हुन्छौं। परदेश आएपछि हामी मालिकको मर्जी बन्छौ।
यसरी एउटा परदेशीलाई चाडपर्वमा उसको घरपरिवार, आफन्त र साथीभाइमाझ हुनबाट वञ्चित पार्ने वातावरण उसको राज्यले दिएको हुने रहेछ। त्यसरी हेर्दा राज्यले उसलाई भावनात्मक हिसाबले पनि अन्याय गरेको हुँदोरहेछ भन्ने लाग्छ।
मेरो मनमा तिहार भन्नेबित्तिकै सम्झनाहरू दुई फ्याक भएर आउँछन्। पहिलो गाउँका तिहारहरू र दोस्रो काठमाडौका तिहारहरू। एसएलसीपछिका वर्षहरू लगातार काठमाडौंमा बिताइयो। त्यसले गर्दा सम्झनाहरू त्यसरी बाँडिन पुगेका हुन्। गाउँमा होस् कि काठमाडांैमा, देउसी खेल्दा आफ्नो समूहको भट्याउने मै हुन्थे। काठमाडौमा हुँदा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको निवासमा देउसी खेलेको र आशा गरे जति दक्षिणा नपाइएको जस्ता रमाइला किशोर सम्झनाहरू ताजै छन्। गाउँमा देउसीभैलो खेलेर पाएको सीदा चामल रातभरि झोलाबाट चुहिएर अन्तिममा रित्तो झोला फर्किएकोजस्ता अनेक सम्झना तरेली परेर आइरहन्छ।
तिहार अत्यन्तै विशेष चाड पनि हो। काग तिहार, कुकुर तिहार, गाई पूजा, गोरु पूजा र अन्तमा माइती पूजा कति युनिक छ नि! कतिले यसलाई धर्मसँग जोडेर गाली गरेको पनि सुन्छु। त्यतिबेला मलाई हैरानी पनि हुन्छ। यो त हाम्रो सद्भावनाले भरिएको सांस्कृतिक पहिचान पो हो त! कोरिया,जापान,युरोप, अमेरिका कताकता पुगेर त्यहाँको संस्कृति र चाडवाडको वाहवाही गर्ने अनि आफ्नो देशकोलाई चाहिँ दुत्कार्ने?त्यसो गर्नु हुँदैन।
आजभोलि हरेक चाडपर्व तथा संस्कारगत अनुष्ठानहरूमा भारतीय संस्कृतिको गहिरो प्रभाव परेको देखिन्छ। हाम्रो आफ्नै मौलिकता छ नि! के कमी छ र हाम्रोमा?किन अरूको अनुसरण गरिरहनुपर्यो र।
###
चिनियाँहरूले आफ्नो चाडपर्व ‘नयाँ वर्ष, क्रिसमस’हरूमा छुट्टी दिन्छन्। उनीहरूलाई हाम्रो चाडपर्व थाह हुँदैन र छुट्टी दिने कुरा पनि भएन। त्यसैले म काम गर्दै छु। चाडपर्व भन्नेबित्तिकै आफ्नो देश, आफ्नो घर, आमाबाबा, परिवार, भाइबहिनी सबै याद आउँछ । गाउँघरमा हुँदा खाएखेलेको रमाइलो गरेको याद आउँछ। झिलीमिली याद आउँछ, स्कुलबाट खुट्टा दुखुञ्जेल नाचेको याद आउँछ।

घरबाट टाढा बसेको पनि धेरै भयो। दशैंतिहारको बेला घर जान्छु भनेर योजना बनाएको धेरै भयो। यसपालि बेल्जियममा भएको जेठा भाइ र म मेरो गाउँ जाने योजना थियो तर कम्पनीमा मान्छे नभएकाले मेरो छुट्टी मिलेन।
भाइ बेल्जियमबाट गाउँ गएका छन्। भाइले गाउँमा रमाइलो गरेको भिडियो क्लिप पठाइहन्छ। म त्यही हेरेर चित्त बुझाउँछु।
यतिबेला प्रविधिले धेरै सजिलो बनाएको छ। आमा भिडियो कल गर्न सक्ने हुनुभएको छ। घरमा आमा के गर्दै हुनुहुन्छ, के खाँदै हुनुहुन्छ आमाले भिडियो कल देखाउनुहुन्छ। आमाले के गर्दै छस् भनेर सोध्नुहुन्छ। भिडियोबाट आमाको अनुहार देख्न पाइन्छ।
भिडियोबाट आमाले जेठा भाइसित रमाउँदै गरेको भिडियो हेरेर मन बुझाउँदै छु। यसरी मन बुझाएर बस्ने बानी परिसकेको छ।
यहाँ प्राय कार्यक्रम भइरहन्छ। नेपालबाट कलाकार आइरहनुहुन्छ । भर्खरै मेचे धिमाल र मेलिना राई आउनुभएको थियो। यतिबेला दिपक लिम्बहरू आउनुभएको छ। हामी सधैं सहभागी हुन पाउँदैनौं। ‘गाउँ आएको बाटो’ मुभी आएको थियो। हामी यसरी पनि परदेश हुँदाको पीडा र नियाँस्रोपन घटाउने कोसिस गरिहेका छौं।
भाइले पनि भिडियोमार्फत पठाएको हुन्छ। दशैतिहार चाडपर्व मनमा राखेर, आफन्तको माया मनमा राखेर बसेकी छु। घरीघरी त सपना जस्तै लाग्छ। मैले दशैंको निबन्ध लेखेकी छु।
रंगले भरिपूर्ण देश सम्झेर चाडपर्व सम्झेका हुन्छौं । म मात्रै हैन म जस्ता धेरैको साझा पीडा हो यो। म काम गरेको ठाउँमा पनि म जस्तै धेरै जना हुनुहुन्छ।
###
जब घरदेशमा चाडपर्वहरू जन्तीझै लर्को लागेर आउँछ तब परदेशीको आखाँमा नाच्न थाल्दछ गाउँघरको बेहुली यादहरू। यतिबेला म जापानको टोकियो कर्मभूमि बनाएर सुदूर सपनाहरू भेट्ने प्रतीक्षामा संघर्ष गरिरहेकी छु। थाहै नदिई कैयौ वर्ष ड्यूटीको व्यस्ततामै यसैयसै छुटेर गइरहेका छन् खाली निधार र विना जमराको दशै। खै कहाँ छुटे ‘.रमाइलो देउसीभैली नाचगान भाइटिका तिहार साकेलामय उधौली अनि उभौलीहरू ..? जबजब सामाजिक सन्जालमा सबैको चाडपर्वमय हर्षोल्लासका तस्वीरहरू भिडियोहरू देख्न थाल्छु तब यादहरूको तुफानले नमज्जाले चिमोट्न थाल्दछ। मनलाई मलमपट्टी गर्न म पनि अतितकै पलहरू रिपोस्ट गरेर चित्त बुझाउँछु।

सयपत्री,मखमली, गोदावरी लालुपाते फुलेको फूलैफूलको पर्व तिहार मेरो मनपर्ने पर्व पनि हो। तिहार भन्नेबित्तिकै मेरो स्मृतिमा गाउँघर नै आउँछ। म चुपचाप आदतको मान्छे साथीभाइ आफन्त कतै कसैको घर कहिल्यै जादिन थिएँ। मलाई एकप्रकारको लाज लाग्थ्यो। तर हरेक वर्षको एकपटक भने देउसीभैली खेल्न हामी हुल बाँधिएर सबैको घर आँगनमा पुग्थ्यौ। सबैको प्यारो मान्छे म सबैले मलाई नै देउसी भट्याउन लगाउनु हुन्थ्यो – त्यो बेला चेलीहरूले भट्याउने मान्छे दुर्लभ नै भएर पनि हुन सक्छ.. शायद मेरो कलिलो आवाज मन परेर पनि होला हरेक घरमा विशेष प्रकारको माया दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो अर्को वर्ष पनि यसैगरी आउनु है कान्छी।
खैर अर्को वर्ष फर्किआउँछु भनेर फर्किन नसकेका म जस्तै कैयौ परदेशी यादहरूमा चित्त बुझाउन कति विवश छन हगि?
फूलहरुको लहरै लहर
झिलिमिली छ गाउँ शहर
रंगिएका छन दाइ भाइको निधार
लौ आयो दिपहरुको तिहार
त्यसो त प्रदेशको बिरानो शहरबाट झिलिमिली दिपहरुको अनि रंगीन सप्तरंगी टिका तथा फूलहरूको पर्व तिहारमा आफैले खेलेर हुर्केको चारकुने आँगन बिरानो पारेर सपनाहरू साकार बनाउनु हामी सबै परदेशीको रहर भने पक्कै हैन। जहाँ जता हुनुहुन्छ आफ्नै तरीकाले खुशी भएर चाडपर्वलाई उल्लासमय मनाउनुहोला हार्दिक शुभकामना।
###
चाडवाड आउँदा परदेशीको मन सधैं पिरोलिन्छ। पहिलो कुरा त म बसेको क्यानडाको संस्कृति र यहाँका चाडबाड हाम्रो संस्कृति र चाडबाडभन्दा फरक छन्। हाम्रा चाडवाडका समयभन्दा फरक समयमा मनाइन्छन्। यिनीहरूको ठूलो चाड क्रिसमस डिसेम्बर महिनाको अन्त्यतिर हुन्छ। त्यही मौका पारेर एक हप्ता बिदा हुन्छ। हाम्रो जस्तो दशैँताका दश दिन र तिहारताका पाँच दिन बिदा यहाँ पाइँदैन। प्रत्येक चाडपर्वमा कामबाट बिदा पनि पाइँदैन। त्यही भएर पनि चाडवाड आउँदा मन खल्लो हुन्छ।

चाडपर्वमा घर नसम्झेको दिन नै हुँदैन। विशेष गरी बाल्यकालकाकुराहरूको सम्झना हुन्छ। दशैँतिहार बेला स्कूल जानु पर्दैन थियो। त्यही मौकामा घर रंगाउने कमेरो आमासँग खोजेर ल्याएको।घरका खटप्वालमा बाँसको खट बाँधेर कुचोले भित्तामा छ्याप्पछ्याप्प कमेरोले रंगाएको सम्झना छ।
दशैँको मासुभात र तिहारका सेल, फिनी, अनर्साको सम्झना आउँछ। आमार माइली आमाले फिनी पकाउँदा साटो लगाउन सहयोग गरेको सम्झना हुन्छ।
तिहारमा आफ्नै बारीको हजारीको फूल टिपेर दिदीहरूसँग बसेर माला उनेको सम्झना आउँछ। एकपटक बारीमा फूल टिप्दा घाँसे हरियो सर्प समातेर घरमा ल्याउँदा सबै जनामा हल्लीखल्ली मच्चिएको थियो।
तिहारताका बाली भित्र्याउने काम धमाधम चल्थ्यो। हाम्रो कुत्मा खेतको धान तिहारपछि भित्रिन्थ्यो। पाकेको धान गाईवस्तुबाट बचाउन आमाले सधैं मलाई धान खेतमा रुँग्न पठाउनुहुन्थ्यो। गाईवस्तुको तुलनामा घोडा बढी हुन्थे कुत्मातिर। दिनभरि धान रुँग्दा पट्यार लागेर चराको पासो बनाउन घोडाका पुच्छरका रौं उखेलिन्थ्यो। पासोमा चरा परेको त कहिल्यै थाहा भएन। तर रौँ तान्न छोडिएन।
दशैँमा हेर्न मन लाग्ने अष्टमीमा भगवती मन्दिरको बलि र पाँचपुनिका दिनको मेला थियो। तिहारमा घरघर पुग्ने भैलेराहरू र नाचगानको सम्झना आउँछ। प्राइमरी होस् कि हाइस्कूल पढ्दा होस् स्कुलको आर्थिक सङ्कलनका लागि भैली खेल्दै गाउँगाउँ डुलेको सम्झना आउँछ।
यहाँ क्यानडामा पनि नेपालीहरूको संस्थाबाट देउसी खेलिन्छ कहिलेकाहीँ। संस्थाअन्तर्गत संचालित नेपाली स्कूलका विद्यार्थीहरू पनि नेपालीका घरहरूमा देउसी खेल्छन्। यीचाडपर्वहरू शनिवार या आइतवार परे राम्रोसँग मनाउँछौँ। किनभने शनिवार र आइतवार बिदा हुन्छ। अन्य समयमा पनि राम्ररी नै मनाउने कोशिश गरिन्छ। तर दशैँतिहारको रमझम ल्याउने समाज र छरछिमेक खट्किन्छ।
क्यानडाको अर्को संस्कार भनेको कामको सम्मान गर्नु हो।े। त्यसैले सधैँ काममा जानुपर्छ। म अल्बर्टा प्रान्तको वातावरण मन्त्रालयमा काम गर्छु। त्यहाँ काम गर्नेहरू सबैले अरूको संस्कार र संस्कृतिलाई सम्मान गर्छन्। म पनि बेलाबेलामा आफ्नो चाडपर्व उनीहरूमाझ मनाउँछु। दीपावलीबारे त धेरैलाई थाहा छ। यसरी परदेशमा भए पनि आफ्नो संस्कृति जगेर्ना गरिरहेको छु।
###
प्रवासी धेरै नेपालीले नेपाल हृदयमा बोकेर बाँचेका हुन्छंन्। तिनै नेपालीहरू जस्तै म पनि यो परदेशमा मुटुभरि देश बोकेर बाँचेकी छु। तिहार आउनासाथ नेपालमा मनाएको तिहार आँखा वरिपरि झल्झली घुम्ने गर्छ। झिलिमिली बत्ती,रंगीबिरंगी फूलमाला, देउसीभैलो, मिठामिठा रोटीका परिकार, दाजुभाइलाई सप्तरंगी टिका लगाइदिएको पल ती सबैसबै सम्झिदा मन थाम्न एकदम गाह्रो हुन्छ।

यहाँ अमेरिकामा दशैंतिहार आएको पत्तै हुँदैन। यहा त चाडपर्व मनाउनका लागि मनाए जस्तो मात्र हो। चाडपर्वको रौनक त देशमा मात्र हुन्छ। संसारभरि रहेका नेपाली दाजुभाइदिदीबैनीलाई परदेशीमै बसेर तिहारको शुभकामना दिनुपर्ने बाध्यता भएको छ।
तिहारमा भाइलाई टिका लगाएको याद आयो,
ओखर फोरी तेलको धारा बगाएको याद आयो।
###
हामीलाई घरदेश, आफन्त र साथीसंगीका आत्मीय सम्झनाले नसताएको कहाँ हो र! विदेशमा उता जस्तो पटक्कै छैन छ त खालि पैसा छ। पैसासँग उमेर साट्दै छु। ठुलाठुला घर र महँगा गाडीको अगाडि राम्रा नानामा सजिएर फेसबुक पनि रमाउन भ्याउँछु बेलाबखतमा। त्यसैको लालचमा परेर होला १७–१८ वर्षका नानीबाबुहरु बिदेशिएका भन्ने सोच्छु बेलाबखत।
मैले चेलीको वेदना गीतमा भनेकी छु,
१२ घण्टा काम गरी चाडवाड मान्ने हो,
मनमा भको दुखपीडा कस्लाई भन्ने हो!
यो गीतमा भनेजस्तै तीतो यथार्थ हो विदेशको।
तिहारको लक्ष्मी पूजाको दिन बिहान ६.३० बजेबाट साँझको १९ बजे (७) सम्म काम ब्रत बसेको थिएँ। काम टाढा घर आइपुग्दा ९ बज्यो सकेको पुजा गरें दियो बालें खाना खाएर एउटा रेश्टुरेण्टमा गएर भैली खेलियो नाचगान गरियो रातभरि बिहान त्यतैबाट काममा लागियो काम बिहान ६.३०–१९ बजे निन्द्रा र थकाइले लखतरान शरीर लिएर आइयो गाईपुजाको दिन।

गोरु पुजा गोबर्धन पुजा मिठाईका परिकारहरु बनाउन यसपालि टिका लगाउन मन छैन।तर पनि तिवारको परिकारहरु बनाउने सुरमा छु। मेरो सोख नेपालबाट भर्खरै आमाको काख छोडेकाहरुको आत्मा सन्तुस्टितिर जान्छ हरेक चाडबाडमा।
अगिल्लो सालसम्म सामुहिक भाइ टिका लगाको थियौ ।यो वर्ष कारणबस लगाइन।
हामी जहाँ जसरी बसे पनि परदेसमा चाडबाड चै मज्जाले मनाइन्छ। ससंक्रिति रीतिरिवाज बालबालिकालाई सिकाउँदै जानुपर्छ। व्यस्त हुँदा हुँदै पनि हरेक चाडबाड मनाउँदै आएको छौ। परदेशमा हुँदा हरेक कुरा घरदेशको प्रिय हुँदोरहेछ मेरो भोगाइमा।
पुरानो यादले मन त्यसै त्यसै भक्कानिन्छ।बुढा भको बुवाआमा सम्झिन्छ। तिजको लागि घैया रोपेको गाउँमा महादेव थानमा रमाइलो गरेको पन्चीमा खोलामा नुहाउन जाँदा घुरुमा घुरु परेवा घुर्यो भन्दै संगिनी गाएको नाचेको।
दशैमा बाटो सफा गरेको बाबियो काट्न दाजुहरू गको पिङ हाल्न डोरी बाट्न सारा गाउँले जम्मा भको। तिहारमा कोदोबारीको पाटाभरि सयपत्री फुलेको होलान्। काल्लाभरि गोदावरी पाखाबारीमा मखमली फुलेको होलान्। पिपल बोटमा पिङ हालेहोलान् हातभरि सेलको चुरा लगाउँदै चच हैं चचहैं गर्दै खेल्दै होलान् अनगिन्ती पुराना यादले सताउँछ नि के गर्नु र!
मेरो शिवजी दाइ माइलो बुवाको छोराले म बाहेक कोहीसँग टिका लगाउनु हुन्न। अझै पनि मेरो दुई जना भाइ पनि छन्। उनीहरूले त अरूसँग नि टिका लगाउँछन्।
म एउटै चेली हुँ दाइको याद खुबै आउँछ। उहाँले अस्तिको दिनमा पनि फोन गर्नुभएको थियो। कुरा हुन सकेन म काममा भएकाले।
२०३४ तिवारको अविश्मरणिय क्ष्यण –साथिहरुसँग भैलि खेल्न झ्यालबाट भागेर गको बाटोमा ठुलै बिमिरो चोरियो अलि वर आएर बोटमा पाकेको केरा चोरियो सुन्तला चोरियो अनि हाम्रो घरको खाटमा बसेर खाको तेस्को बास्नाले हो या हाम्रो हल्लाले हो बुवा उठेर गाली गर्नुभो अर्को दिनमा सिस्नो र पानी गोरुतिवारको दिनमा मस्तै खाको थिएँ ।गाउँभरि हल्ला भयो चोरेको हाम्ले हो भनेर।
फूलमाला, सप्तरंगी टीका चेली हुँदा धेरै जाती,
आमा जस्तै चेली पनि ममताकी खानी।
प्रकाशित: १८ कार्तिक २०८१ १०:१८ आइतबार
