अनुहारमा रौं आउनु, तौल बढ्नु, कपाल झर्नु वा गर्भधारणमा कठिनाइ आउँदा धेरै महिलाहरू मानसिक रूपमा कमजोर महसुस हुनसक्छ
News Summary
Generated by OK AI. Editorially reviewed.
- पोलिइन्डोक्राइन मेटाबोलिक ओभेरियन सिन्ड्रोम (पीएमओएस) नामले पोलिसिस्टिक ओभरी सिन्ड्रोमको वास्तविक स्वरूपलाई समेटेको छ।
- विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब १० देखि १३ प्रतिशत महिलामा पीएमओएस हुने अनुमान गरिएको छ।
महिनावारी अनियमित हुनु । अनुहारमा अनावश्यक रौं बढ्नु । अचानक तौल बढ्दै जानु । गर्भ बस्न समस्या हुनु वा डन्डीफोरले हैरान बनाउनु । यस्ता समस्या धेरै महिलाले वर्षौंसम्म ‘सामान्य’ ठानेर सहँदै आएका छन् ।
कतिपयले त विवाहपछि गर्भ रहन कठिन भएपछि मात्रै आफूलाई ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ (पीसीओएस) भएको थाहा पाउँछन् । यो समस्या बाँझोपन हुनुको एक प्रमुख कारणमध्ये एक मानिन्छ । पछिल्ला वर्षहरूमा यसको दर झन् बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन (डब्लएचओ)का अनुसार विश्वभर करिब १० देखि १३ प्रतिशत महिलामा पीसीओएस हुने अनुमान गरिएको छ । तर चिन्ताको विषय के छ भने, यसबाट प्रभावित करिब ७० प्रतिशत महिलामा समस्या पहिचान नै हुन सकेको छैन ।
यसरी नहुनुमा कतिपयले यो रोग सामान्य मानेर वेवास्ता गरेको हुनसक्ने विज्ञहरूको अनुमान छ । साझा समस्या, पहिचानको दायरामा नआउनु, नामले रोगको समग्र चित्रण गर्न नसकेको भन्दै विज्ञानले पहिला यसलाई पीसीओस नाम दिएका थिए । अहिले यो रोगको नाम परिवर्तन गरी ‘पोलिइन्डोक्राइन मेटाबोलिक ओभेरियन सिन्ड्रोम’ नाम दिइएको छ ।
चिकित्सा क्षेत्रका विशेषज्ञहरूका अनुसार यो केवल नाम परिवर्तन मात्र होइन, महिलाको स्वास्थ्यलाई हेर्ने दृष्टिकोणमै आएको ठूलो बदलाव हो ।
विश्वभर आठमध्ये एक महिलालाई असर गर्ने यो समस्या लामो समयसम्म ‘ओभरीमा सिस्ट’ हुने रोगका रूपमा मात्र बुझियो । तर नयाँ अनुसन्धानहरूले त्यो बुझाइ अधुरो भएको देखाएपछि यसको नाम परिवर्तन गरिएको हो ।
दशकौँको बहसपछि आयो नयाँ नाम
यो नाम परिवर्तन एकैदिनमा सम्भव भएको निर्णय होइन । अष्ट्रेलियन एन्डोक्राइनोलोजिस्ट प्रोफेसर हेलेना टिडे नेतृत्वको टोलीले करिब एक दशक लामो अनुसन्धान, छलफल र अन्तर्राष्ट्रिय परामर्शपछि नयाँ नाम प्रस्ताव गरिएको हो ।
यो परिवर्तन यसै साता युरोपियन कांग्रेस अफ एन्डोक्राइनोलोजीमा घोषणा गरिएको थियो ।
प्रोफेसर टिडेका अनुसार पुरानो नामले रोगको वास्तविक स्वरूपलाई सीमित बनाइदिएको थियो । आधिकारिक रूपमा नाम घोषणा भएपछि प्रोफेसर टिडे भन्छिन्, ‘हामीले अहिले बुझ्यौं, यो रोगमा पाठेघरमा असामान्य सिस्ट मात्र बढेको हुँदैन । यसको असर शरीरका धेरै प्रणालीमा पर्छ । यो बुझाउन पनि नाम परिवर्तन आवश्यक थियो ।’
उनका अनुसार वर्षौंसम्म ढिलो निदान, कम जानकारी र अपूरो उपचारका कारया यो समस्याबाट महिलाहरू धेरै पीडित भएका थिए ।
‘यो अवस्था देख्दा निकै दुःख लाग्थ्यो’ टिडे भन्छिन्, ‘पहिलेको नामले पाठेघरमा सामान्य सिस्ट भएको मात्रै सम्झिएर वेवास्ता गरियो । नाम परिवर्तन आवश्यक थियो ।’
आखिर के हो ‘पीएमओएस ?’
पीएमओएस महिलामा देखिने जटिल हर्मोनल र मेटाबोलिक समस्या हो ।
यो समस्या हुँदा शरीरमा हर्मोन असन्तुलन हुन्छ, विशेषगरी पुरुष हर्मोन (एन्ड्रोजन) को मात्रा बढ्न सक्छ । साथै, इन्सुलिन प्रतिरोध, तौल बढ्ने, मानसिक स्वास्थ्य समस्या, छालामा असर तथा प्रजनन समस्या देखिन सक्छ ।
विशेषज्ञहरूका अनुसार यसको असर केवल अण्डाशयमा सीमित हुँदैन ।
यही कारण नयाँ नाममा ‘पोलिइन्डोक्राइन’ र ‘मेटाबोलिक शब्द थपिएको हो । नाम परिवर्तनले महिलाको स्वास्थ्यलाई सही रूपमा बुझ्न सकिने विज्ञहरूको तर्क छ ।
‘पीएमओएसलाई केवल पाठेघरको समस्या बुझ्नु गलत ’
वात्सल्य आईभीएफ सेन्टरकी बाँझोपन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ डा. उपमा बस्नेतका अनुसार धेरै महिलाले अझै पनि पीएमओएसलाई केवल ‘महिनावारी गडबडी’ वा पाठेघरमा पलाउने साना मासुका ढल्ला अर्थात् ‘ओभरीमा सिस्ट’ हुने समस्या मात्र ठान्ने गर्छन् ।
‘वास्तवमा यो जटिल हर्मोनल र मेटाबोलिक अवस्था हो । यसको असर केवल प्रजनन अंगमा सीमित हुँदैन’ बस्नेत भन्छिन् ।
उनका अनुसार यो समस्याले शरीरमा इन्सुलिन प्रतिरोध बढाउन सक्छ, जसले तौल बढ्ने, मधुमेहको जोखिम, छालामा समस्या, मानसिक तनाव र मुटुसम्बन्धी समस्या निम्त्याउन सक्छ ।
‘महिनावारी अनियमित हुनु, अनुहारमा रौं बढ्नु वा तौल बढ्नुजस्ता लक्षणलाई धेरै महिलाहरू वर्षौंसम्म आफ्नो समस्या सामान्य भनेर वेवास्ता गर्छन्, ’उनी भन्छिन्, ‘यही लक्षण शरीरभित्र भइरहेको हर्मोन असन्तुलनका संकेत हुनसक्छन् ।’
यो नामले यसको उपचार क्षेत्रमै प्रभाव पार्न सक्ने डा. बस्नेतको भनाइ छ ।
नाम परिवर्तनले के फरक पार्छ ?
विशेषज्ञहरूका अनुसार नयाँ नामले महिलाको उपचार र बुझाइमा ठूलो परिवर्तन ल्याउन सक्छ ।यसले रोगलाई केवल ‘सिस्ट’मा सीमित नराखी सम्पूर्ण शरीरसँग जोडिएको समस्या भनेर बुझाउन मद्दत गर्छ ।
यसले रोग पहिचानमा हुने ढिलाइको समस्या कम गर्छ, अनुसन्धानलाई नयाँ दिशा दिन र महिलाले समयमै उपचार पाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विशेषज्ञहरूका अनुसार पुरानो नामले रोगलाई केवल ‘स्त्रीरोग’ मा सीमित गरिदियो, जबकि यो सम्पूर्ण शरीरसँग जोडिएको समस्या हो । ‘पोलिस्टिक ओभिरियन सिन्ड्रोम’ भन्ने नामले धेरैलाई पाठेघरमा पलाउने मासु भएको समस्या भन्ने बुझाइ दिन्थ्यो ।
तर पछिल्ला अनुसन्धानले पीएमओएस भएका महिलामा असामान्य सिस्टको दर अन्य महिलाभन्दा धेरै नभएको देखाएका छन् । अर्थात् सिस्ट यसको मुख्य पहिचान होइन । यसले गर्दा धेरै महिलामा समस्याको सही निदानमा ढिलाइ भइरहेको थियो ।
नर्भिक अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कुमकुम झा अहिले परिवर्तन भएको नाम स्वागतयोग्य रहेको बताउँछिन् ।
किनभने कतिपय महिलालाई अल्ट्रासाउन्डमा सिस्ट नदेखिएपछि ‘तपाईंलाई पीसीओएस छैन’ भनिन्थ्यो, जबकि उनीहरूमा महिनावारी अनियमित हुने, तौल बढ्ने, अनुहारमा रौं आउने वा गर्भधारणमा समस्या भइरहेका हुनसक्थ्यो । ‘यो नाम दिएसँगै यो समस्याको बुझाइ र पहिचानमा गहनता देखिन्छ’ डा. झा भन्छिन्, ‘गहिराइमा लिएर निदान र उपचार हुनेमा विश्वस्त हुन सकिन्छ ।’
नेपालमा ढिलो गरी पहिचान हुन्छ समस्या
नेपालमा अझै पनि पीएमओएसबारे पर्याप्त चेतना नहुँदा धेरै महिलाको समस्या ढिलो पहिचान हुने गरेको डा. झा बताउँछिन् । ‘धेरैजसो महिलाहरू गर्भ नरहेको समस्या लिएर मात्रै अस्पताल आउँछन्’ डा. झा भन्छिन्, ‘त्यसबेला जाँच गर्दा पीएमओएस भएको थाहा हुन्छ ।’
उनका अनुसार किशोरी अवस्थादेखि नै महिनावारी अनियमित हुनु, तौल बढ्नु वा डन्डीफोर अत्यधिक आउनुजस्ता संकेत देखिए पनि त्यसलाई सामान्य परिवर्तन भनेर बेवास्ता गरिन्छ । समयमै पहिचान भयो भने जीवनशैली सुधार, खानपान र उपचारमार्फत समस्या धेरै हदसम्म नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।
मानसिक स्वास्थ्यमा पनि असर
पीएमओएसको असर केवल शरीरमा मात्र सीमित नरहने डा. बस्नेत बताउँछिन् । ‘अनुहारमा रौं आउनु, तौल बढ्नु, कपाल झर्नु वा गर्भधारणमा कठिनाइ आउँदा धेरै महिलाहरू मानसिक रूपमा कमजोर महसुस हुनसक्छ’ उनी भन्छिन् ।
उनका अनुसार समाजमा अझै पनि प्रजनन समस्याको दोष महिलालाई मात्र दिने प्रवृत्ति रहेकाले मानसिक दबाब झन् बढ्ने गर्छ । ‘धेरै महिलाहरू आफूलाई दोष दिन थाल्छन् । कतिपयमा आत्मविश्वास कम हुने, चिन्ता र डिप्रेसनका लक्षण देखिने हुँदा हामीकहाँ आउने कतिपय बिरामीलाई मनोपरामर्शका लागि समेत पठाएका छौं ।’
डा. झाका अनुसार पीएमओएस भएका महिलालाई केवल औषधि मात्र होइन, भावनात्मक सहयोग पनि आवश्यक हुन्छ । परिवारले सहयोग गर्ने, महिलाको कुरा सुन्ने र मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनु आवश्यक रहको उनी बताउँछिन् ।
उपचार सम्भव छ ?
विशेषज्ञहरूका अनुसार पीएमओएस पूर्णरूपमा निको हुने रोग नभए पनि नियन्त्रण गर्न सकिन्छ । उपचार महिलाको समस्या र आवश्यकताअनुसार फरक हुन सक्छ । यदि गर्भधारण चाहिएको छ भने त्यसअनुसार उपचार गरिन्छ । यदि मुख्य समस्या तौल, महिनावारी वा हर्मोन असन्तुलन हो भने जीवनशैली सुधारमा जोड दिइन्छ ।
‘पीएमओएसको उपचार केवल औषधिमा निर्भर नभई जीवनशैली सुधार पीएमओएस व्यवस्थापनको मुख्य आधार हो, ’डा. झा भन्छिन् । उनका अनुसार नियमित व्यायाम, स्वस्थ खानपान, पर्याप्त निद्रा र तनाव नियन्त्रणले पीएमओएस नियन्त्रणमा ठूलो भूमिका खेल्छ ।
केवल ५ देखि १० प्रतिशत तौल घटाउँदा पनि महिनावारी नियमित हुने, डिम्ब निष्काशनमा सुधार हुने र गर्भधारणको सम्भावना बढ्ने देखिएको डा. झा बताउछिन् । कतिपय अवस्थामा हर्मोन सन्तुलन मिलाउने औषधि, इन्सुलिन प्रतिरोध कम गर्ने औषधि वा बाँझोपनसम्बन्धी उपचार आवश्यक पर्न सक्छ ।
‘उपचार प्रत्येक महिलाको लक्षण र आवश्यकता अनुसार फरक हुनुपर्छु’ डा. झा भन् ‘सबैभन्दा ठूलो कुरा भनेको महिलाले आफ्नो शरीरमा देखिएका संकेतलाई बेवास्ता नगर्नु हो ।’
