पर्यटन मार्फत आर्थिक विकास गर्न सबै पक्षले आफ्नो दायित्व पूरा गर्नुपर्ने तमानको शोलेडाँडामा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन्।
तमानखोला गाउँपालिका-४ र म्याग्दीको मालिका गाउँपालिकाको सिमाना क्षेत्रमा पर्ने शोलेडाँडामा आयोजित पर्यटन गोष्ठीमा सहभागीले कुनै एक पक्षको प्रयासले मात्रै पर्यटनबाट आम्दानी हाँसिल गर्न नसकिने भएकाले सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने बताए। नेपाल पत्रकार महासंघ बागलुङको आयोजना र तमानखोला गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा सहभागीले भने, ‘पर्यटनका लागि भौतिक पूर्वाधारसँगै प्रचार प्रसारको पनि जरुरी हुन्छ। त्यससँगै पाहुनालाई दिने नयाँ स्वाद पनि हुनुपर्छ। त्यसले मात्रै पर्यटन विकास हुन्छ।’
पर्यटनको विकास मार्फत लाभ लिनका लागि सरकारी, निजी क्षेत्र र आम नागरिकले पनि विशेष लगानी गर्नुपर्ने उनीहरूको भनाई थियो। ‘पर्यटकीय ठाउँहरूमा पूर्वाधार निर्माण गर्ने र प्रचार प्रसार गर्ने काममा सरकारी पक्षले ध्यान दिनुपर्छ,’ कार्यक्रममा सहभागीले भने, ‘यहाँ आएका पर्यटकलाई आवश्यक अन्य सेवाहरूका लागि निजी क्षेत्र र यहाँको स्थानीय नागरिकले लगानी गर्नुपर्छ। गाउँमा आउने पर्यटकलाई गाउँकै पहिचान दिने खानेकुरा खुवाउन सकियो भने मात्रै उनीहरूलाई पुनः फर्केर आउने वातावरण बनाउन सकिन्छ।’ कार्यक्रममा बोल्दै तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले गाउँपालिकाले संघ र प्रदेश सरकारसँग मिलेर पालिका भित्रका पर्यटकीय क्षेत्रहरूको पहिचान गर्दै आवश्यक पूर्वाधार र भौतिक संरचना निर्माणलाई तीव्रता दिएको बताए।
‘हामीले पूर्वाधार निर्माणको क्षेत्रमा काम अगाडि बढाएका छौँ,’ उनले भने, ‘यहाँको बराह ताल, शोलेडाँडा लगायतका ठाउँहरूमा आवश्यक पूर्वाधारहरूको काम अगाडि बढेको छ।’ शोलेडाँडामा पाहुनाघर, कोशेलीघर, सहिदपार्क शौचालय निर्माणका काम सम्पन्न भएको छ। बराह तालमा पुग्नका लागि पदमार्ग, त्यहाँ पुग्ने पर्यटकका लागि आवश्यक खानेपानी, शौचालय, पिकनिक स्पोट लगायतका संरचना बनेका छन्। ताल संरक्षणका लागि आवश्यक घेराबार पनि लगाइएको छ। तालको वरिपरि पनि स्लेट ढुङ्गा बिच्छ्याएर पदयात्रीका लागि संरचना तयार गरिएको पनि अध्यक्ष बुढाले जानकारी गराए।
उनले प्राकृतिक रूपमा अनुपम आनन्द दिने लालीगुराँस फुल्ने क्षेत्र घुम्न आउन आग्रह गरे। आन्तरिक र बाह्य पर्यटकका लागि पनि तमानखोला भर्जिन गन्तव्य रहेको उनको भनाई छ। शोले डाँडामा सिमानाको विवादको विषयले निर्माण गरिएका थुप्रै भौतिक संरचनाहरूमा क्षति पुगेकोले दुवै पक्षले शोलेबाट लाभ लिनेगरी काम गर्न सकिने बताए। ‘म्याग्दीको मालिका गाउँपालिकासँग केही समयदेखि सिमानाको विषयमा विवाद देखिएको छ, यो विगतदेखि नै तमान लाममेलाका नागरिकले उपभोग गर्दै आएको क्षेत्र हो,’ उनले भने, ‘यो एउटा राम्रो पर्यटकीय ठाउँ भएकाले हामीले दुवै पालिकाले साझेदारीमा काम गरेर दुवै क्षेत्रका नागरिकले लाभ लिने वातावरण बनाउन सकिन्छ।’
गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले पर्यटकीय क्षेत्रहरूमा संरचना निर्माण गर्दा पर्यटकमैत्री संरचना निर्माणमा ध्यान दिने बताइन्। ‘स्थानीय सामग्रीहरूको उपयोग करके पर्यटकलाई यहाँ आएर हेर्दा आनन्द लाग्ने खालको संरचना बनाउने कुरामा हाम्रो ध्यान रहनेछ,’ उनले भनिन्, ‘सबैको साझा प्रयासबाट मात्रै पर्यटनबाट आर्थिक विकास गर्न सम्भव छ।’ तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमिट परियारले तमानखोलाका विभिन्न पर्यटकीय ठाउँहरूमा गाउँपालिकाले लाखौँ रकम लगानी गरेकाले त्यसबाट प्रतिफल लिने विषयमा नागरिकले ध्यान दिनुपर्ने बताए।
‘लगानी गरेपछि त्यसबाट प्रतिफल पनि लिन सक्नुपर्छ, गाउँपालिकाले लाखौँ रकम खर्चेर संरचनाहरू निर्माणको काम गरेको छ,’ उनले भने, ‘त्यसको प्रतिफलका लागि नागरिकले पनि विशेष भूमिका खेल्नुपर्छ। यहाँ आउने पर्यटकहरूलाई स्थानीय उत्पादनको वस्तुले आकर्षित र मोहित बनाउन सक्दा त्यसबाट यो ठाउँलाई र तपाईँहरूलाई नै फाइदा हुन्छ।’ कार्यक्रममा तमानखोला गाउँपालिका-३ का अध्यक्ष झकबहादुर बुढाले पर्यटनबाट आम्दानी गर्न स्थानीयले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। ‘पर्यटनलाई हाम्रो आम्दानीसँग जोड्नका लागि यहाँको मौलिक उत्पादनमा ध्यान दिनुपर्छ, यहाँ आउने पाहुनालाई यहाँकै वस्तु खुवाउने र उपहार दिने वातावरण बनाउनुपर्छ,’ उनले भने।
तमानखोला-४ का वडाध्यक्ष छ प्रसाद श्रीपालिले शोलेडाँडा मार्फत पर्यटन विकास लागि आफूहरूले धरै काम गरेको बताए। ‘showle डाँडा आफैमा एक चर्चित नाम हो, यहाँ गुराँस फुल्दा र हिउँदमा हिउँ खेल्न आउनेहरूको निकै छन्,’ उनी भन्छन्, ‘यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पनि सबैलाई मोहित बनाउँछ। हामीले पनि यहाँ आउनेहरूको सहजताका लागि पूर्वाधारको क्षेत्रमा धेरै काम गरेका छौँ।’ स्थानीय युवा प्रेम बुढाले पर्यटकीय क्षेत्रमा बनाइएका संरचना क्षति पुर्याउनेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे। ‘यहाँ बनेका संरचनाहरू भत्काइएको छ बिगारिएको छ, यस्तो गर्नेलाई कारबाही गर्नुपर्छ,’ उनी भन्छन्, ‘कोसेली घर, सामुदायिक भवन भेडा राख्ने ठाउँ भएको छ। यस्तो हुनुभएन।’
कार्यक्रममा तमानखोला गाउँपालिका : पर्यटन सम्भावना र चुनौती विषय अवधारणापत्र पत्रकार महासंघ बागलुङका सदस्य संगम घर्तीमगरले प्रस्तुत गरेका थिए। वन्यजन्तुको चाल नियाल्ने र चराचुरङ्गीको चिरबिराहटमा रमाउन चाहने पर्यटकहरूका लागि तमानखोला गतिलो गन्तव्य बन्न सक्ने अवधारणा पत्रमा उल्लेख छ। ‘गाउँमा आउने पर्यटकलाई परम्परागत व्यवहार, त्यहाँको मौलिक संस्कृति, खेतीपाती वा दैनिक व्यवहारको अवलोकन, गाउँको सेरोफेरोको भ्रमण अनि गाउँमै उत्पादन गरिएका सामग्रीहरू खाँदै गाउँकै घरमा बस्ने अनि गाउँमै उत्पादन भएका कोसेलीहरू बोकेर जाने वातावरण सिर्जना गर्नुपर्छ। नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षसँग नजिकै रहेका कारण ढोरपाटनमा आउने पर्यटकलाई तमानखोला भित्र्याउनका लागि आवश्यक पदमार्गहरूको विकास गर्नु आवश्यक छ,’ अवधारणा पत्रमा भनिएको छ।
तमानखोला गाउँपालिकासँग पर्यटकीय गन्तव्य बनाउनका लागि मुठाचौर बराह ताल, शोलेडाँडा, नौडल्ले पहाड, ढोमई थान लगायतका धार्मिक तथा प्राकृतिक सौन्दर्यका ठाउँहरू रहेका छन्। अंकुटे देउराली, धान्चे देउराली, नौडल्ले पहाड, बयलीको धुरी, पुठाले खोलेको ताल, शोलेडाँडा, अमिलचौर जोड्दै दुरलेकको धुरी, ताराखोला, घुम्टेधुरी, घोडाबाँधे, गाजादहसम्मको पदमार्ग, खानेपानी, पर्यटकीय क्षेत्रको सूचना तथा जानकारी बोर्ड, पर्यटकको बसाइँका लागि विभिन्न ठाउँमा घरबास (होमस्टे) व्यवस्थापन, नौडल्लेको पहाड पुगेर फर्कँदा वन्यजन्तुसँग साक्षात्कार गर्ने गरी नर्जा भित्रीवनमा चिडियाघर निर्माण गर्न सकिने अवस्था छ।
तमानमा पर्यटकलाई आकर्षित गर्नका लागि अप्ठ्यारो र चट्टानी भूगोललाई उपयोग गर्दै शाहसकि पर्यटन रक क्लाईम्बिङको सम्भावना पहिल्याउन सकिन्छ। स्थानीय उत्पादन आलु, सिमी, जौ लाई व्यावसायिक बनाई कृषि पर्यटनसँग पनि जोड्न सकिन्छ। यहाँ आउने पर्यटकलाई आलुका विभिन्न परिकार, जौ/मकैको आटो, सिमीको दाल र मोही (गोरस)को ब्रान्डिङ गर्न सकिने अवस्था रहेको छ।
नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले तमानखोला भित्रका विभिन्न पर्यटकीय गन्तव्यहरूको पहिचान गरी त्यसको उजागर गर्नका लागि गाउँपालिकासँग पत्रकार महासंघले सहकार्य गर्ने बताए। ‘तमानखोलाका धेरै ठाउँ, संस्कृति, परम्परा र यहाँको गाउँ ठाउँको मौलिकता पर्यटकका लागि नौलो स्वाद दिने खालका छन्,’ उनले भने, ‘त्यसको पहिचान र प्रचार प्रसारका लागि पत्रकार र पत्रकार महासंघले सहकार्य गर्छ।’ ओझेलमा परेका क्षेत्रहरूलाई सञ्चारमाध्यम मार्फत बाहिर ल्याएर प्रचार प्रसार गर्ने उनले बताए।
प्रकाशित: १० जेष्ठ २०८३ १०:१२ आइतबार
