प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार

अमेरिका आउन चाहने व्यावसायिक वा पर्यटक भिसाका आवेदक विदेशी नागरिकहरूका लागि अमेरिकी विदेश मन्त्रालयले ‘प्रिमियम’ द्रुत सेवा (ल्याउने भएको छ। यस सेवाका लागि आवेदकहरूले सुरुवाती १८५ डलरको भिसा शुल्कबाहेक थप ७५० अमेरिकी डलर बुझाउनुपर्नेछ।
आज ‘फेडरल रजिस्टर’ मा प्रकाशित सूचना अनुसार, विदेश मन्त्रालयले एउटा ‘पाइलट प्रोजेक्ट’ घोषणा गर्दैछ। जसअन्तर्गत तोकिएका निश्चित अमेरिकी दूतावास वा कन्सुलर कार्यालयहरूमा थप ७५० डलर तिरेको १० दिनभित्रै अन्तर्वार्ताको मिति तय गर्न पाइनेछ। यो पाइलट प्रोग्राम आगामी जुलाई १ देखि डिसेम्बर ३१ सम्म लागु हुनेछ।
यो कदमलाई ट्रम्प प्रशासनद्वारा अमेरिका प्रवेशमा कडाइ गर्ने नीतिका कारण उत्पन्न असहज परिस्थितिलाई केही सहज बनाउने प्रयासका रूपमा हेरिएको छ। वर्तमान प्रशासनले विदेशी आप्रवासनका प्रायः सबै स्वरूपहरूमा कडाइ गरेको छ।
केही देशहरूका नागरिकका लागि भिसा प्रोसेसिङका क्रममा १५,००० डलरसम्मको बन्ड बुझाउनुपर्ने व्यवस्था गरिएको छ भने आवेदकहरूको सामाजिक सञ्जाल खातासहित वर्षौँ पुरानो व्यक्तिगत इतिहासको सुक्ष्म जाँच समेत अनिवार्य गरिएको छ।
यी नयाँ कडा नियमहरूका कारण विश्वभर नै भिसा प्रोसेसिङमा निकै ढिलाइ भइरहेको छ, जसले गर्दा सर्वसाधारणमा असन्तुष्टि र गुनासो चुलिएको छ।
‘भिसा वेभर प्रोग्राम’ मा नसमेटिएका देशका नागरिकहरूका लागि भिसा अन्तर्वार्ताको पालो पाउन महिनौँ वा त्योभन्दा बढी समय पर्खिनुपर्ने बाध्यता छ। तर, यो थप शुल्क अर्थात् ‘ऐच्छिक प्रिमियम सेवा’ बापतको रकम बुझाउँदैमा भिसा पाइने ग्यारेन्टी भने हुने छैन।
यो द्रुत सेवा कुन-कुन देशका अमेरिकी दूतावास वा कन्सुलर कार्यालयहरूमा उपलब्ध हुनेछ भन्ने कुरा कार्यक्रम लागु हुनुअघि जुलाई १ भन्दा अगाडि नै घोषणा गरिनेछ। यो परीक्षण कार्यक्रम यस वर्षको अन्त्यसम्म चल्ने भए तापनि यसको माग र प्रभावकारिता हेरेर समयावधि थप गर्न सकिने जनाइएको छ।
