प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार

साङ्केतिक तस्वीर । एआई निर्मित
अमेरिकाको कोलोराडो राज्यमा हान्टाभाइरस संक्रमण पुष्टि भएका एक वयस्क व्यक्तिको मृत्यु भएको छ। कोलोराडो डिपार्टमेन्ट अफ पब्लिक हेल्थ एन्ड इनभाइरोन्मेन्टले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त मृत्यु हालै एटलान्टिक महासागरमा सञ्चालन भएको एक क्रुज जहाजमा देखिएको प्रकोपसँग सम्बन्धित नभएको स्पष्ट गरेको छ।
डिपार्टमेन्टका अनुसार मृत्यु गराउने हान्टाभाइरसको प्रकार कोलोराडोमा वर्षको यस समयमा नियमित रूपमा देखिने खालको हो। संक्रमणको स्रोत पत्ता लगाउन अधिकारीहरूले अनुसन्धान जारी राखेका छन्।
हान्टाभाइरस मुख्यतया: मुसाजस्ता कृन्तक जनावरबाट सर्ने गर्छ। यद्यपि, अत्यन्तै दुर्लभ अवस्थामा लामो समयसम्म नजिकको सम्पर्क भएमा मानिसबाट मानिसमा पनि सर्न सक्ने बताइएको छ। यसको इन्क्युबेसन अवधि करिब ६ हप्तासम्म रहन सक्छ।
यसैबीच, डच झन्डावाहक क्रुज जहाज एमभी होन्डियस सोमबार रोटरड्याम बन्दरगाहमा पुगेको छ। उक्त जहाजमा २३ देशका करिब १५० यात्रु तथा चालक दलका सदस्य सवार थिए। मे २ मा विश्व स्वास्थ्य संगठनलाई पहिलो पटक गम्भीर श्वासप्रश्वाससम्बन्धी रोगहरूको समूहबद्ध संक्रमणबारे जानकारी दिइएको थियो।
डब्ल्यूएचओका अनुसार उक्त जहाजमा हालसम्म तीन जनाको मृत्यु भइसकेको छ। मृत्युका घटनासहित जहाजमा आठ जना पुष्टि भएका संक्रमित र दुई जना सम्भावित संक्रमित फेला परेका छन्।