१५ असोज, काठमाडौं । आफूलाई सुगर ड्याडी भनेर चिनाउने आशिष देउलाको अपराधबारे झण्डै एक महिना लामो अनुसन्धानपछि प्रहरीले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन रायसहितको प्रतिवेदन दिएको छ ।
प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले देउला र उनका साथी २२ वर्षीय ओजश्वी तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा समेत दर्ता गरिसकेको छ । मंगलबार अदालतबाट उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश आउनेछ ।
तर, अन्य प्रकरणमा झैँ अनुसन्धान प्रतिवेदन बुझाएर सरकारी वकिल हुँदै अदालतमा मुद्दा दर्ता हुँदैमा सुगर ड्याडी मामलाको अनुसन्धान पूरा हुँदैन । देउला प्रकरणको पृष्ठभूमि यति गम्भीर र दर्दनाक छ कि त्यस मामलाले सामान्य वा नियमित ढंगबाट अनुसन्धान र अभियोजनभन्दा पर पनि थप जाँचको आवश्यकता देखाउने जानकारहरु बताउँछन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरे स्वयम् भन्छन्, ‘मैले करिअरमा यो किसिमको क्रुर र आपराधिक मनोवृत्ति भएको व्यक्ति देखेको थिइनँ ।’ अनुसन्धानको दृष्टिबाट पनि देउला प्रकरणमा अर्को एउटा अनियमित परिघटना पनि छ। अपराधशास्त्र भन्छ– जुनसुकै अपराधको पछाडि पनि केही न केही ‘मोटिभ’ लुकेको हुन्छ । तर, अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, देउला प्रकरणमा यो मान्यता मेल खाँदैन ।
काठमाडौं प्रहरीको मुद्दा शाखाका डीएसपी हरि खतिवडा भन्छन्, ‘उनले क्रुर तरिकाले अरुलाई यातना दिनु पछाडि कुनै उद्देश्य देखिँदैन, उनी जम्मा–जम्मी अरुलाई दुःख र यातना दिएर रमाउन चाहन्छन् ।’ त्यसैले देउला प्रकरणले केही आपराधिक र समाजशास्त्रीय प्रश्नको पनि जवाफ पनि माग्छ ।
कोही मानिस किन यति विध्न क्रुर बन्छ ? विना कुनै कारण अरुलाई यातना दिएर, त्यसको भिडियो खिचेर रमाइलो गर्ने सोच उसमा केले ल्याउँछ ? त्यसैले यसमा अपराध अनुसन्धानसँगै एउटा ‘अपराधिक मनोविज्ञान’को पनि जाँडपडताल गर्नुपर्ने देखिन्छ ।
सुरुमा देउलाले केसम्म गर्थे भन्ने पृष्ठभूमितिर जाउँ । काठमाडौं प्रहरीमा जाहेरी दिन पुगेका विशाल पोडेको भनाइमा, एक जना साथीले ऋण फिर्ता गरिदिने भनेपछि उनी टेकुस्थित पचली भैरवको मन्दिर छेउ पुगेका थिए । अपराह्न साढे ४ बजेतिर साथी सुबेल पुजारीलाई भेटेर रकम लिँदै गर्दा एक्कासी देउला आइपुगे ।
३२ वर्षीय देउला तिनै व्यक्ति हुन्, जो दिनभरि सामान्य रुपमा आफ्नो काममा हिँड्थे, रात परेपछि बूढो मानिसको मुखुण्डो लगाएर नाइट क्लबहरुमा ‘सुगर ड्याडीको भेष’मा हिँड्थे । सुगर ड्याडी भन्नाले कोही धनी र पाको व्यक्तिलाई बुझिन्छ, जो भर्खरकी महिलाहरुलाई आफ्नो इच्छा पूरा गरिदिए वापत आकर्षक उपहार दिन्छन्, सहयोग गर्छन् ।
अनुसन्धान अधिकृतहरुको भनाइमा देउला नाइट क्लबमा सधैँ ५/७ जना युवतीले घेरिएका हुन्थे । सबैको पैसा तिरिदिन्थे । तीमध्ये कयौंलाई भने घरमा लगेर यातना दिँदै उनले आनन्द लिने गरेको अधिकृतहरुको भनाइ छ ।
काठमाडौंको एलओडी क्लबका एसिस्टेन्ट म्यानेजर दीपक पराजुलीले देउलाले २०८० सालमा जन्मदिन मनाउने भन्दै क्लबमा आएर चार वटा टेबल बुक गरेर २५/३० जना केटाकेटीहरु भेला पारेको प्रहरीसँग भनेका छन् ।
‘त्यसबेला उनले हाल प्रहरीले बरामद गरेको रबरको बुढो मानिसको मास्क लगाएर छोटो मिडियो बनाउने भनेर क्लबमा भनेका थिए’, उनले भनेका छन्, ‘त्यसपछि क्लबभित्र छोटो भिडियो खिचेका थिए ।’ अरुबेला युवा अवस्थाको देखिने उनी मास्क लगाएपछि सुगर ड्याडीको नामबाट चिनिने पराजुलीले बयानमा भनेका छन् ।
प्रहरी कहाँ जाहेरी दिएका पोडेको भनाइमा, यिनै सुगर ड्याडीले उनलाई भेट्ने वित्तिकै एक्कासी बा ७ च ६४६१ नम्बरको पजेरो गाडीमा चढाएका थिए । उनीसँगै ४/५ जना अरु केटाहरु पनि थिए, पोडे भाग्न खोज्दा जबरजस्ती गर्दै कुटपिट गर्न थाले ।
‘करिब १० मिनेटजति दूरिमा पर्ने सबलबाहलस्थित उनको आफन्तमा घरमा पुर्याएर मलाई ओराले’, उनले भनेका छन्, ‘घरमा पुर्याएपछि मलाई गाडीबाट ओरालेर घरको २ तलामाथिको कोठामा लगेर मलाइ बन्धक बनाएका थिए ।’
उनको भनाइमा, त्यसबेला देउलाको समूहले उनलाई खाने कुरा खान्छस् भन्दै सोधेको थियो । त्यसबेला उनले खान्न भनेपछि देउलाले गाडीमा रहेको फलामको आइरन ल्याउन लगाएका थिए । ‘त्यसबेला गाडीबाट आइरन निकालेर आशिष देउला, सवेल पुजारी र आशिष तामाङसहित ४/५ जनाले मलाई धम्क्याएका थिए’, उनले भनेका छन्, ‘मैले लगाएको भेष्ट च्यातेर शरीरको माथिल्लो भाग नांगो बनाएका थिए ।’
त्यसपछि घरको भित्ता प्वाल बनाउन प्रयोग हुने ‘फलामको ड्रिल मेसन लगाएर शरीरमा प्वाल पारौं कि फलामको आइरल तताएर डामौं’ भन्दै पानीको पाइप जोड्न प्रयोग हुने फलामको आइरन विद्युत् लाइनमा जोडेको उनले भनेका छन् ।
‘त्यसपछि चार पाँच जनाले आपराधिक बल प्रयोग गरेर ढाडको पछाडिको पूरै भागमा तातो आइरनले पोलेर डामेर यातना थिएका थिए, त्यसपछि म अचेत अवस्थामा पुगेको थिएँ’, उनले भनेका छन्, ‘त्यसपछि उनीहरुले मलाई मरेको भन्ने सोचेर टेकु दोभानमा लगेर फयाँकिदिएका रहेछन् ।’
काठमाडौंका एसएसपी रजौरेका अनुसार, देउलाबाट पीडित हुने पोडे एक्ला व्यक्ति होइनन् । क्लबबाट लगिएका अन्य युवायुवती पनि उनीबाट पीडित हुने गरेका थिए । तर, प्रहरीको अनुसन्धान प्रतिवेदनमा ती विषय उल्लेख छैन ।
‘कतिपयले फोनबाट आफ्नो कथा सुनाउनु भएको थियो, टाढा रहनु भएकाले सबैले आएर उजुरी दिन पाउनुभएन’, उनी भन्छन्, ‘अझै पनि देउलाबाट पीडित भएकाहरुलाई प्रहरी कहाँ आउन अनुरोध गर्छु ।’ प्रहरीले अनुसन्धानका क्रममा सोधपुछ गरेकाहरुले देउलाबाट अरु धेरै पीडित भएको बताउँछन् । जानकारहरुका अनुसार, कतिपय विभिन्न कारणले प्रहरीसँग आउन चाहिरहेका छैनन् ।
काठमाडौं प्रहरीमै २०८० भदौ ३० गते राति भएको तीनकुने सामुहिक हत्या प्रकरणमा आरोपी सञ्जय भण्डारीले कम्तीमा थप ६ हत्यामा संलग्न रहेको भन्दै सनसनीपूर्ण बयान दिएपछि अनुसन्धान अधिकृतहरु अलमलमा परेका थिए । पछि प्रकरणको जाँचका क्रममा ती आरोपीको दिमागको अवस्था ठिक भए/नभएको पत्ता लगाउन प्रहरीले ‘ब्रेन म्यापिङ’ विधि पनि प्रयोग गरेको थियो ।
अपराध अनुसन्धानका जानकारहरुका अनुसार, समाजमा हुने सुगर ड्याडी, तिनकुने सामुहिक हत्या जस्ता प्रकरणमा सामान्य र नियमित ढंगको अनुसन्धान मात्र पर्याप्त हुँदैन । अहिले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन हेर्दा प्रहरीले विशुद्ध अन्य अपहरण र शरीर बन्धक र ज्यान उद्योगको अनुसन्धानमा झैँ भिन्न केही नखोजिएको देखिन्छ ।
अमेरिकामा फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले अपराधीको व्यवहार र मनोवृत्तिमाथि अध्ययन गर्न ‘बिहेभियरल एनालाइसिस युनिट (बीएयू)’ नै बनाएको छ । अपराध अनुसन्धानमा सहयोग पुगोस् भनेर एफीआईको नेश्नल सेन्टर फर एनलाइसिस अफ भायोलेन्ट क्राइममा यो युनिट छ । त्यसले यस्ता जघन्य र क्रुर प्रकृतिको अपराधमा अभियुक्तको मनोवृत्तिबारे पनि जाँच गर्नेगर्छ ।
नेपाल प्रहरीका एक अनुसन्धान अधिकृत पनि देउजा, भण्डारी जस्ता अपराधिक मनोवृत्तिका अभियुक्तहरुबारे विस्तृतमा कुनै न कुनै रुपमा अध्ययन हुनुपर्ने बताउँछन् । ‘विदेशमा यस्ता व्यक्तिबारे जाँच गर्दै जाँदा पुराना अपराधका गुत्थीहरु पनि सुल्झिएका उदाहरणहरु छन्’, उनले थपे, ‘नेपालमा त हामीले तिनकुने प्रकरणका आरोपीको सनसनीपूर्ण बयान मिडियामा फ्याँकेर पनि त्यसको खास कुरा के हो भन्ने निर्क्योल गर्न सकेनौं ।’ अदालतमा पुगिसकेपछि प्रहरीले आफ्नो काम सकिएको ठान्ने हुँदा पनि यस्ता व्यक्तिबारे थप अनुसन्धान नहुने गरेको हो ।
तर, अपराधशास्त्रीहरु भने कुनै पनि अपराधलाई निर्मूल पार्न त्यस्तो प्रवृत्तिको जरासम्म पुगेर उपचार गर्नुपर्ने बताउँछन् । इटालीका अपराधशास्त्री इन्रिको फेरीले त १८ औं शताब्दीमै अपराधमा संलग्नहरुलाई पाँच प्रकारमा वर्गीकरण गरेका थिएः ‘बर्न क्रिमिनल (जन्मजात), इनसेन क्रिमिनल (पागल जस्तै), क्रिमिनल बाई प्यासन (जोश), ह्याबिच्यूअल क्रिमिनल (बानी परेको) र अकेजनल क्रिमिनल (आवेग वा नचाहँदा नचाहँदै अपराधमा परेको व्यक्ति) ।’
उनकै शब्दमा समाजमा रहेका यस्ता मनोवृत्तिलाई उपचार गर्न त्यसको गहिराइसम्म पुगेर प्रकृति छुट्टयाउनुपर्छ र मानिसमा अपराधिक सोच नै नआउने वातावरण बनाउनुपर्छ ।