सीमापारिको नेपाल दोधारा चाँदनीमा पुग्दा


महाकाली नदी पारि पनि नेपाली दुई गाउँहरू छन् भनेको सुन्दा आश्चर्य लाग्नु स्वभाविक छ। नेपालको सीमा पूर्वको मेची नदी र पश्चिमको महाकाली नदीहरू हुन् भनेर सुन्दै, बुझ्दै र पढ्दै आएको छु। तर यति हुँदाहुँदै पनि महाकाली नदी पारि पनि नेपाली दुई गाउँहरू छन्भन्दा पुगेर त्यहाँ पाइतालाका छाप छोड्दै प्रत्यक्ष रूपमा साक्षी बस्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो मलाई। बाल्यकालीन दिमागमा परेको छाप हत्तपत्त नमेटिने रहेछ।  मैले सुनेको र बुझेको आजभन्दा करिब पचास बर्ष अगाडिको हो।

कहिलेकाहीँ फुर्सदको समयमा सम्झनामा आइरहने रहेछ बाल्यकालका कुराहरू।  र, ती कुराहरूका आसक्तिले पछ्याइरहने रहेछन्। धेरै कुराहरूमा आकर्षण भए पनि अमिट छाप बनेर दिमागमा बसेको दोधारा चाँदनीले भने सोधी रह्यो कहिले आउने भनेर! स्वागत गर्न तम्तयार भएर बसेको छु भन्दै दोधारा चाँदनीले सदैव भनिरहेजस्तै आभास भइरहन्थ्यो मलाई।

यस्तैमा जीवनको लामो अन्तरालपछि त्यो मिति र क्षण आइपुग्यो अनायसै। भारतको राजधानी नयाँ दिल्लीमा केही जरुरी कामले जानु पर्ने भयो। एक प्रकारले पशुपतिको दर्शन सिद्राको व्यापारजस्तै।  यातायातहरूका भाडाहरूबारे सोधखोज गरें।  हवाइ मार्गको टिकट एकदमै छुनै नसकिने खालको न्यूनतम एकतर्फी कै रू. १९,०००/- देखि शुरू भएर लाखौंसम्मका भएको कुरा इन्टरनेटको ‘चिप फ्लाइट्स’ ले देखाएकोले निकै महंगो अनुभूति भयो।  तर बसबाट आतेजाते गर्नेहरूबाट थाहा भए अनुसार काठमाडौंबाट नयाँ दिल्लीसम्मको यात्रा गर्दा अधिकतम् रू.४,५००/– जति लाग्ने (बसको काठमाडौंदेखि महेन्द्रनगरको भाडा रू.२,६००/– र महेन्द्रनगरदेखि नयाँ दिल्लीको भाडा रू.१,२८०/–  समेत जमा रू. ३,८८०/– र अन्य भैपरि आउने खर्चहरू समेत गरी) लाग्छ भनी सुनाएका थिए। त्यसैले मैले पनि महँगो भाडा तिरेर हवाइ जहाजबाट जानुभन्दा बसबाटै यात्रा गर्ने निर्णय गरें।

यसबारे जीवनसाथी रत्नसँग कुरा राखें। तिनले स्वीकृति त जनाइन्। तर त्यति लामो यात्रा एक्लै जाने कुरामा विमति जनाइन्। त्यसपछि सोबारे मन्थन गर्‍यौं र एक किसिमले खाली नै रहेका भाञ्जा विकास सुच्चा राई (मेरो काकाकी छोरी बहिनी भावना राईको सुपुत्र) सँग सरसल्लाह गर्ने कि भन्ने कुरामा सहमति भयो। त्यही अनुसार मैले भाञ्जा विकाससँग कुरा गरें।  भाञ्जाले घर परिवारसँग कुरा गरी यात्रामा निस्कने कुरामा सहमति जनाउनुभयो। त्यसपछि आपसी सरसल्लाह गरी शनिवार, मङ्सिर ३०, २०८० का दिन काठमाडौंबाट प्रस्थान गर्ने मिति तय गर्‍यौं।

प्रस्थान गर्ने मिति निश्चित भएपछि सुन्धारास्थित महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रा.लि.को बुकिङ काउण्टरमा गई बस नं.१३३२ को भोल्भो सुपर एसीको नं.बी साइडको ‘क’ र ‘ख’ टिकट बुक गर्ने काम गरें मङ्सिर २६ गतेका दिन।

त्यसपछि यात्राकालागि तयारीमा रह्यौं।  आवश्यक पर्ने सामानहरूको लिष्ट बनाएर नै सानो सुटकेशमा राखें।

नयाँ बस पार्कबाट दिनको साढे एकबजे बसले प्रस्थान गर्ने भएकोले आधा घण्टा अगाडि नै पुग्यौं हामी। र, केही समयको प्रतीक्षापछि गोङ्गबुबाट बसले गुड्ने सुरसार गर्न थाल्यो। बस चढ्ने क्रममा डी.आर.राई (अर्थात् दिनेशकुमार राई) २०१६ नभेम्बरको पहिलो हप्तान्तमा स्पेन बार्सिलोनामा ट्रेन यात्राबाट ओर्लिएर विद्युतीय भर्‍याङ्बाट उक्लदा भएको घट्नाको स्मरण भयो मलाई।

उनले उल्लेख गरेका छन्– ‘ट्रेनबाट ओर्लेर अर्को स्टेशनको लिफ्टबाट माथि उक्लिरहेका थियौं। अग्निजी र कृष्णजी अघिअघि गइसक्नु भएको थियो। ठूलो व्याग घिसार्नु र ढाडमा कसिलो गह्रौं व्याग बोकेकाले ज्यानलाई सकस पारिरहेको थियो।

विद्युतीय खुला भर्‍याङबाट उक्लिरहेको थिएँ, खासै भिड थिएन।पछाडिबाट मान्छे टाँसिएकोजस्तो लाग्यो। हतार हुनेलाई  एक साइटबाट हिंड्न खुल्ला थियो।  र पनि मलाई अप्ठ्यारो महसुस भयो। अलिमाथि पुगेपछि एकजना आएर हातको केही सामान मेरो खुट्टामा खसाल्यो।

त्यसपछि उसैले एकदमै हतारिएको शैलीमा बाटो नै छेकेर त्यो सामान टिप्न र केके गर्न थाल्यो। त्यै बेला पछाडिबाट मेरो पेण्टको पछिल्लो पकेटमा तानिरहेको थाहा पाएँ। मेरो दुवै हात खाली थिएन। एउटामा क्यामरा र अर्कोमा ठूलो ब्याग थियो। माथि भर्‍याङले छोडेपछि मैले हट भनेर कराएँ। पछाडि फर्कने अवसर नै दिएन मलाई। अलि जोडले कराए पछि मात्र पर पुगेका दुई साथी फर्केर आए। मसँगै अर्को कालो वर्णको हप्सीले पनि मार झपार्‍यो त्यो पाकेटमारलाई। कृष्णजीले पनि झाप्दै पुलिस बोलाऊ भन्नुभयो। केही लान सकेन, लफडामा नफसौं भन्ने सोच बन्यो। केही नोक्सान नभएपछि बाटो लाग्यौं। त्यसपछि हातमा क्यामरा बोक्न डर लाग्यो।’ (राई, दिनेशकुमार उर्फ डी.आर., सेन्टोसा, बार्सिलोना शीर्षकीय नियात्राबाट, पृ.२९२)।

भिडभाड हुँदा जुनसुकै देश वा स्थानमा सतर्क रहनैपर्छ भन्ने कुरा मलाई पनि विश्वास छ। त्यसैले जहिले पनि सकेसम्म सतर्क नै हुने गर्छु म।यस्तै घट्ना र परिघटनाले होसियारीपूर्वक नै बस चढ्यौं भाञ्जा र मैले पनि।  सिट बुक गर्नेहरू सबै चढेपछि गणना गरेर गुडाउन शुरु भयो बसलाई सरर।

यात्रामा रहँदा वरिपरिको दृश्य टिप्नभन्दा पनि स्वप्नस्थान दोधारा चाँदनीको माटोलाई सुम्सुम्याउन कुन बेला पुगिएला भन्ने ध्याउन्नमा रहें म। बसले क्रमशः थानकोट, खानीखोला आदि स्थानहरूलाई पार गर्दै नारायणघाट पुर्‍यायो हामीलाई। बिजुली बत्तीहरूको प्रकाशले स्वागत गर्‍यो हामीलाई नारायणघाटमा।

नारायणी नदीको सुन्दरता र बहावलाई राम्ररी नियाल्न सकेनौं। यहीँबाट पश्चिमतर्फ बढेको पूर्व पश्चिम महेन्द्र राजमार्गलाई सुम्सुम्याउँदै अगाडि बढिरहेको छ बस। रात छिप्पिदो छ। बेलुकीको खाना खाने बेला पनि टर्न लागिसकेको छ।

यस्तैमा फाराम चौकमा रोकियो बस। खाना खाने निश्चित गरिएको स्थान रहेछ यहाँ। बसबाट ओर्लिएर सबै जना खाना खान बस्यौं। खानाबारे केही कुरा गर्नु वा टिप्पणी गर्नुको केही महत्त्व छैन। जेजे पाकेको छ। त्यही खाने हो। त्यही नै भयो।

डिनर खाएपछि बसमा चढ्यौं। बसले विस्तारै गति लियो। राजमार्गको मर्मत कार्य भइरहेकाले सुस्तसुस्त गतिमा बढिरहेको छ बस। खाना खाएपछि किलाकाँटा फुस्किएको मेसिनजस्तै ललाक्लुलुक् हुन थाल्यौं। रातको समय भएकोले बस बाहिर हेर्दा पनि केही नदेखिने भएकोले आराम गर्नु सिवाय अर्को केही काम छैन।

राजमार्गमा पर्ने स्थान कावासोती, चोरमारा, सुनबल, बुटवल, चन्द्रौटासम्मको यात्रा सपना बीचमा रह्यौं।

भालुवाङमा पुग्दा भने मिरमिरे उज्यालोले उपस्थिति जनायो। त्यसपछि लमही, कोहलपुर आइपुग्यौं। कोहलपुरमा पुग्दा सर्जक सागर गैरेलाई सम्झिएँ। कहिलेकाहीं फोनमा कुरा हुँदा भेट गर्नुपर्छ है भन्नुहुन्थ्यो।

मैले सिर्जना गरेको नियात्रा विधाको सिध्दान्त “नियात्रा विधा परिचयः अनुसन्धानात्मक कृति” र नियात्रा कृति “साङ्ग्रिलाको पुछारतिर” मगाएरै अध्ययन गर्नुभएको छ। मैले पनि उनको नियात्रा  कृति “बलैगाउँदेखि वाकुसम्म” आद्योपान्त अध्ययन गरेर आफ्ना समीक्षात्मक विचारहरू बताउने काम गरिसकेको छु। त्यसैले पनि सागरजीसँग भेट गर्न पाए हुने थियो भन्ने लागेको छ। तर अहिले समयले स्वीकृति नै दिन सक्दैन।  त्यसैले चुपचाप वरिपरि अवलोकन गर्दै बस यात्रामा नै जुटिरहें।

०७ः०० बजे कर्णाली नदीमाथि निर्मित पुल तरेर चिसापानी पुर्‍यायो बसले।  बिहानको चिया ब्रेक गर्ने गरी बस रोकियो। कतिपय यात्रु चियापानका लागि बसपार्क गरिएको स्थानकै सामुन्नेमा रहेको ‘दिपेश होटल एण्ड रेष्टुराँ’ मा छिर्‍यौं भने कतिपय यात्रुहरू छेवैमा रहेको ‘गुरुङ बि.एन्.टी.होटल’ तर्फ लागे। यही समयमा कुन ठेगानामा रहेछौं हामी भन्ने उत्सुकताले होटलको साइनबोर्डमा लेखिएको ठेगाना सारें नोटकपीमा– लम्कीचुहा ३, चिसापानी, कैलाली भन्ने लेखिएका रहेछ साइनबोर्डमा।

बिहान त्यति उज्यालि सकेको छैन। पातालो हुस्सुले वातावरण प्रष्ट देख्न सकिने अवस्था छैन। यही समयमा नियात्राकार तिलकप्रसाद पुन ‘पुर्जा’ ले आफ्नो कृतिमा कर्णाली पुल बारे लेखेको कुरा सम्झनामा कताकताबाट आइपुग्यो।

उनले लेखेका छन्– ‘साढे दश बजेतिर घना जङ्गल छिचोल्दै चिसापानी पुग्यौं।  कर्णाली नदीमाथिको विशाल त्यो कलात्मक पुलले आश्चर्यचकित तुल्यायो। केवल एकतर्फीको दुईटा अग्ला स्तम्भ र त्यसैबाट जेलिएर मुन्तिर परसम्म टाँगिएका लठ्ठाले नै सो पुलको भार थामेको थियो।

… तत्कालीन शासकहरूले शाह वंशको कीर्तिस्तम्भका रूपमा कर्णाली पुल बनाउने चाहना राखेकाले यसको लागत बढेको हो। सामान्य फलामे ट्रस झोलुङ्गे पुल वा सिमेण्टको कंक्रिटका डिजाइनको विकल्पमा यस्तो महंगो एवं संसारकै जटिल मानिने एकल स्तम्भ तार पुल (सिङ्गल टावर केवल ब्रिज) डिजाइन रोजाइमा परेको हो।

पुलको फाइनान्स विश्व बैंक, डिजाइन अमेरिका र निर्माण कार्य जापानले सम्पन्न गरेको हो। जसको लम्बाइ ५०० मिटर छ। जसको समुद्घाटन तत्कालीन प्र.म. गिरिजाप्रसाद कोइरालाले २०५० मङ्सिर २८ गतेका दिन गरेका थिए।’ (पुन, तिलकप्रसाद ‘पुर्जा’, साइनो, एसियाकै नमुना कर्णाली पुल शीर्षकीय नियात्राबाट, पृ.११४–११५)।

केही समय चिया पिउँदै र तारेको चना चपाउँदै एकतमासले कर्णाली पुललाई नियाल्यौं।  साँच्ची नै अचम्मकै लाग्यो मलाई पनि।

कर्णाली माथिको पुलले निकै आकर्षण गर्‍यो मलाई पनि। हुन त नियात्राकार सागर गैरेले पनि टर्कीको इस्तान्बुलमा पुग्दा कर्णाली पुलको झल्को पाएको कुरा आफ्नो कृतिमा यसरी उल्लेख गरेका छन्– ‘पहिलो दिनमै हामी बसफोरस पुग्यौं। साँघुरो प्राकृतिक घाटी रहेछ बसफोरस। युरोप र एसिया बीचको सिमाना रहेछ यो। एउटा किनारले कालो सागर र अर्को किनारले मरमरा सागर छोएको छ। झण्डै तीस किलोमिटर लामो र ३७ किलोमिटर चौडा छ बसफोरस। थुप्रै पुल छन् बसफोरसमाथि। केही पुलले कर्णाली पुलको झल्को दिन्थे।’ (गैरे, सागर, बलैगाउँदेखि बाकुसम्म, इस्तान्बुलका यादहरू शीर्षकीय नियात्राबाट, पृ.११५)।

चिया ब्रेकको समय समाप्त भएको जानकारी गराउँदै बसले हर्न बजाउन थाल्यो। सबै यात्रुले सूचना पाएपछि बसमा भित्रियौं। बसले आफ्नो गति लियो।

०७ः३० बजे घोडाघोडी तालको छेउमा यात्रारत रहेको समयमा सूर्यका न्याना किरणहरूले बसलाई स्पर्श गर्न शुरु गर्‍यो र खुशी भयौं सबैजना।  त्यसपछि क्रमशः पहलमानपुर, मसुरिया बजार, गौरीगंगा, चौमालामा गुड्न थाल्यौं।

०८ः२५ अत्तरिया पुग्यौं। मालाखेती, चौकीडाँडा, गुलरिया, झलारीपछि शुक्लाफाँट पार गर्‍यौं।

०९ः१५ बजे आइपुग्यौं महेन्द्रनगर बजार। बसबाट ओर्लने क्रममा विभिन्न होटलमा सम्पर्क भएका व्यक्तिहरू आएर– ‘यो होटल राम्रो छ, यो होटलमा खान र बस्न सस्तो छ। सबै चिजको सुविधा छ आदि’ भन्दै सुटकेश तथा व्यागहरू खोसेर बोक्न नै तत्परता देखाउने भाइहरूमध्ये एकजनालाई रोज्यौं भाञ्जा र मैले।

कार्की होटल गड्डा चौकी रोडमा अवस्थित  साझेदार मालिक नै रहेछन् बस पार्कबाट होटलसम्म ल्याउने प्रेमसिंह कार्की भाइ। अर्का साझेदार रहेछन् नरेन्द्र कार्की। दुई भाइ मिलेर सञ्चालनमा ल्याएका रहेछन् होटल कार्की। होटलको एक तलामाथिको सडकपट्टिको कोठामा समान पुर्‍याएर राखिदिए। एक रात जसोतसो बिताउने भएकाले सोही कोठामा बस्ने सहमति जनायौं। कार्की भाइले यताउता जाँदा केही अप्ठेरो पर्‍यो भने मोबाइल नम्बर टिपेर राख्नुहोस् भन्दै नम्बर– ‘९८४८७३८९८६’ पनि बताए।

केही क्षण आराम गरी स्नान गरी कफी पियौं। खानका लागि रोटी, मिक्स तरकारी तथा अम्लेट आदि तयार पारी दिन अर्डर गर्‍यौं। खाना तयार भएपछि स्वाद मानेर खायौं। यात्राको थकान र भोकको कारणले पनि होला। खाना स्वादिलो भएको।

खाना खाएपछि होटलका कार्की भाइसँग सोधपुछ गरें– ‘दोधारा चाँदनी पुग्नु पर्ने थियो! कति टाढा छ होला यहाँबाट? त्यहाँ जाने आउने यातायात के छ?’

‘यहाँबाट दोधारा चाँदनी वा झोलुङ्गे पुलसम्मको दूरी करिब ११ कि.मि. जति रहेको छ। जान आउनका लागि टेम्पो नै उपयुक्त साधन छ।  सार्वजनिक बस झोलुङ्गे पुलसम्म चल्दैन।’

‘टेम्पोले जाते आतेको के कति लिने गरेका होलान् भाइ? अनि कहाँ सम्पर्क गर्ने होला?’

‘के हजुरहरू जाने हो र?’

‘यहाँ आएको बेला जान पाए हुन्थ्यो भनेर। किनकि महाकाली नदी पारिको नेपाली भूभाग भएकोले एकपटक टेक्नै पर्ला कि भनेर, भाइ!’ मैले भनें।

‘ए, त्यसो भए हुन्छ नि। टेम्पोवालासँग कुरा गरिदिन्छु। भाडा हजार वा एघार सय भन्छन्। कुरा गरेर मिलाउँदा भै हाल्छ नि!’

‘लौ न त। बन्दोवस्त गरौं न त। शुरूमा हामीले कुरा गरे बढी भन्न सक्छ! भाइले नै कुरा गरिदिनु नि!’

यस्तैमा एउटा टेम्पो बस पार्कतिरबाट आउँदै गरेको देखियो र रोके होटलका भाइले। दोधारा चाँदनीको झोलुङ्गे पुलसम्म जाने र केही समय वारि नै पर्खी पुनः यहीं लिएर आउन के कति लिने हो भनी सोध्ने काम गरे हाम्रैसामु। टेम्पोवालाले हजार रूपैयाँ लिन्छु भन्यो। त्यही समयमा हामी जाने हो भन्दै कुरा गरें। कम्तीमा पनि नौ सय नछोड्ने अडान लिए पनि आठ सौ दिन्छु भनेर मैले भनें। त्यसैमा सहमति जनाएँ टेम्पो चालकले।

हल्का हरियो रङ्गको नं. म.१ ह ७१६ को टेम्पोमा चढ्यौं भाञ्जासँग। चिल्लो बाटोमा सरर कुदाए ड्राइभर भाइले। यस्तैमा बाटोबाट दाहिनेतिर मोडेर केही पर एउटा घरमा पुगेर साथीलाई बोलाए। साथी भेट भएन। त्यसपछि पुनः फर्काएर पहिलेकै बाटोमा आएर बायाँतर्फको बारीको बीचबाट दौडाउन थाले। यसबेला किनकिन अनिश्चितको भुमरीमा परेजस्तै लाग्यो चालकलाई।

यस्तैमा सानो नहरको दायाँतर्फको सानो बाटो हुँदै बैधपुर, लक्ष्मीपुर, वैधनाथधाम हुँदै पिपरिया पु¥यायो। त्यहाँ जुत्ता सिलाउने सानो पसल राखेको व्यक्तिलाई खासखुस गरे। फुर्सद छभने झोलुङ्गे पुल पुगेर आउँ न भन्दै बोलाए।  ती चर्मकार आएर चालकसिटसँगैको सिटमा बसे।

त्यसपछि दौडिन थाल्यो टेम्पो। टेकराम सार्की रहेछ चालक र छेवैमा राखेका व्यक्ति नाताले काका पर्ने रहेछ। वास्तविक भेद पनि खुल्यो।  चालकले टेम्पो चलाउन थालेको धेरै भएको रहेनछ। त्यसैले बाटोको त्यति राम्रो जानकारी रहेनछ र भेगदारी साथी खोजेका रहेछन् चालकले।  साथीले बाटो देखाउँदै झोलुङ्गे पुल छेउमा पुर्‍याएर मानस किराना पसल एण्ड रेष्टुरेण्ट अगाडि लगेर रोकें।

टेम्पोबाट ओर्लिएर पुलको फोटो खिचें अनि चिया पसलको। चिया पसलको बोर्डमा लेखिएको छ– ‘मानस किराना पसल एण्ड रेष्टुराँ, झोलुङ्गे पुल कञ्चनपुर, हाम्रो यहाँ चिकन राइस, चिकन चाउमेन, भेज चाउमिन, भेज फ्राइ राइस, अण्डा चाउमिन, अण्डा राइस, समोसा, छोला समोसा, आलु पकौडा, आलु पराठा। नोट यहाँ अर्डर अनुसारको खाना तयार गरिन्छ।  प्रो. अभय सिंह ठकुरी, मो.नं.९८१० ६३३ ४६१’।

टेकराम र साथीले यहीं पर्खन्छौं भन्दै बस्ने तरखरमा लागे।  हामी मामा भाञ्जा पुलतर्फ लाग्यौं। आँखाले वारपार देख्न नसकिने लामो र आकर्षक किसिमको छ झोलुङ्गे पुल। हुन पनि पुलको लम्बाइ  १४५२.९६ मिटर र चौडाइ पनि निकै फराकिलो रहेछ। थाहा भए अनुसार पुलको चौडाइ १.६ मिटरको छ। पुलको दुवै छेउको अड्याउने खम्बालाई छुएर निधारमा हात टाँसे।

यही झोलुङ्गे पुल तरेर महाकाली नदी पार गरेर आफ्नै देशकै सुवासित माटोमा पाइला राख्नु छ। एक प्रकार आश्चर्यकै कुरा हो। नेपाली नागरिकका लागि आठौं आश्चर्य हो दोधारा चाँदनीको भूमि। विश्वास गर्न पनि निकै कठिन लागे पनि यथार्थ भने यही हो।

नेपालको पश्चिमी सीमा महाकाली नदी निर्धारण भए पनि अपवादकै रूपमा दोधारा चाँदनी भने महाकाली नदीपारि छ। विश्वको सबैभन्दा उच्च शिखर सगरमाथा, एशियाको प्रकाश गौतम बुध्द भनेको सुन्दा जति नेपालीको शिर उचा र छाती चौडा हुन्छ त्यत्तिक्कै दोधारा चाँदनीको नाम लिंदा।

ठीक यस बेला दोधारा चाँदनीको भूमिको माटो ढोग्न र कोमल पैतालाले सुम्सुम्याउन पयरहरू उचालिरहेका छौं भाञ्जा र मैले।

आँखाले नदीको भूभाग वा पल्लो किनार देख्न नसकिने लम्बाइ रहेको छ।  यस्तो अवस्थामा झोलुङ्गे पुल ठड्याउनु लरतरो कुरो हुँदै होइन। पुलको बनाबट एकदम आकर्षक र सुरक्षाको व्यवस्था एकदम सतर्कतापूर्वक गरिएको छ। पुलको लम्बाइका दुई छेउमा फलामका मोटा लठ्ठाहरू ओछ्याएर त्यसको माथिबाट फलामकै साना, तर बाक्ला खालको पाता ओछ्याएर बीचबीचमा अर्को साना पाताहरूले जोडिएका छन्।

पैदल हिंड्नका लागि बनाइएका पाताहरू माथि लम्बाइतर्फ दुईवटा लठारा राखिएका छन्। करिब आठ फिट माथि मोटो तारको लठारो जडान गरिएको छ। मोटो लठारोको ठीक मुन्तिर अलिक सानो लठारो तन्काइएको छ। यो सानो लठारो मान्छेको झण्डै काँधसम्मको उचाइ हुने गरी लमतन्न टाँगिएका छन्। तिनै लठाराहरूलाई पुलको भार वहन गराउन बाक्लै किसिमले मोटा लठाराहरू तलमाथि पारेर जडान गरिएका छन्।

लाग्छ, काँधसम्मका लठाराहरू यात्रुहरूका सुरक्षाका लागि फिक्स गरिएका होलान्।  किनकि पुलबाट आवगमन गर्दा कुनै पनि कारणले असुरक्षित नहुन् भन्ने नै यसको अभिप्रायः हुन सक्छ।

यति लामो झोलुङ्गे पुलमा यात्रा गर्दा रिङ्गटा पनि लाग्न सक्छ।  लगातार पैदल यात्रा गर्दा २५ मिनेट लाग्यो मलाई।

तर पुल पार गरिरहँदा नदीभने सुख्खाग्रस्त देख्दा अचम्मित भएँ म। हुन सक्छ, यहाँभन्दा माथि टनकपुरमा बाँध बाँधेर महाकालीको पानी भारतको उत्तराखण्डतर्फ लगेकोले होला! यसरी लामो समय झोलुङ्गे पुलमा पाइला चालिरहँदा दुःख पनि लाग्यो। किनकि नेपालको पश्चिम सीमाको काम गर्ने पानी विहीनको नदी देख्दा अफसोच लाग्नु स्वभाविक पनि छ।

हामीसँगै केही मोटर साइकलहरूले यात्रा गरिरहेका छन् झोलुङ्गे पुलमा। एक प्रकार मान्छेभन्दा पनि मोटर साइकलले बाक्लै रूपमा वारपार गरिरहने रहेछ पुलमा। यसबेला हाम्रो विपरित दिशा वा दोधारा चाँदनीबाट कञ्चनपुरतर्फ आउँदै गरेको मोटर साइकल नं.से.५प ५७५१ सँग पनि जम्काभेट भयो। सेतो सर्टमाथि हाफ पहेलो स्वीटर  र कालो पैण्ट लगाएका सज्जनले मोटर साइकल हाँकिरहेका छन्।

सो मोटरसाइकलको पछिल्तिरको सिटमा बसेका अर्को केटाले केही सामान दुवै हातले समाएर यात्रा गरिरहेका छन्। मुस्कुराउँदै मैल हात हल्लाएँ।  मोटर साइकलवालाले पुँपुँ गर्दै हर्न बजाए।

केहीबेरको हिंडाइपछि आइपुग्यौं दोधारा चाँदनीमा। खोलाका किनारामा केही अग्लो बनाएर तटबन्ध लगाइएको छ। तटबन्धकै छेउतिर हरिया रुखहरू मुस्काइरहेका छन्।

दोधारा चाँदनीको जमिनलाई चुमेर आदर प्रकट गर्ने क्षणमा खुशीले पुरिएँ म।  सुवासित माटोका सुगन्धले मोहित मोहित भएँ। सुन्दरताले चुमेर रहेको स्थान दोधारा चाँदनी रहेछ भन्ने आभास भइरह्यो मलाई। कञ्चनजङ्घाको शिखरमा पुग्न लागेको मेरो उमेरलाई झण्डै झण्डै फेदैमा झारिदिएको अनुभूति भयो मलाई दोधारा चाँदनीको माटो स्पर्श गर्दाको समयमा। नढाँटी भन्ने हो भने आफूलाई पाँच कक्षातिर पढ्दै गरेको बालपनकै वरिपरि रहेको मानसिक अनुभव भयो। किनकि दोधारा चाँदनीको नाम त्यही समयमा सुनेको थिएँ। र, दोधारा चाँदनीको अवस्थिति र नाम सुन्दा तुरुन्तै उडेरै पुगिजाउँ जस्तो अनुभूति समेत गरेको कुरा ताजा बनेर सल्बलाइरहेको छ मेरो मस्तिष्कमा। कल्पनाको उडान भरेर कल्पिएंको थिएँ त्यस समयमा। आजको दिन पनि आउँला भनेर विश्वासै गरेकै थिइनँ ! तर मनभरि, हृदयभरि, मस्तिष्कभरि र कल्पनाभरि दोधारा चाँदनी पुग्नुपर्छ भनेर साँचेको भने थिएँ।

तँ चिता, म पुर्‍याउँछु भन्ने नेपालीमा उखान छ। यही कुरा चरितार्थ हुन पुगेको छ आज। अर्थात्, धेरै समयको प्रतीक्षापछि आइपुगेको छु म सीमापारिको सपना भूमि दोधारा चाँदनीमा।

आफ्नै विगत जीवनको मूल्याङ्कन गरिरहेको छु। जीवनका कतिपय उर्वरा समय कति हो कति विदेश यात्रा गरेर रमाइयो। भुटान, पाकिस्तान, थाइलैण्ड, सिंगापुर, अस्ट्रेलिया, युरोपका धेरै देशहरू, अमेरिका, क्यानाडाको यात्रा गरियो। तर नजिकको तीर्थ हेला भने जस्तै बल्ल २०८० सालको पुस १ गते मात्रै आइपुगेको छु दोधारा चाँदनीमा।

ढिलै गरेर भए पनि दोधारा चाँदनीमा आइपुग्नु मेरो जीवनको महङ्खवपूर्ण उपलब्धि हो भन्ने लागिरहेको छ मलाई। मान्छेका कति इच्छा, आकांक्षा, चाहना, सपना आदि अपूरा र अधुरा राखेर इहलीला समाप्त गरी अनन्तमा प्रस्थान गरेका छन्। तर यस अर्थमा मैले त बाल्यकालमा देखेको सपना त ढिलै गरेर भए पनि पूरा गर्न समर्थ भएँ। त्यसैले औसत मान्छेमध्येमा आफू झिनो रूपमा नै भए पनि सफल रहेछु जस्तै महसुस गरिरहेको छु मैले।

निकै उत्साह र उत्सुकतासाथ नियाल्न थालेँ हात्केलाको बूढी औंलाजस्तै छुट्टिएर बस्न बाध्य भएको दोधारा चाँदनीलाई। पुल पार गरी प्रवेश गर्नासाथ श्रृजना सहकारी बोर्डले हार्दिकतापूर्वक स्वागत गर्‍यो।

स्वागतार्थ राखिएको बोर्डलाई सुस्तरी नियालें। त्यसमा निम्न कुराहरू उल्लेख भएका रहेछन्– ‘दोधारा चाँदनी नगरपालिकामा आगमनमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौं।  (क) पर्यटकीय क्षेत्रहरूः १) इन्द्रा पिकनिक पार्क, (२) जोगुवडा नदी तटबन्धका दृश्यहरू, (३) महाकाली र जोगुवडा नदी मिलनविन्दु, (४) स्थानीय बजारहरू, (५) महाकालीनगर सदरमुकाम, (६) सार्वजनिक मठमन्दिरहरू।

(ख) दोधाराचाँदनी न.पा.को क्षेत्रफल ५६.८४ वर्ग कि.मि., कुल जनसंख्या ३९२५३, घरधुरी ७३९२ (तथ्याङ्क २०६८) आदि सूचना उल्लेख गर्दै आफ्नो विज्ञापन पनि गरेको छ। श्रृजना सहकारी मुख्य कार्यालय २०० मिटर अगाडि रहेको छ र सम्पर्क नं. ०९९४००१३३ तथा मोवाइल नं.९८०९४७२९७८’ रहेको जानकारी गराएको छ।

पुलको बायाँतर्फ सानो पार्क पनि छ। त्यहाँ एउटा ठिकैको भवन छ जस्लाई गोलघर नामकरण गरिएको रहेछ। पार्कमा केहीबेर आराम गर्न गयौं। पार्कमा सफाइको ध्यान नदिएको पाइयो। शौचालय प्रयोग गर्न गएको त आजभन्दा बीस वर्ष अगाडिको रत्नपार्कको जस्तै हालतमा रहेको पाएँ। यसतो अवस्थामा शौचालय देख्दा निकै दुःखित भएँ। कताकता लाग्यो दोधारा चाँदनीको हालत निकै दयनीय रहेछ। नत्र एक्काइसौ शताब्दीको पूर्वार्द्धमा दौड्दै गरेको विश्वको एउटा स्वतन्त्र देशको पनि सीमापारि रहेको भूमिमा अवस्थित पार्कको हालत अपहेलित अवस्थामा रहनु पटक्कै सुहाउने कुरा होइन।

वर्तमान विश्वमा खोज, अनुसन्धानले यत्रतत्र पखेटा फरफराइरहेको छ। ग्लोबल पोजिसिनिङ सिस्टमले भौगोलिक र समयको जानकारी दिने र रोबोटले कार दौडाउने गरिरहेको छ।

सन् २०२३ देखि अमेरिकाको सान फ्रान्सिस्को तथा लस एञ्जेल्स आदि सहरमा गुगलले निर्माण गरेको ‘वेमो’  चालक विहीन रोबो कारहरू सञ्चालनमा आइसकेको छ। तर हाम्रो हालत भने अझैसम्म ढुङ्गे युगकै सेरोफेरोमा छ। यस सम्बन्धमा नेपाल सरकारका सम्बन्धित निकायले ध्यान दिएर पर्यटक गन्तव्य स्थानका रूपमा विकास गरिनुपर्छ भन्ने मेरो दृष्टिकोण छ। सीमा नदीपारिको बहुमूल्य नेपाली भूमिलाई केन्द्र सरकारले निकटबाट नियाल्नु जरुरी छ।

पराई भूमिमा बसेको जस्तो अनुभूति हुन नदिन स्थानीय, प्रदेश तथा केन्द्र सरकारले प्रभावकारी किसिमको क्रियाकलाप गरिन जरुरी छ। साथै, आफ्नो भूमिको महत्त्व कति हुन्छ भन्ने कुरा बारे गम्भीर भएर सोच्नु सबै देशभक्त नेपालीहरूको पनि काम हो भनेर नै यत्ति कुरा लेख्ने सहास गरें।

यिनै कुराहरू मनमा खेलाउँदै केही समय पार्क अवलोकन गरी बाहिर निस्किएर स्थानीयसँग भलाकुसारी गर्‍यौं। माइती नेपालको कार्यालय पनि पुलकै मुखमा रहेको छ। स्थानीय महिलाले सो कार्यालयको रेखदेख गर्ने गरेकी रहिछिन्। महिला बेचविखनका केसहरू पनि यहाँ आउँछन् कि भनी सोधनी गर्‍यौं। छिटपुट मात्रामा आउने गरेको जानकारी दिइन् माइती नेपालकी बहिनीले।

संक्षिप्त कुराकानीपछि वरिपरि घुम्ने काम गर्‍यौं। होटल रिभर साइन एण्ड लजको अगाडि हुँदै भौतारिने काम गर्‍यौं। धेरै समय बिताउन पनि पुल पारि टेम्पोले पर्खिरहेको छ। त्यसैले पनि फर्किने चटारोले छोपेको छ।

तैपनि आएको समयमा केही कुरा थाहा पाउन सकिन्छ कि भनी स्थानीयसँग कुरा गर्‍यौं। यहाँ सामुदायिक र आधारभूत विद्यालय संख्या ४३ वटामध्ये ११ वटा माध्यमिक विद्यालय रहेको, २०७८ को जनगणनानुसार क्षेत्रीको सबैभन्दा धेरै र सबैभन्दा कमजनसंख्या घर्ती÷भुजेलको रहेको छ भन्ने कुरा थाहा भयो। विद्युत लगायत बैंकहरूको पनि उपस्थिति रहेको पत्ता पाइयो। जसमा कुमारी, कृषि विकास, एन्आईसी एशिया तथा सनराइज बैंकले शाखा स्थापना गरेको छ भन्ने कुरा जानकारीमा आयो।

दोधारा गाउँपालिका र चाँदनी गाउँपालिकालाई आपसमा मिलाएर २०७१ मंसिर १६ को नेपाल सरकारको निर्णयबाट दोधारा चाँदनी नगरपालिका नामकरण भएको छ।  यसको उत्तर, पश्चिम र दक्षिणमा भारतीय भूभाग रहेको छभने पूर्वमा भीमदत्त नगरपालिका र शुक्लाफाँट वन्यजन्तु आरक्ष रहेको कुरा समेत स्थानियसँगको अनौपचारिक वार्ताबाट थाहा पाइयो।

दोधारा चाँदनीबाट फर्कने क्रममा केही अप्ठरो महसुस गरिरहेको छु।  नेपाली सीमा निश्चित गरिएको महाकाली नदी वारि छौं यसबेला। कतै भारतीय प्रशासनले रोकतोक त गर्दैन भनेर। कतिपय नेपाली सीमालाई वास्ता नगरी भारतीय सुरक्षाका जवानहरू नेपाल प्रवेश गरेर सीमा खम्बालाई नै सार्दै हस्तक्षेप गर्दै आएको सुन्न र अखबारहरूमा पढ्दै आएको कुरा बिर्सिएको छैन मैले। झन् यो भूमि त नेपाली सीमा स्वीकार गरिएको महाकाली नदीभन्दा बाहिर रहेको छ।

यस्तै विषम कुराहरू मनमा खेलिरहेका समयमा यात्रा लेखक बुलु मुकारूङलाई सम्झिएँ झलझली। उनी अक्टोवर १८, १९९२ मा जापान गएको र करिब नौ महिना बिताएर १९९३ को जुन महिनामा फर्किदाको समयमा पाएको हन्डर बारे लेखेको कुरा सम्झनामा आयो। उनले लेखेका छन्– ‘नरेन्द्र (जंग बस्नेत?) र म नेपाल फर्कने पक्का भएपछि पोखराका भाइ राजु शाहीलाई पनि फोन गर्‍यौं। … त्यस्तै अर्का साथी भक्तबहादुर गुरुङ (पोखरा) उनलाई पनि टेलिफोन गर्‍यौं। सुरेश ताम्राकार, जसबहादुर गुरुङ (पोखरा) लाई पनि फोन गर्‍यौं। गंगा खड्का (झापा) लाई पनि फोन गरेर अब इमिग्रेसन जानुपर्छ।  …इमिग्रेसन रहेको विल्डिङमा फर्किने मान्छेहरूको भिड रहेको थियो …हामी पनि लाइनमा बस्न थाल्यौं।  … लाइनमा बस्नेहरू सबैको भीसा सकिएको र बस्नेहरूको भिड थियो। … एक दिनमा पाँच सय व्यक्ति मात्रै फर्कन पाउने भएकोले त्यस्तो भिड लाग्दो रहेछ। हब्सी तथा गोराहरू पनि उक्त लाइनमा देखिन्थे। अन्य मुलुकका महिलाहरू पनि त्यहाँ देखिन्थे। …दुईतीन घण्टा लाइनमा बसेपछि भक्तबहादुर गुरुङको पालो आयो। त्यसपछि मेरो, नरेन्द्रको, राजुको।  …हामी सबैलाई पालैपालो सोध्यो।

एकपछि अर्को गर्दै तीन पोजको फोटो पनि खिच्यो र अब एक वर्ष नबिती म पुनः आउँदिन भन्ने कागजमा हस्ताक्षर गरायो। दुवै हातको पूरापूरा ल्याप्चे छाप पनि फोटोकपी शैलीमा लियो। त्यो भने गजब लाग्यो मलाई।  कालो दल्नु नपर्ने तर दुवै हात त्यो मेसिनमा घोप्टो पारेर राखेपछि मेसिन अन गर्दा फोटो कपीजस्तै गरेर एउटा कागज निस्कने गर्थ्याे। पूरा पूरै हातको शंखचक्र तथा हातमा रहेका रेखाहरू फोटोकपी भएर निस्किदा रहेछन्। …राजु शाही र मलाई एउटा कोठामा र नरेन्द्र र भक्तबहादुरलाई खै कता अर्कै कोठामा लग्यो। …निकैबेरपछि पुनः पुलिस आयो र हामीहरूको हातमा सानो सानो चिट दियो। टिकटका निम्ति दशदश मान (एक मान बराबर ने.रू. पाँच हजार रूपैयाँ?) लिएर गयो। केही छिनपछि अल निप्पन नेशनल एयरलाइन्सको टिकट लिएर आयो। …४/५ बजेतिर हामी नारिता एयरपोर्टबाट अल निप्पन नेशनल एयरलाइन्सद्वारा उड्यौ र खुशी भयौं।’ (मुकारूङ, बुलु, जापानको चक्कर, जापानको चक्कर शीर्षकीय यात्राबाट, पृ.९८–१०१)।

तर अहिले माथिकोजस्तो अवस्था त छैन। आउँदाको क्षणसम्म नेपालै दरिएको क्षेत्रमा रहेकाले डराइ हाल्नुपर्ने अवस्था त छैन। तर समयले सदैव साथ दिन्छ भन्ने कुरामा निश्चितता छैन भन्ने लागिरहन्छ मलाई।  किनकि यस्तो पनि भोगेको छु मैले– सन् १९९४ को फेब्रुअरीमा तालिमको सिलसिलामा थाइलैण्ड, सिंगापुर भई अस्ट्रेलिया पुगेको थिएँ।

 प्रस्थानको समयमा नेपाली अफिसियल राहदानी बाहकले थाइलैण्डको प्रवेशाज्ञा विमानस्थलमा निःशुल्क मिल्ने प्रबन्ध थियो। तर आश्चर्य त्यही वर्षको जुन महिनामा फर्कदा प्रवेशाज्ञा नलिई थाइलैण्ड प्रवेश गर्न नपाइने भएको अवस्थाको स्वयम् साक्षी छु। र, बैंकक स्थित नेपाली दूतावासलाई हारगुहार माग्दा दूतावास नै जमानी बसे पछि एक हप्ताको भीसा मिलेको थियो। नेपाली उखान त्यत्तिक्कै बनेको हैन। जस्तो कि अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ भने जस्तै कुरा मनमा कताकता तरङ्गित हुन खोजिरहेको छ।

तर त्यस्तो अवस्था त यहाँ विद्यमान नहोला भनेर ढुक्किनँ खोज्छु।  विस्तारै महाकाली नदी माथि निर्मित झोलुङ्गे पुलतर्फ पाइला बढाउन लागेका छौं। अबको २५ मिनेटपछि पुल पारि हुनेछौं। छोटो समयका लागि भए पनि न्यानो आतिथ्य दिएकोमा सपनाको भूमि दोधारा चाँदनीप्रति आभार जनाउँदै पुलसम्म पुग्नका लागि निर्मित खुड्किलाहरूमा पाइला चालिरहेका छौं यस क्षणमा।

सन्दर्भसूची

०० गैरे, सागर, बलैगाउँदेखि बाकुसम्म, प्रकाशक– सांग्रिला पुस्तक प्रा.लि., संस्करण २०७८ मङ्सिर।

०० पुन, तिलकप्रसाद ‘पुर्जा’, साइनो, प्रकाशक– कृष्ण पुन दम्पती, पोखरा, संस्करण २०७७ मङ्सिर।

०० मुकारूङ, बुलु, जापानको चक्कर, प्रकाशक– कृपासुर शेर्पा, संस्करण २०५७ भदौ।

०० राई, दिनेशकुमार उर्फ डी.आर., प्रकाशक– बिएन् पुस्तक संसार, काडमाडौं, संस्करण २०७७ कार्तिक।

प्रकाशित: १५ फाल्गुन २०८१ १३:२७ बिहीबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School