प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार
सिंगापुरमा आधारित बजेट एयरलाइन जेटस्टार एसिया बन्द हुने भएको छ । सस्तो विमान सेवा जेटस्टार एसिया आगामी जुलाई महिनाको अन्त्यमा स्थायी रूपमा बन्द हुने भएको छ । प्रभावित यात्रुहरूलाई सम्पूर्ण टिकट रकम फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ ।
२० वर्षदेखि सेवा दिँदै आएको यो बजेट एयरलाइन पछिल्लो समय लागतमा तीव्र वृद्धि, उच्च विमानस्थल शुल्क र क्षेत्रीय प्रतिस्पर्धाको चपेटामा परेको थियो । यो बन्दसँगै ५०० भन्दा बढी कर्मचारीले रोजगारी गुमाउनेछन् ।
जेटस्टार एसियाको बन्दले अष्ट्रेलियामा आधारित जेटस्टार एयरवेज वा जेटस्टार जापान को सेवा भने प्रभावित नहुने क्वानटास समूहले स्पष्ट पारेको छ । जेटस्टार एसिया मा क्वान्टासको आंशिक स्वामित्व रहेको छ।
अबको सात हप्तामा जेटस्टार एसिया ले आफ्नो सेवा क्रमशः घटाउँदै लैजानेछ । प्रभावित उडान भएका यात्रुहरूलाई जानकारी दिइने कम्पनीले जनाएको छ । जुलाई ३१ पछि हुने उडानका लागि टिकट काटिसकेका यात्रुहरूलाई कम्पनीले प्रत्यक्ष सम्पर्क गर्नेछ ।
केही यात्रुहरूलाई क्वानटास समूहद्वारा सञ्चालित वैकल्पिक उडानहरूमा सारिनेछ । तर, यात्रा एजेन्ट वा अन्य एयरलाइन्समार्फत टिकट बुक गरेका यात्रुहरूले सम्बन्धित सेवा प्रदायकलाई सिधै सम्पर्क गर्नुपर्नेछ।
कुल १६ वटा मार्गहरू जेटस्टार एसिया को बन्दले प्रभावित हुनेछन् । सिंगापुरबाट मलेसिया, इन्डोनेसिया र फिलिपिन्सतर्फ गरिने उडानहरू प्रभावित हुनेको सूचिमा सामेल छन्।
जेटस्टार एसिया को बन्दसँगै अष्ट्रेलियाली राष्ट्रिय एयरलाइन्स क्वान्टासले ३२५ मिलियन अमेरिकी डलरको लगानी नयाँ विमान खरिदमा गर्ने भएको छ । कम्पनीले १३ वटा विमानलाई अष्ट्रेलिया र न्युजिल्यान्डका मार्गहरूमा पुनः प्रयोगमा ल्याउने योजना बनाएको छ।
कम्पनीले यो आर्थिक वर्षमा ३५ मिलियन अष्ट्रेलियन डलर बराबरको घाटा व्यहोर्ने अनुमान गरेको छ । जेटस्टार एसियाको सुरुआत २००४ मा क्वान्टासले एशियाली बजारमा बजेट एयरलाइन्सको सम्भावना देखेर गरेको थियो ।
तर पछिल्लो समय एयर एसिया र स्कुट जस्ता अन्य प्रतिस्पर्धी बजेट एयरलाइन्सहरूको उदयले जेटस्टार एसियालाई बजारमा टिक्न गाह्रो बनाएको हो।