लामो लेख्ने कि छोटो?

लामो लेख्ने कि छोटो?


नेपाली साहित्यका लेखक र पाठकबिच कहिलेकाहीं चर्चा हुने गर्छ-फलानाले लामो लेख्न नसकेर छोटो लेख्यो र फलानाले चाहिँ छोटो लेख्न नजानेर लामो लेख्यो। यसो भन्दैमा छोटोलाई मन्थन र लामोलाई गन्थन भन्ने सोच पनि उचित होइन। लामो सिर्जना साहित्यिक गुणका दृष्टिकोणले स्तरीय हुने र छोटो सिर्जनाचाहिँ त्यस्तो नहुने भन्ने हुँदैन।

 छोटो सिर्जना साहित्यिक गुणका दृष्टिकोणले स्तरीय हुने र लामो सिर्जनाचाहिँ त्यस्तो नहुने भन्ने पनि हुँदैन। आकारभन्दा गुणको बढी महत्त्व हुने हुँदा सिर्जनामा लामो र छोटोले खासै फरक नपार्नुपर्ने हो। तर फरक सोच्ने परिपाटी भने हट्न सकेको छैन।

गीत, गजल, कविता र हाइकुका सर्जकलाई सानो ठान्ने र आख्यानका सर्जकलाई महान् ठान्ने सोच यही परिपाटीको परिणामको रूपमा लिन सकिन्छ। कतिपय आख्यानकारले आफूलाई महान् ठान्ने र छोटो विधामा कलम चलाउने सर्जकलाई होच्याउने गरेको पनि पाइन्छ।

यो पङ्क्तिका लेखकले लेखनको सुरुवातकालीन अवस्थामा गीत र गजल लेखिरहँदा केही आख्यानकारबाट ‘के गीत गजल लेखिरहेको, कथा र उपन्यास लेख्नुपर्छ नि’ भन्ने प्रतिक्रिया सुन्नुपरेको थियो।

कोहीकोही लेखकहरू धेरै छोटो लेख्छन्। कोहीकोही लेखकचाहिँ धेरै लामो लेख्छन्। यसरी धेरै छोटो लेख्नेहरूलाई लामो लेख्न नसकेर छोटो लेखेको भन्ने गरिन्छ। यसैगरी लामो लेख्नेलाई छोटो लेख्न नजानेर लामो लेखेको भन्ने गरिन्छ।

वास्तवमा छोटो लेख्नु पनि कला हो, शिल्प हो र लामो लेख्नु पनि कला हो, शिल्प हो। यस्तो कला र शिल्पलाई कल्पनाशीलताले थप सघाउँछ। लेखनको कला र शिल्पबिना छोटो लेख्छु भनेर छोटो लेख्न सकिन्न र लामो लेख्छु भनेर लामो लेख्न सकिन्न। त्यसैले लामो लेख्न नसकेर छोटो लेख्यो अथवा छोटो लेख्न नजानेर लामो लेख्यो भनेर सबैलाई सामान्यीकरण गरेर हेर्न अथवा भन्न मिल्दैन।

विशेषगरी लेखनको प्रारम्भिककालमा लेखन अभ्यासको कमी अनि कला, शिल्प र कल्पनाशीलताको अभावले छोटो लेख्न नजानेर लेख्दालेख्दै लामो भइदिन्छ र लामो लेख्न नसकेर लेखाइ छोटो भइदिन्छ। प्रायः सबै लेखकहरूले लेखनको यो प्रारम्भिक चरण पार गरेका हुन्छन् र यसको अनुभव पनि सँगालेका हुन्छन्। लेखन अभ्यास बढ्दै जाँदा छोटो अथवा लामो लेख्ने कला, शिल्प र कल्पनाशीलताको विकास हुँदै जान्छ।

विशेषतः आख्यानलाई लामो र कवितालाई छोटो विधा मानिन्छ। आख्यान विधामा उपन्यास र कथालाई लामो मानिन्छ भने लघुकथालाई छोटो। यस्तै कविता विधामा पनि कवितालाई लामो र गीत, गजल, मुक्तक, हाइकु र ताङ्का, बाछिटा आदिलाई छोटो मान्ने गरिन्छ।

उपन्यास लेख्न नसकेर कथा लेखेको, कविता लेख्न नसकेर हाइकु लेखेको अथवा कथा लेख्न नजानेर उपन्यास र हाइकु लेख्न नजानेर कविता लेखेका हुन् त लेखकहरूले? यो बहसको विषय हुनुपर्छ। अनि लामो लेख्नेले महानता र छोटो लेख्नेले लघुताभास गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुनुपर्छ।

लामो लेखाइमा धेरै कुरा लेख्ने स्वतन्त्रता र सुविधा हुन्छ। त्यसैले कवितामा सीमित सर्जकहरू आफ्नो सिर्जनामा धेरै कुरा भन्ने र धेरै कुरा लेख्ने स्वतन्त्रता र सुविधाको उपभोगका लागि अन्ततः आख्यानमा प्रवृत्त हुने गर्छन्।

लेखनको सुरुवातकालीन अवस्थामा कवितामा सीमित सर्जकहरू पछि आख्यानमा जमेका धेरै उदाहरण छन्। यसो त धेरै कविहरूले कविताबाट साहित्यमा डेब्यु गरेर कवितामै हिट भएर अहिले पनि कविता विधामै आफ्नो प्रभुत्व जमाइरहेका छन्।

केही नयाँ सर्जकहरूले सुरुमा कविता, गीत, गजल, मुक्तक, हाइकु र ताङ्काजस्ता छोटो विधामा कलम चलाएर पछि कथा र उपन्यासजस्ता लामो विधामा आफ्नो दरो उपस्थिति जनाउन सफल भएका छन्। कोहीकोहीचाहिँ सुरुमै लामो विधा अर्थात् आख्यानबाट साहित्यमा पदार्पण गर्नेहरू पनि छन्। पछिल्लो समय लामो विधा मानिने उपन्यासबाटै साहित्यमा पदार्पण गर्ने लेखकहरू धेरै देखिएका छन्।

यसो त उपन्यास पनि लामो र छोटो हुनसक्छ। कथा पनि लामो र छोटो हुनसक्छ। कविता पनि लामो र छोटो हुनसक्छ। कवि विप्लव ढकालले कथाभन्दा लामा कविता लेखेका छन्। पछिल्लो समय आख्यानका पाठकहरूको संख्या बढेको र आख्यानप्रति बढी पाठक आकर्षित भएकाले आफूलाई साहित्यिक फाँटमा छिटो परिचित गराउन आख्यानबाटै साहित्यमा पदार्पण गर्ने लेखकहरूको संख्या पनि बढेको छ।

कहिलेकाहीं छोटो लेख्नेहरू किन छोटो लेख्छन् अथवा लामो लेख्नेहरू किन लामो लेख्छन् भन्ने विषयमा आमपाठकको मनमा जिज्ञासा पनि उत्पन्न हुन्छ। कविता विधाबाट साहित्यमा पदार्पण गरेर पछिल्लो समय आख्यानमा जमेकी र ‘योगमाया’ उपन्यासका लागि मदन पुरस्कार र ‘चीरहरण’ उपन्यासका लागि पद्मश्री पुरस्कारबाट पुरस्कृत चर्चित युवा आख्यानकार नीलम कार्की ‘निहारिका’ लामो र छोटो विधाका सम्बन्धमा तटस्थ धारणा राख्दै यसो भन्छिन्, ‘१६ वर्षकै उमेरमा पहिलो उपन्यास लेखें तर बिचको झन्डै एक दशकको समय कविता लेखनमै रमाएँ। फेरि कथा पनि लेखें। अनि पहिलो उपन्यास छापिएको झन्डै २० वर्षपछि फेरि अर्को उपन्यास लेखें र लगातार अरू तीन वटा उपन्यास लेखें। तर कविताप्रतिको मोह अहिले पनि उत्तिकै छ। छोटो विधाको कम र लामो विधाको बढी महत्त्व हुन्छ भन्ने लाग्दैन।’

कसैकसैले समयान्तरमा विधाभञ्जन गर्छन् र छोटो विधामा लेख्न छोडेर लामो विधामा लेख्छन्। कसैकसैले चाहिँ लामो विधामा लेख्न छोडेर छोटो विधामा लेख्छन्। यो लेखकको आफ्नो रुचि, खुबी र खुसीको कुरा हो।

एउटा सिङ्गो उपन्यासबाट समाजको साङ्गोपाङ्ग व्याख्या गर्न सकिन्छ भने एउटा छोटो मुक्तकबाट पनि चोटिलो प्रहार गर्न सकिन्छ। आकारका दृष्टिकोणले फरक भए पनि दुइटै सिर्जनाको महत्त्व उत्तिकै हुन्छ। त्यसैले छोटो लेख्ने स्रष्टाको महत्त्व कम र लामो लेख्ने स्रष्टाको महत्त्व बढी हुने भन्ने हुँदैन र यस्तो मान्यता राख्नु पनि हुँदैन। कसैले यस्तो मान्यता राख्छ भने त्यो गलत हो र त्यो संकुचित सोच मात्रै हो।

पछिल्लो समय लामोभन्दा छोटो लेखनले छिटो पाठक पाउँछन् भन्ने मान्यता राख्नेहरूको संख्या बढ्दो छ। व्यस्त जीवनशैलीले गर्दा लामो सिर्जनाका लागि पाठकले धेरै समय खर्च गर्न नसक्ने हुँदा छोटो सिर्जना उपयुक्त हुने धारणा राख्नेहरूको संख्या पनि बढ्दो छ।

 त्यसैले पनि आख्यानसँगसँगै गीत, गजल, मुक्तक, हाइकु, ताङ्का र लघकुथाजस्ता छोटो विधाका सिर्जनामा पाठकहरू आकर्षित हुन थालेका छन् भने छोटो विधाकै स्रष्टाहरूको संख्या पनि बढेको छ।

जापानी हाइकुशैलीमा लेखिने नेपाली हाइकुले नेपाली साहित्यमा दरो उपस्थिति जनाउन र अविस्मरणीय प्रभाव छोड्न सफल भएको छ। त्यसैले सिर्जना लामो र छोटो हुनुले खासै फरक पार्दैन र पार्नु पनि हुँदैन। लामो अथवा छोटो लेख्नेमाथि जुन आरोप लगाउने गरिएको छ, त्यो अव्यावहारिक छ र अस्वीकार्य पनि छ।

आममानिसको व्यस्त जीवनशैलीले गर्दा साहित्यका पाठकहरू पनि छोटो विधातर्फ अथवा छोटो सिर्जनातर्फ आकर्षित हुन थालेको सत्यलाई भने नकार्न सकिन्न। लेखकहरूले पनि आफ्ना पाठकलाई धेरै कुरा भनेर थोरै कुरा बुझाउने होइन कि थोरै कुरा भनेर धेरै कुरा बुझाउने क्षमताको विकास गर्नुपर्ने भएको छ। वर्णन र गन्थनभन्दा चिन्तन र मन्थनयुक्त छोटा सिर्जना अहिलेको समयको माग भएको छ।

अबको समयमा वर्णन र गन्थनभन्दा छोटा सिर्जनामा आफ्ना कल्पनाशील क्षमताको प्रदर्शन गरेर पाठकलाई प्रभावित पार्नसक्ने लेखकमात्रै सफल लेखकका रूपमा स्थापित हुने देखिएको छ। त्यसैले अब सिर्जनामा लामो र छोटोको सवाल गौण हुनु नै उपयुक्त हुनेछ।

प्रकाशित: ८ वैशाख २०८१ ०९:२९ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School